जन्मिदै सँगसँगै
डोरिएर आउने
मृत्यु-चिन्तनहरू
मान्छे/मान्छेमा व्याप्त रहेका हेरिरहेछु
यही अस्तित्वबोध गर्नेहरू मात्र
मान्छे भएको देखिरहेछु ।
मान्छे हुनु कति गाह्रो देखिएको
त्यही विषयका चर्चायोग्य मान्छेहरू खोजिरहेछु ।
मान्छेहरू डराइरहेछन् मृत्यु हेरेर
गहिरो निद्राजस्तो पो हँुदो रहेछ मृत्यु त
सपना भोग्नुजस्तै पो हुँदो रहेछ मृत्यु त
तर पनि
मृत्यु देख्न र भोग्न जोकोही पनि किन डराउँदा रहेछन्
मान्छेहरूसँग मृत्युको तस्बिर कस्तो हुन्छ सोधिरहेछु !
मान्छे भएर जन्मेपछि आफ्नो छायाँजस्तो भएर
मृत्युले पनि पछ्याउँदो रहेछ !
जीवनजस्तै मृत्यु पनि
एउटा कला हो
सबैले स्वीकार्नुपर्छ मृत्युको आमन्त्रण
उक्लिरहनुपर्छ, ओर्लिरहनुपर्छ जीवनमा मृत्यु बोकेर
चुपचाप चुपचाप बसिरहन सक्दैन मृत्यु
जीवनमा क्षण-क्षण मृत्युबोध भइरहेछ ।
जीवनका प्रत्येक क्षणमा
मृत्युसँग पौँठेजोरी खेल्नुपर्दाे रहेछ !
मृत्युसँग हार्नु भनेको
आफूलाई कायर देखाउनु हो
कायरपन मान्छेको सौन्दर्य होइन
साहसिक मृत्युवरण गर्नेहरू धन्य हुन्छन्
उनीहरू त हुन् हिमालजस्ता मान्छेहरू
सधैँ बाँच्ने मान्छेहरू फूलजस्तो मनोरम हुन्छन् ।
म मनमनमा राखेर मृत्यु बुझ्न खोजिरहेछु
म आँखाआँखामा मृत्यु राखेर
आज पनि हेरिरहेछु ।
मृत्यु त मान्छेका मनमनमा
अडेस लागेर आकाशतिर हेरिरहेजस्तो देखिन्छ ।
नेपाल साप्ताहिक ४८९
