Skip to content

अस्तित्व यात्रा


सीमलको रातो फूल
पाखाभरि फुल्न थाल्छ –
अस्तित्व बोकेर,
अनि मलाई छुन्छ प्रिय !
वसन्त ऋतुले ।
उम्रँदो मकैका बोटहरू
असिना-पानीको निर्मम प्रहार
…सहँदै बढ्न थाल्छन्
अनि
मलाई उकास्न थाल्छ –
अस्तित्ववोधको अन्तरदृष्टिले ।
हिउँको पछ्यौरी ओढेका
घामका झुल्का झर्न थाल्छन्-
क्षितिजहरूमा
अनि मलाई हँसाउँछ प्रिय !
अस्तित्व यात्राका परावर्तित प्रसंगहरूले ।

आफ्नै प्रतिविम्व खोज्दा खोज्दै
युगिन यात्रामा पोखिएको
घाम कुल्चेर हिंड्न थाल्छु ।
मेरो गाउँ बस्तीबाट
स्वनामधन्य बुद्धहरू
युद्धयात्रामा प्रस्थान गर्छन् ।
अनि
प्रेमिल वासन्ती आँखाहरू
जून खोज्न थाल्छन् –
अस्तित्व यात्रामा ।

बाटो छ
यात्रा छ
तर
प्रेमको गन्तव्य छँदै छैन ।
बसाईं सरेर
बुकी फूल
बेसी जाँदैनन् ।
हिउँको भाषा
हिउँको बोली
हिउँखोली तरेर जाँदैनन् ।
मेरा प्रिय बाटाहरू
बाटो छाडेर जाँदैनन् ।
नदी आकाशको किनाराबाट
देउताहरूको विमान उड्छ ।
तर
जतिसुकै दुरुह जीवन बनोस्,
गोठाला पानीका छोराछोरी
देउताहरूको विमान चढेर
स्वर्ग जाँदैनन् ।
चराहरू उड्छन् –
प्रेमदेखि प्रेमसम्मको अस्तित्व यात्रामा,
अपितु
आवर्तित सपना चिथोर्न
टाढा जाँदैनन्-
चराहरू
गुँड छाडेर ।

समय छ,
सन्दर्भ छ
तर
तर सीमाना छँदै छैन
अस्तित्व यात्रामा ।
मेरो रहरको रातो फूल
डाँडाभरि फुल्न थाल्छ –
अस्तित्व बोकेर ।
अनि मलाई छुन्छ प्रिय !
वसन्त ऋतुले ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *