एकै चोटि डढाएर
तिम्रो र मेरो मन
अतृप्त लप्का बढ्दै थियो –
परिस्थितिको /
त्यसैको अदृस्य गुजुल्टोभित्र
एउटा अनौठो परिवेश
खोज्दै थिएँ – म /
तिम्रो प्रेमका हरफहरु
मुटुको भित्तामा जथाभावि
कोर्दै थिएँ -म /
तिम्रै आँखाको आगोले
जलाउँदै थिए म
आफ्नो तस्वीर /
तिम्रो विहंगम दृष्टिले
टुटाउँदै थिएँ म एउटा
धुमील सपना /
प्रेमको खातिर प्रेमले
फूलहरुको चोट सह्यो,
ती फूलहरु अत्यन्तै
निर्दयी र कठोर थिए /
प्रेमको नाममा प्रेमले
जूनहरुको श्राप सह्यो,
ती जूनहरु असाध्यै
अशान्त र उष्ण थिए /
अचानक मेरो सामुन्ने
उज्यालो माग्दै अँध्यारो उभियो ,
अँध्यारो माग्दै उज्यालो उभियो /
उस्तै उस्तै थिए ती दुबैका
पार्श्व याचना /
समयको द्वन्द्वमा मेरो प्रेम
निर्लिप्त भएर लुकिरह्यो /
कल्पनातीत मुर्छनाहरुमा-
मेरो प्रेम
प्रताडित भएर तड्पिरह्यो /
निशब्द भएर आवाजविहीन
अक्षरहरुमा अल्झिरह्यो /
तिमीले मेरो प्रेमको अर्थ
यथार्थमा खोज्नु पर्थ्यो /
तिमीले मेरो प्रेमको रङ्ग
मौनतामा खोज्नु पर्थ्यो /
मेरो अनुहारको उदास चित्र
तिमीले आफ्नो खुसीको
ऐनाभित्र हेर्नु पर्थ्यो
किनकि त्यही ऐनाभित्र
अमूल्य मेरो प्रेमिल परिवेश
खोज्दै थिएँ -म //
