सन् २००८ समरको बिदाको दिन त्यो समय । कसरी टोकियोमा एक्लै बिताउने ? लागे तोहोकुतिर । जुनियर भाइहरू थुप्रै थिए तोहोकु बिश्वविद्यालयमा ।
त्यसो त बिधार्थी हुँदा समरमा नेपाल फर्किन्थ्यो । अनि त साथी-भाइ भेटेर, आफ्नो गाउँको खोलामा खेलेर दिन गर्मी बिदा बिताइन्थ्यो । तर अफिसमा काम गर्न थालेपछि त त्यति लामो बिदा पनि नमिल्ने । अनि त साथीभाइ खोज्दै लागें तोहोकु अर्थात उत्तरी जापानतिर । तोहोकु जहाँ गत बर्ष सुनामीले रुवाएर गयो ।
तोहोकुमा गएपछि जुनिएर भाइबहिनीहरूलाई भेटियो । अनि शनिवारको दिन पारेर सेन्दाई शहरमा बग्ने हिरोसे खोलाको किनारमा पिकनिक खाइयो । रमाइलो भयो ।
खोलामा चुच्चे ढुंगा हुर्याएर कसले बढी चोटी पानीमा छुवाउन सक्छ भन्ने खेल जापानी साथीहरूसँग पनि खेलियो, हामी नेपाली साथीले नै जित्यौ |
त्यो रात मलाई सेन्दाई निकै प्यारो लाग्यो । त्यो खोला, त्यो चौर, त्यो प्रकृति ।
जापान आएको पनि दशक बितेछ । मलाई जापान जापानी औधी प्यारो लाग्छ, तैपनि मेरो देश होइन धेरै थोरै बिरानो लाग्छ । मेरो देश समुद्रौँपारिको मुलुक त हो ।
X X X
“बाबु आज गैरी खेतमा रोपाईं छ, छिटो फेदीतिर झर्नु पर्छ ।”
आमाले एकाबिहान मलाई भनेपछि म आँखा मिच्दै कोदालो लिएरमा फेदीतिर लागें । फेदी निकै तल थियो । त्यसैले पनि रोपाईं र धान काट्ने बेला बाहेक हामी तल झर्दैनथियौं ।
रोपाईँको त्यो दिन पनि डेढ घण्टा लगाएर तल सेतीखोलाको छेउको खेतमा पुगें । माथि लेकमा हुर्केको म ठिटो । फेदीको खोलामा पुगेपछि एउटा नयाँ अनुभव भयो नै । अनि रोपाईंको कामसाम छोडेर हिँडियो माछा मार्न भनेर । लेकबाट नै आएको दौतरी थियो । ऊ र म मिलेर हिड्यौ बाम माछा मार्न भनेर । माछा खोज्दै खोलाको मुहानतिर माथि माथि दुवैजना लाग्यौँ ।
अनायास रुपले मैले साथीलाई सोधें, “हिरोसे खोला खै त ?”
साथीले उत्तर दियो – “यही त हो नि त्यो ठुलो ढुंगामाथि यही खोलालाई हिरोसे खोला भन्छ, ढुंगा तल सेती खोला …”
सपनाबाट म झसँग भएँ, ओहो कहाँ मेरो सेती खोला कहाँ समुद्रपारिको यो हिरोसे खोला, कस्तो सपना देखेछु ।
उठेर बिहान सोचेँ, हामी नेपाली कमाई र आफ्नो क्यारियरको लागि सात समुद्र पारको देशमा आफ्नो सेती खोला सम्झेका छौं । शायद कुनै सीमा नभएको भए कति सुन्दर हुन्थ्यो होला यो संसार !
मेरो सेती खोला हिरोसे खोलासँगै वास्तविकतामा पनि जोडिएको भए शायद मैले सपनामा हिरोसे खोलासँग सेतीखोला जोडिएको सपना हेरिराख्नु पर्ने थिएन होला । हामी मानवजातिको घर पृथ्वी हो ।
यो ग्लोबल युग को कहाँ जन्म्यो, को कहाँ हुर्क्यो, कसको के धर्म हो, को धनी हो को गरीव हो कही पनि त्यो सीमा मेटिसकेको छ, म जापानको वार्ड अफिसमा कामले जान्छु । त्यो मेरो परिचय जापानमा बस्ने एउटा नागरिक हो । नेपाली होइन, बाहुन होइन, गण्डकी अंचल होइन, सेती खोला होइन, न त हिरोसे खोला नै, मेरो परिचय सिर्फ एक जिम्मेवार नागरिक हो ।
त्यस्तै मैले लेखेका यी शव्दहरू पढ्ने हरेक पाठक बाहुन होइन, नेवार होइन लिम्बु होइन, हो त ऊ नेपाली या नेपालीलाई माया गर्ने नागरिक हो, त्यही रातो झन्डा बोकेको, त्यही झन्डालाई फहराउँ, त्यसमा नै हाम्रो परिचय हो । त्यही परिचयले नै मेरो सेती खोलालाई नै हिरोसे खोला बनाउने छ, जहाँ हरेक नागरिक आफ्नो फेदीको सेतीखोलाको पानीले सिंचाएर आफ्नो गाउँ हिरोसे खोला र सेन्दाई जस्तो सम्पन्न बनाउने छन् ।
चण्डी सुवेदी
जापानबाट

good one chandi – Kishor dai
good one chandi – Kishor dai
Nice Chandi dai…Excellent
Nice Chandi dai…Excellent Piece..