विभाजनले नडामेका मनहरु
आऊ हामी देशको कुरा गरौं
आऊ हामी विकासको कुरा गरौं
विभाजनमा
कुटिएर, छुटिएर, लुटिएर
थिलथिलो भएर पनि केही चाहनाहरु
अझै कामको न्यानो घाम नै खोजिरहेछन्
संसारले धुरी चढ्न खोज्दा हामी
घोडा पनि अर्कैले चढाइदिए हुन्थ्यो भन्न थाल्यौ ।
किन श्रम गर्ने हातहरु
अर्कैको निगाहमा आश्रति भए ?
वाद र विवादमा नमुछिएका मनहरु
आऊ हामी सिंगो राष्ट्रको कुरा गरौं
आउ हामी राष्ट्रियताको कुरा गरौं
कसैले घर कहा हो भने
गर्वसाथ नेपाल भन्ने हामीलाई
घरको पीडा भन्नुपर्दा
सगरमाथा नै झुकेजस्तो लाग्छ ।
कानुनले बाधेका मान्छेलाई
कसरी सुनाऊ कानुन नभएको कथा
कसैले फालेको फोहोर उठाएर
सफा राखेकोमा गौरव गर्छन् उनीहरु
हामी किन
आˆनो मन मात्र पनि सफा राख्न सक्दैनौा ?
अरुले घरघर जोड्ने राजमार्ग बनाउादा
किन हाम्रो
सोचाइको सागुरो राजमार्गमा
सधैा खाल्डो परिरहन्छ ? सधै पहिरो गइरहन्छ ?
हामी किन
भान्से भएर पनि समान विचार पस्कन सक्दैनौ ?
हामी किन
दुःखाइ एउटै भएर पनि
अरुको दुःखमा रुन सक्दैनौ ?
के अब हामी हृदयविहीन भैसक्याै त ?
के अब हामी सिर्जनाविहीन भइसक्यौ त ?
के अब हामी उपायविहिन भइसक्यौ त ?
खै कहा गए हाम्रा वीरहरुको गाथा ?
खै कहा गयो विकासको नारा ?
डढेलो सल्किनसकेका मनहरु
जातपातलाई एउटै मानेर
मधेस पहाडलाई सिङ्गो देश ठानेर
आऊ हामी अलिकति योजनाको कुरा गरौ
आऊ हामी अलिकति इमानदारिताको कुरा गरौ
आˆनै घरको चुलोमा पराईले आगो बालेको
सांच्चै पीडादायी हुनसक्छ
आऊ हामी अब
खिया पर्न लागेका विकासका नारामा धार लगाएर हेरौं ।
-हालः अमेरिका
