Skip to content

मेरो सिक्किम यात्रा र नेपाली चलचित्र आचार्य

  • by


मलाई धेरै पहिले देखि सिक्किम घुम्न जाने ईच्छाले सताइरहेको थियो । धेरैचोटी यात्राको प्रयास गरें तर सफल हुन सकिन ।

तर एकदिन मेरो लामो समयदेखिको प्रतिक्षाले सार्थकता पाउने संकेत मिल्यो । कारण सिक्किममा बस्नुहुने मेरा काका काकी सिक्किमबाट केही समय छुट्टी बिताउन र स्वास्थ्य उपचार गर्नको लागि नेपाल आउनुभयो । काका काकीको नेपाल बसाईमा मैले आफूलाई सिक्किम घुम्न मन लागेको कुरा राखे । काकीले अहिले म उपचार गर्दैछु काका फर्किएर सिक्किम जानुहुन्छ मेरो स्वास्थ्यमा सुधार आएपछि काका लिन आउनुहुन्छ त्यतिखेर सम्ममा जाडो पनि कम हुन्छ त्यसपछि जाउँला भन्नु भयो ।

मैले प्रतिक्षा गरेको त्यो समय नजिकिंदै थियो, काकीको स्वास्थ्यमा विस्तारै सुधार आयो काका पनि सिक्किमबाट आउनुभयो केही दिन पछि म काका काकीसँग सिक्किम घुम्न निस्कें ।

झापाको सुरुंगा मेरो घर, घरबाट बिर्तामोडमा काकाकाकीसँग भेट भई काँकरभिट्टा हुँदै सिलिगुडीमा गएर सिक्किम जाने बसमा काकाले टिकट गर्नुभयो दिउँसोको तीनबजेतिर हामी सिक्किम प्रस्थान गर्यौं । सिक्किम जानेबाटो चित्रेसम्म त म पहिले पनि कालिम्पोङ जानेक्रममा पुगेकी थिएँ । त्यहाँ देखि करिब ७० कि.मी. बाटो मेरा लागि नौलो थियो । मेरा लागि नौलो ठाउँ आईपुग्दा साँझ पर्न लागि सकेको थियो । बाटाको अवलोकन गर्न त पाइन तर पनि साँझको ८ बजेतिर हामी सिक्किम गान्तोकस्थित बालुवाखानी जहाँ काकाकीको बसोबास थियो त्यहाँ पुग्यौ र खानपिन पछि निकै जाडो बढेकोले हामी सुत्न तिर लाग्यौं ।

भोलिपल्ट उज्यालो भयो झ्याल खोलें पश्चिमपट्टिको रमणीय कञ्चनजंघा हिमाल देखिंने रहेछ । आकाश खुलेको बेलामा मात्र देखिने र आकास बदली भएको बेला नदेखिनेरहेछ ।

दिउँसो गान्तोक बजार घुम्न निस्किएँ बजार क्षेत्रभित्र कति ठाउँमा ग्रिन सिक्किम क्लिन सिक्किम अर्थात हरियो सिक्किम सफा सिक्किम लेखिएका व्यानरहरु देखिन्थे । नारा अनुसारको सिक्किम अवश्य पनि हेर्न लायक थियो ।

सिक्किम बजार क्षेत्रमा जथाभावी फोहर गर्नेलाई नगद र कैद दुवै जरिवान हुन सक्ने भनि चेतावनी सहितका सुचनाले होला बजार क्षेत्र भित्र जथाभावी फोहर गरेको पाइँन्न थियो । गान्तोक शहर निकै उचाइमा रहेको र सँधै चिसो जाडो हुने हुनाले त्यहाँ सदावहार बृक्षहरु बजार भित्रै पनि सुरुक्षित पाइने, बजारको छेउछाउमा नै सरकारी बन रहेको र त्यो वनको हरियालीले वातावरणलाई सधैं स्वच्छ बनाउन सहयोग गरिरहेको देखिन्थ्यो ।

दिन बित्दै गए म सिक्किमको विभिन्न रमणीय ठाउँ घुम्दै रहँे । केही दिन पछि म मेरा बाल सखा जो झापामा हुँदा बिद्यालय जीवनका साथीहरु थिए उनीहरुलाई लाई भेट्न मन लाग्यो । मैले नेपालबाट नै सम्पर्क फोन लिएर गएको थिएँ । साथीहरुलाई फोन गरें आफू गान्तोक आएको जानकारी गराएँ ।

मेरा बिद्यालय जीवनकी साथी पवित्रा दाहाल अहिले उनी सिक्किमको रुम्तेक भन्ने ठाउँमा बस्छिन । त्यहाँबाट गान्तोक आइन र गान्तोकको मुख्य पर्यटकीय क्षेत्र महात्मा गाँन्धी मार्ग, भारतका राष्ट्रिय पिता महात्मा गान्धिको शालिक रहेको ठाउँ त्यही ठाउँमा भेट्न सल्लाहा दिइन । म काकीको सहयोगले त्यस ठाउँमा पुँगे र साथीसँग मेरो झण्डै बीस वर्ष पछिको पहिलो भेट भएको थियो । त्यो मिलनले हाम्रो विगतलाइ नजिक्याउने प्रयास गरेको थियो । भेट पछि म साथीको घर रुम्तेक लागें । रुम्तेक गान्तोक भन्दा निकै उचाइ कम भएकोले गान्तोक भन्दा न्यानो पनि थियो । साँझ साथीको घरमा पुग्यौं ।

परिवारमा बुवा आमा छोराछोरी बुहारी सबै एकैघरमा बस्ने दिनभरि आफ्नो रोजगार अनि व्यवसायमा व्यस्त हुने र साँझ परेपछि सबै घरमा भेला भई दिनभर आफूहरुले गरेका अनुभवहरु साटासाट गर्ने, बुवा आमा छोरा छोरी सबै एक दामले साथी जस्तो व्यवहार । एक्काइसौं शताब्दीमा परिवारमा आएको बिखण्डन र परिवारमा वृद्धहरु एक्लिने अवस्थाको सृजना गर्नेहरुलाई यो परिवार अनुकरणीय हुन सक्छ ।

यस्तै रमाइलो परिवारमा रमाइलो साटासाट गरि दुई रात बिताएपछि म सपरिवारसँग बिदा मागी परिवारका सदस्यहरुसँगै गान्तोक प्रस्थान गरें । परिवारका सबै सदस्यहरुको रोजगार गान्तोकमा नै हुनाले साथीहरुको आफ्नै निजी बाहनमा हामी गान्तोक पुग्यौं ।

गान्तोकको लालबजार स्थित डेनजोङ् चलचित्र हलमा नेपाली चलचित्र आचार्य चलिरहेको रहेछ । हुनत मैले सिक्किम टिेलिभिजन नयुमा मा आचार्य चलचित्रको बिज्ञापन हेरेको थिए । तर ध्यान दिएको थिइन कस्तो कथा वस्तुमा आधारित छ भनेर । साथीका बहिनीहरुले दिदी “आचार्य” सिनेमा हेरौं ल भने । बहिनीहरुमा एक जना चाहिं बङंलोरमा स्नातक तहसम्म अध्ययन पुरा गरी त्यहीँ रोजगारी गरिरहेकी र छुट्टीमा घर आएकी थिइन । बङलोरमा नेपाली चलचित्र नचल्ने हुनाले घर आएको बेलामा नेपाली चलचित्र हेर्न लागेकी थिइन् । मैले हलमा गएर चलचित्र नहेरेको बर्षौं भइसकेको थियो । हुनत सिक्किमकै अर्को चलचित्र भवनमा पनि नेपाली चलचित्र तोड लागिरहेको थियो । नेपाल भित्रै पनि विगतमा जस्तो हलमा गएर चलचित्र हेर्ने दर्शक घट्दै गइरहेको बेलामा सिक्किममा महिनौं देखि चलचित्र आचार्य चलिरहेको थियो । सिक्किमका नेपालीभाषीहरुले नेपाली चलचित्रलाई माया गरेको देखिन्थ्यो । नेपाली चलचित्रका लागि गान्तोक शहर राम्रै रहेछ ।

बहिनीहरुको आग्रह सिनेमा हेरौ. भन्ने थियो तर मेरो भित्रि मनले नहेरौं भन्ने थियो तर बहिनीहरुले दिदी भक्तराज आचार्यको जीवन कथामा आधारित कथा रे हेरौ. न के उहाँ अहिले पनि जीवित हुनुहुन्छ ? भन्दा मेरो मनभित्र हलचल मच्चियो । नेपालका होनाहार संगीतकार, गीतकार, गायकको जीवनमा आधारित चलचित्रको मलाई पत्तो पनि थिएन म भित्रभित्रै लज्जित भएँ । मैले चलचित्र हेर्ने इच्छा प्रकट गरें ।

चलचित्र शुरु भयो दुम्सीपाडा चिया बगान, सायद यो चिया बगान भारतकै कुनै ठाउँ होला नेपालमा त मैले यो नाम सुनेकी थीइन । भक्तराज दाईको बाल्यकाल र किशोर अवस्था यही दुम्सीपाडा चिया बगानमा बितेको रहेछ ।

बाल्यकालमा स्कुलमा शिक्षकले हाजिर गराउँदा भक्तराजलाई किन भक्ते भनेर उच्चारण गरेको होला ? आमाले त्यस्तै नाम लेखिदिएको थियो कि शिक्षकले हेपेर बोलाएको हो यो हेपिएको शब्दमा मलाई कौतुहल लागिरह्यो । चलचित्रमा बुबाको भूमिका त देखिएन सायद बुवाको बाल्यकालमा नै निधन भएको र अनि परिवारमा एकजना आमा र एक दिदीको भूमिका थियो सायद उहाँको परिवारको आकार यति नै होला ।

भक्तराज आचार्यको बाल्यकालदेखि नै सङ्गीतप्रति निकै चासो थियो भन्ने कुरा गाउँमा आएका एकजना सङ्गीत शिक्षकसँग स्कुल छोडेर सङ्गीत सिक्न जाँदा आमाले शिक्षककै अघि लछार पछार पार्दा पनि भागी भागी सिक्न गएकाले पुष्टि गर्छ उनको संगीत प्रतिको मोह । चियावगान भित्र चलिरहेको जिन्दगीको अनेकौं अभावका विच पनि आफ्नो सङ्गीतप्रतिको मोहलाई उनले निरन्तरता दिइरहेको देखिन्थ्यो । दुम्सीपाडा चियावगानको दिनचर्यासँगै उनका अनेकौं साँगीतिक प्रतिस्पर्धा भए त्यस्मा सधैं भक्तराज अब्बल दर्जामा दरिइरहे ।

तर यसरी चलेको सस्तो प्रतिस्पर्धाले जिवन गुजारा चलाउन गाह्रो हुने हुनाले परिवारमा भक्तराजले घरको जिम्मेवारीलाई वास्ता नगरेको भनि आमा र दिदीले गरेको गालिले भक्तराज दिक्क भई बारीमा खन्दै गरेको बेलामा आफ्नो अन्यौलग्रस्त भविष्य सम्झेर डाँको छोडेर रुँदा सबै दर्शक भक्कानिएका देखिन्थे । गुजाराको कुनै उपाय नहुँदा र एक मात्र छोरो भक्तराज जहिले पनि एउटा हारमोनियम चेपो दिनभरि हिंड्यो बेलुका रित्तै घर फर्कियो, कहिले महिनौं घर नफर्किने तनावले आमाले एक दिन आफू छोरीकोमा गएर बस्ने कुरा गरेपछि भक्तराजको भविष्य झन अन्योल भयो । आखिर आमा दिदीकोमा गएर बस्न थाल्नुभयो तर उता दिदीको श्रीमान भिनाजु भनाउदो रक्सिले दिनरात मातेर दिदीलाई हैरान पारेको र त्यहीबेला भक्तराज पनि दिदीकोमा पुग्दा दिदीले नानाभाति गाली गर्दा भक्तराज खिन्न भएको देखिन्छ । तर यी सबै अलपत्रता भित्रपनि भक्तराजले आफ्ना् साँगीतिक यात्रालाई निरन्तरता दिइएको देखिन्छ ।

आमाको बसोबास दिदीको घरमा हुन थालेपछि भत्तराज पनि आफ्नो प्रतिभालाई रेडियो नेपालको पहुँचसम्म पुर्याउने प्रयासमा काठमाण्डौं प्रस्थान गर्छन । त्यहाँ पनि उनको प्रतिभालाई राम्रो चाहिँ भनिन्छ तर उचित स्थान कतैबाट मिल्दैन यतिसम्म कि आफ्नो प्रतिभा वास्तवमा कसलाई देखाउनुपर्ने हो त्यहाँसम्मको सुईँकोसम्म पनि उनलाई दिँइदैन । काठमाण्डौंमा बस्दाका विभिन्न समस्या अभाव,घरबेटीदेखि लिएर आफ्ना साथिभाइले समेत दिएको हैरानीले बेला बेलामा दर्शकहरुले लामो सास फेरेको देखिन्थ्यो । धेरै समय संघर्ष गरेपछि एक दिन उनको प्रयासले सफलता त पाउँछ तर त्यहाँ पनि उनका एक जना असल मित्र भन्दै उनको सफलताको जस आफूले लिँर्दै उनलाई ठग्न पछि पदैनन् । यसरी भक्तराज जीवनको अनेकौँ ज्वारभाटा पार गर्दै रेडियो नेपालमा स्थापित हुन पुग्छन् उनको सफलताको सिंढीसँगै बरिष्ठ गजलकार गुलाम अलिको भेटले उनलाई अझ आफ्नो प्रतिभामा निखार ल्याउन सहयोग पुर्याएको देखिन्छ । यसरी उनलाई रेडियो नेपालमा करारमा नै भएपनि प्रतिभा पस्किने र सानोतिनो रोजिरोटीको ठाउँ मिल्छ । उनको संघर्षपूर्ण जीवन, इमानदारिता र बेजोड प्रतिभाका कारण उनलाई आफ्ना मित्रबाट एक असल कन्याको बिवाहको प्रस्ताव आउँछ र उनी दाम्पत्य जीवनमा बाँधिन पुग्छन् । विवाह पछि उनका दुई पुत्ररत्न सत्य र स्वरुप जन्मन पुग्छन् । उनले आफ्नै मुखबाट जेठो छोरो जन्मेको दिन आफूलाई जीवनमा सबैभन्दा खुशी लागेको बताएका छन् । सायद उनका जेष्ठ सुपुत्र सत्यराज हुन होला मलाई एकिन त छैन । उनको सफलताले एकपछि अर्को गर्दै शिखर चुम्दै थियो तर उनको यो अभियानमा कालो बादल मडारिर्दै गरेको उनले पत्तै पाएनन । उनको प्रतिभाको मुना निमोठ्न कति रावणरुपी राम पछि लागेका थिए । एक दिन आफ्नो दिनभरिको ड्युटी सकेर घर फर्कँदै गर्दा बिच बाटामा नै भट्टीमा मादक पदार्थ सेवन गर्न सँगै मोटरसाइकलमा लिएर आउने साथीले आग्रह गर्दा तिमीले आग्रह त स्वीकार गरेनौं तर तिमी तिनीहरुको आपराधिक चङगुलबाट उम्किन सकेनौ, तिम्रो प्रतिभाको अवसान त्यहीबाट शुरु भयो । तिम्रो गल्ती थिएन तर तिमी निर्घात पिटियौ । जीवनमा असल र खराब मित्रको पहिचान गर्न नसक्दा यस्ता दुष्टका शिकार भई धेरै होनाहार व्यक्तिहरुको यस्तै दुर्दशा भएको छ । तिम्रो कर्णप्रीय गीत म सधैँ सुन्थेँ –

जो रामको भेष धरेर रावणको कर्तुत गर्दछ
तिम्रो फुलबारीको बिषालु सर्प होशियार

तर तिमीले त रावणरुपी रामलाई चिनेनौ नी, सायद भक्तराजले यो गीत आततायी दुर्घटना पछि नै गाएको हो कि जस्तो लाग्यो । आचार्य चलचित्र हेरिरहँदा थुक्कै यी आततायीको सँगत नगरेको भएत यस्तो हुने थिएन होला जस्तो लाग्यो । आचार्य चलचित्र हेरेको लगत्तै म सिक्किममा नै थिएँ झापाका पत्रकार यादव पौडेलको हत्या पनि यस्तै रावणरुपी रामबाटै भएको सुने साँच्चै यस्ता मान्छे त रावणरुपी राम नै हुँदा रहेछन् । पत्रकार यादव पौडेलका हत्याका अभियुक्त युवराज गिरीलाई मैले बचत तथा ऋण सहकारी संस्था झापाको प्रारम्भिक अधिवेशनको कार्यक्रममा झापाको सुरुङ्गामा भेटेको थिएँ जहाँ उनले त्यो कार्यक्रमको उद्घोषण गरेका थिए । उनी यो सँस्थाका जिल्ला सचिव थिए र अधिवेशनले आगामी कार्यकालको लागि पनि उनलाई सचिवमा चयन गरेको थियो । साच्चै मलाई युवराज गिरी शालिन भद्र व्याक्तित्व जस्तो लागेको थियो । पत्रकार घट्नामा उनको नाम जोडिँदा पनि पत्यार नै लागेको थिएन तर प्रहरीको अनुसन्धानले घटनाको मुख्य अभियुक्त युवराज गिरी हुन भनि उनको नाम सार्वजनिक गर्दा भक्तराजका साथी माथिको विश्वास घातको सम्झना आयो साँच्चै रावणरुपी रामलाई चिन्न गाह्रै हुने रहेछ ।

भक्तराजले आज मेरो १६ वर्षको साँगीतिक यात्राको अन्तिम साँगीतिक कोशेली पस्कदैछु अब मेरो चाँडै जिब्राको शल्यकृया हुँदैछ जिब्रामा सेतो घाउ जस्तो दाग बढ्दैछ अपरेशन नगरे शरिरको अन्य भागमा पनि फैलिन सक्छ भनि चिकित्सकले सल्लाह दिएको छ । अपरेशन पछि मेरो गायन यात्राले पुरै बिश्राम लिनेछ भनि उनले अन्तिम गीत गाएका थिए । उनले गाएको अन्तिम गीतको बोल मैले भुलें । उनको जीब्राको सफलतापुर्वक शल्यकृया त भयो तर उनको सुरिलो कण्ठले पनि सदाको लागि बिश्राम लियो । शल्यकृया पछि उनका जीवनमा पट्यारिलो समय शुरु भयो उनका साथीभाईले पनि उनलाई वेवास्ता गरे । मलाई भेट्न कोही पनि साथीभाइ आउँदैनन भनि बारम्बार श्रीमतीसँग दुखेसो पोखेको देखिन्थ्यो । जिब्राको सल्यकृयापछि उनमा आएको बिचलनले झण्डै आत्महत्याको संघारसम्म पुर्याएछ, धन्न भाउजूको सचेतताले त्यो कठोर निर्णयबाट बच्न सफल भयौ धन्य छ भाउजूलाई ।

चलचित्रको अन्त्यमा भक्तराजको अधुरो सपनालाई पुरा गर्ने लक्ष्य लिएर उदाएका सत्य र स्वरुपको साँगीतिक चिनारी दिँदै एउटा विशेष कार्यक्रममा आफ्ना मातापिताको उपस्थितीमा भक्तराजका दुई सुपुत्रले साँगीतिक कोशेली पस्कँदै गर्दा चलचित्रको अन्त्य हुन्छ ।

मलाई बँगलोरबाट बिदामा आएकी दिप्ती बहिनीले दिदी हजुरको मन दुख्यो कि के हो आँखा रसाए नि भनिन मैले यो चलचित्र अरु चलचित्र जस्तो काल्पनिक कथावस्तु होइन नि यो त भक्तराज दाइको जीवनमा घटेका यथार्थ घटना र जीवन भोगाईको एउटा दर्पण हो त्यसैले नमिठो लाग्यो भने अर्कि बहिनी उमा जो नर्सिंग पेशामा आवद्ध छन उनले भनिन दिदी मेरो त रात दिनको हस्पिटल भित्रको चित्कारले आँसु नै रित्ति सके मन दुखे पनि आँसु आउनै छोड्यो । चलचित्र समाप्त भयो पर्दा खस्यो तर मेरो मानसपटलमा घुमिरह्यो दुम्सीपाडा चिया बगान, रेडियो नेपाल अनि भक्तराज आचार्य ।

भक्तराज दाइको बारेमा केही त सुनेको थिएँ धेरै पहिला म पनि सानै थिएँ रेडियो नेपालको साहित्य संसार कार्यक्रमका लोकप्रीय कार्यक्रम सञ्चालक दाहाल यज्ञनिधिको मुखबाट तर यति धेरै कारुणिक जीवन भोगाइ त चलचित्र हेरेपछि मात्र थाह भयो । उनको सिँगो जीवन संघर्षमय, कारुणिक र हैरानीले भरिएको पाएँ मैले । समग्र चलचित्र हेर्दा भक्तराजको जीवनमा पाँच पटक खुशी छाएको देखिन्छ । पहिलो उनको प्रतिभा उत्कृष्ट भएको दिन, दोश्रो रेडियो नेपालमा छनौट भएको दिन तेश्रो असल जीवन साथी भेटेको दिन चौथो पहिलो सुपुत्र जन्मिएको दिन र पाचौँ खुशी सत्य र स्वरुपको सफलता सार्वजनिक भएको दिन बाँकी जीवन सबै दुःखै दुःखले भरिएको देखिन्छ । आफ्नो जीवन अस्त व्यस्त र दुःख कष्टमा बिते पनि उनका सुपुत्र सत्य र स्वरुप आकाश गंगाका चम्किला दुई नक्षत्र भएर उदाएका छन् उनको अधुरो सपना साकार पार्ने लक्ष्य लिएर सबै नेपाली माझ लोकप्रिय कलाकार भएर छाएका छन् । आचार्य चलचित्रमा भक्तराजको भूमिकामा सत्यराज आफैँले अभिनय गरेर एउटा सफल अभिनेताको परिचय दिएका छन् । सत्यराज एक सँगीतकार, गायक अनि सफल अभिनेता पनि । तिम्रो बहुआयामिक प्रतिभालाई मेरो पनि शुभकामना तिम्रो प्रतिभा अझै खारिँदै जाओस ।

जुना मैनाली
सुरुङ्गा—८, झापा
२०६९ बैशाख ५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *