Skip to content

बिरोधको शैली र पक्षपातको नौटङ्की

  • by


अरु त थाहा छैन तर केही साल यताका नेपालीहरू जब जब दसैं भन्ने चाड नजिकिन्छ तब तब लगभग आधाभन्दा बेसी शाकाहारी बनिहाल्छन् । अझै यसो भनुँ बनिटोपल्छन् । तर साँच्चैमा होइन ! केवल आदर्श छाँट्ने बहानामा । यसो गर्नेमा हिन्दू अहिन्दू सबै पर्छन् तर स्वाभावैले अहिन्दू बेसी रहन्छन् ।

केही समय पहिले एक जना मित्रको बिहे भयो । उनी अहिन्दू हुन् । बिहेपछि खुशी बाँट्न बिहे समारोहका धेरै तस्बिर फेसबुकमा राखे । सबैले बधाई दिए । खुशी छछल्काए । राम्रै भयो । बिहे समारोहका तस्बिरमा मैले कतै सामाग्रीसहित एउटा मरेको कुखुरो खुट्टो तन्काएर उत्तानो पल्टिरहेको पनि देखेँ । सम्भवत: त्यो भोज सोजको लागिभन्दा पनि पूजाबिबिधमा रीतपूर्वक आवश्यक थियो होला । मैले यस्तै बुझेँ । किनकि अलग धर्म संस्कारका अलग रीत चलिआएका हुन्छन् ।

केही समयपछि कसैले दसैं चाडमा खसी बोका काट्दै गरेको तस्बिर पोस्ट गरे । त्यसमा बिरोध गर्ने र नगर्ने आधाआधी देखियो । तर जसको बिहेको तस्बिरमा उत्तानो लडिरहेको कुखुरो मैले देखेको थिएँ तिनै महमहिम बोको काटिरहेको तस्बिर मुनी सशक्त बिरोध गर्न उभिएको देखेँ । उनले यतिसम्म महान शब्द ओकले, “हिन्दूवादीहरू, बाहुनहरू यसरी अर्कालाई मर्छन । यी त राक्षस हुन् । !”

मलाई तिनको उक्त कमेण्ट पढ्नासाथ त्यही उतानो लडिरहेको कुखुरो याद आइहाल्यो । बाहुनले बोको काटेको बिरोध गर्नेले आफ्नोमा कुखुरो काट्दा के हेरी बसे होलान तिनले ? या त कुखुरो उनीहरूले काटेको नभै कतै आँफैँ मरेर नालामा फ्याँकेको चाहिँ टिपेर ल्याए होलान्? कि त खसी बोका मात्रै काट्नु पाप हो, कुखुरो काट्नु केही होइन? या त काट्ने मार्ने काम हिन्दू या बाहुनले गर्दा मात्रै पाप हो?

म सोचिरहेँ । मेरा प्रश्नको जवाफ मैसँग थियो । तर मलाई थाहा थियो रक्षान चलाएर छिटा नै त लाग्ने हो !

अहिले फेरि दसैंको संघारमा छौँ । सबैलाई चाडबाड आउँदा एक खालको खुशी र उमङले छुन्छ नै । मलाई पनि छोएको छ तर फेसबुक खोल्नै हुन्न । अहिँसा र शाकाहारी लेक्चरले फेसबुक भरिएको हुन्छ । मांशाहारी, हिन्दू र खासगरी बाहुन भन्ने जात लाई हाड मक्किने गरी गाली गरिएको हुन्छ । मलाई अचम्म लाग्छ । शाकाहरी ले त्यसो भन्नु ठीक हो । तर भेटेसम्म मरेकै सिनु पनि नछोड्ने लिच्चडहरू पनि यतिबेला अहिंसाको ढर्रा किन गर्छन्?

नराम्रो कुराको बिरोध गरिनुपर्छ । चाहे त्यो काम कुनै पनि बहानामा गरिएको किन नहोस् । स्वादको बहानामा, धर्मको बहानामा, पौषटिकताको बहानमा चाहे जेसुकैमा होस् मासु खानु भनेको कुनै न कुनै प्राणीको बध गरिनु हो । यसो गर्दा कुनै जाति बिशेष, धर्म बिशेषलाई छानी छानी पापको बिल्ला लाग्छ? अहँ त्यसो होइन । पाप धर्म के हो त्यो आफ्नो ठाउँमा छ तर कसैको बध गरिनु सबैका हकमा उतिकै नराम्रो काम हो भने किन दसैंमा गालीको बर्षा? दाँतको फक्लेटोमा सिनुको त्यान्द्रो बोकी-बोकी अहिंशाबादी, शाकाहारी बनेको ढोँग गर्नुभन्दा सिधासिधा जातिबिशेष र धर्मबिशेषप्रतिको रोष हो भन्दा भइहाल्छ बरु । नत्र दसैंमा किन गालीको बर्षा? यो सब रमिता देख्दा लाग्छ, “दसैंमा मात्रै पशु हत्या हुन्छ र मासु खाइन्छ । मासु पनि नेपाल भन्ने देशमा मात्रै खाइन्छ र त्यो पनि हिन्दू धर्मावलम्बीहरूले मात्रै खान्छन् । अरु कहीँका, कुनै धर्मका ले कुनैपनिबेला मासु छुँदैनन् । कतै भकुरी हाले भने पनि त्यो कसैको काट्मार नभएर आकाशबाट आफ्सेआफ बर्सेका हुन्छन् । या त दुनियाँका हरेक बधशालामा हिन्दूहरू नै मारकाटका धन्दा गर्छन् र अरुले ‘पाप’ चोख्याएर टोक्ने मात्रै गर्छन् ।”

यथार्थ त यो हो कि यी बिरोधका तीन चौथाइ अंश केवल नौटंकी मात्र हुन् ।

दीप्स शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *