जहाँ पोखेथ्यौ विदाइको अविरल आँशु
त्यहींबाट हेरिरहेछु
तिमीले नाघेको शून्य क्षितिज
परदेशी!
आकाशको कुन मौन बलेसी मुनि
कोरिरहेछौ तिमी सपनाको मार्ग
जीवनको सीमाहीन गन्तव्य पहिल्याउँदै हिंडेको तिमी
शायद हेर्दैछौ यसबेला
चिसो आँखी भौं पर्दा उघारेर
हातका पर्वत जस्ता ठेलाहरू।
गाउँमा–
तिम्रो यादमा खिपेर गीत
गाइरहेछ बतासले बाँसका पातहरूसित
पोखाउँदै बिसन्चो शीत
डाँडाहरू छोडिरहेछन् बादल
तिमी गएपछि फर्किएन कुनै मृदुमुस्कान।
बरु–
गइरहेछन् संभावनाहरू रुँदै
गाउँबाट बग्ने खोलाले
सोहोरिरहेको छ गाउँकै सातो
र, जूनको पनेलो फेर समातेर
रोइरहेका छन् हरेक रात अज्ञात आत्माहरू।
तर–
आँगनभरि सन्तानका बीच
आधा पेट बाँचेका तिम्रा दौंतरीहरू
खोजिरहेछन् भीरपाखामै भरोसाका बीउहरू
रोपिरहेछन् खनेर बगरमा
खुशी फुलाउन पीरहरू।
त्यसैले–
फर्क परदेशी गाउँमै
फर्काउँदै गाउँको सातो पनि
बाँचौंला साझा दुःखहरू पिउँदै एउटै मूलको पानी!
हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012
