Skip to content


यी मान्छे,
भेटिंदा पनि हतारमा छन्
छुट्टिंदा पनि हतारमा छन्
भोजमा पनि हतारमा हुन्छन्
मेलामा पनि हतारमा हुन्छन्
सातु पनि छैन
साथ पनि छैन।

न पाइलाहरूको बाटो छ
न बाटाहरूको गन्तव्य छ
फुर्सद फुर्सदका
यी बेफुर्सदिला मान्छेहरू
कुन पहाड भत्काउन
कुन समुद्र सुकाउन
फितलो अभिलाषा कुम्ल्याएर
दिशाहीन भौंतारिरहेछन्।
धमिला आँखाहरू डुलाएर
अँध्यारामा सियोसँगै
स्वर्ग खोजिरहेछन्।
आश्चर्य लाग्छ,
विधानभित्र अनुबन्धित
पखेटा कुज्याएर
किन यी मान्छेहरू
वेग हान्ने दुष्प्रयास गरिरहेछन्?

अन्ततः मान्छे,
टावरमाथिको झ्ण्डा न हो
आकासिन पनि नसक्ने
पतालिन पनि नसक्ने
सधैं आँधीसँग सशङ्कित
दोहोरो रोएर, एकोहोरो हाँस्ने
हतारमा कछुवाको आयु बाँच्न खोज्ने

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *