Skip to content


सडकमाझ् नग्न उभिएर सुस्केरा छोडें भने
ब्यूँझ्नेछ इतिहासको चौघेरामुनि निदाएको बूढो पाले
तर्सिएर उड्नेछन् मलाई डर देखाउने बाजहरू
थर्किएर लड्नेछन् आकाशतिर बढ्दै गरेका टावरहरू

घोडेजात्राको दिन टुँडिखेलका घोडा छाँदेर
जानु छ महाराजका ढोकासम्म
देखाउनु छ लट्टा परेको कपालको चुल्ठो
सुनाउनु छ बर्जित शब्दहरू एकएक गरी,
हेर्नु छ बादलका गुजुल्टाहरू पन्छाएर
यो आकाशको कुन कुनाबाट कसले झ्ार्दोरहेछ चट्याङ

म नाङ्गो अवतार
भगवानको नग्न तस्बीर
छातीमा टाँसेर धर्म नमान्न सक्छु
सक्तिनँ, धर्मले डढाएका मेरा औंला काटेर
ममाथि लेखिएको इतिहासलाई ढोग्न

दायाँ खुट्टो कानूनको कुममा
बायाँ ईश्वरको कुममा राखेर जानु छ
इतिहास सजाइएको संग्रहालयमा
जसको ढोकैमा झुण्डिएको तस्बीरमा
केरमेट हुँदै बुढिएको मेरै जस्तो अनुहार कसको हो?
थाहा पाउनु छ, किन ढोग्छन् मान्छेहरू यो तस्बीरलाई

बौलाहा जस्तै देखिने श्रीपेच महाराजलाई हटाएर
टुँडिखेलका घोडामा बसी पार गर्नु छ भद्रकाली
फूलपातीको दिन घुम्नु छ उपत्यकादेखि गोरखा दरबारसम्म
बगी जाने मर्स्याङ्दीलाई सोध्नु छ
‘ए मर्स्याङ्दी! फूलसाँघु तार्दा
तिम्रो गर्भाशयमा क–कसले के–के बगाए?’

यिनै घोडामा चढेर चोभारको गल्छेडोसम्म पुगी हेर्नु छ
क–कसका अनुहार बगाई ल्याएको छ यो पानीले

स्वयम्भुमा उभिएर सोध्दै छु,
‘ए मञ्जुश्री! कहाँ छ चोभार काट्ने तिम्रो तरबार?’
आज मलाई चाहिएको छ यही शक्तिशाली तरबार

तरबार खोज्दै हिंडेको म
नाङ्गा मूर्ति अगाडि आइपुगेको छु
यहीबेला चक्रपथमा देखाइदिनुछ
नाङ्गो परिक्रमा, नाङ्गो उत्सव

यो नाङ्गोपन हेरेर आँखा नछोपून्
बाटो हिंड्नेले, जूनतारा भरिएको आकाशले
दरबार, न्यायालय र मूर्तिहरूले
मन्दिर, गुम्बा, माने र मस्जिदले
जेल र विष्णुमतीका गिद्दहरूले

यी घोडामा चढेर फेरि पुग्नु छ, महारानी र राजकुमारी
पस्ने र निस्कने ढोकामा कुँदिएको नागराजाको चित्र हेर्न

जान्नु छ, यी ढोकामा लाउने आग्लो कस्तो थियो?
गोल्चे र खरमस कसले बनाएको थियो?
यी साँघुरा ढोकामाथि झुण्डिएको चम्मरमा अड्किएको केस कसको हो?

बेइतिहास, बेमान्छे बनेका, ए! सुत्केरी महारानीहरू हो
आओ कुमारीजात्राको दिन टुँडिखेलमा लहरै उभिएर हेरौं
के–के लेखिएको रहेछ रगतको मसीले हाम्रो निर्बस्त्र शरीरमा

आओ धरहरामाथि लहरै उभिएर नापौं मान्छेको उचाइ
नारायणहिटीको पर्खाल वरिपरि घुमेर हेरौं मान्छेको नग्नता

आर्यघाट किनारमा खोजौं
सतीहरूलाई हिर्काएका ढुंगाहरू कुन कुन हुन्?
पशुपतिमा नाङ्गा पार्वती उतारेर हेरौं
सती बनाउँदा क–कसका जिउँदा शरीर
नङ्ग्याएर पोलिएका थिए चितामा!

शिवरात्रिको दिन भाङले मातेर
वनकालीमा कराइरहेका छन् मेरा दौंतरीहरू
“फलोफूलो कह, ए भस्मदेव!
के–के देखेका छौ इतिहासदेखि आजसम्म?”

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *