Skip to content


कुनै समय त्यस्तो थियो
शरीर अलग भए पनि
प्राण हाम्रो एकै थियो
वा घाम छाँया हाम्रो उपनाम थियो
तर न आज त्यो समय रह्यो
न दुई प्राण एक नै

कुनै समय त्यस्तो थियो
निकटता हामीमा यति थियो
कि हामी बीच दुरी नै थिएन
वा एकै ठाउँमा समाहित
हामी दुई विन्दु थियौं
तर न आज त्यो समय रह्यो
न हामी बीचको निकटता नै

कुनै समय त्यस्तो थियो
विश्वास एक अर्कामा यति थियो
कि अविश्वासको कुनै प्रश्नै थिएन
वा हाम्रो शब्दकोषमा अविश्वास थिएन
तर न आज त्यो समय रह्यो
न हामी बीचको विश्वास नै

थाहा त थियो मलाई
समय एकनास कहिल्यै हुदैन
समय त हुरी हो
हुरीलाई रोक्न कसैले सक्दैन
तर थाहा थिएन मलाई
समय यति निस्ठुरी पनि हुन्छ
दिलको कुनामा टाँङ्गिएको
फोटो पनि उप्काएर लग्छ

कति फरक छ
कति फरक छ, हिजो र आजमा
जसलाई हिजो म आफ्नी ठान्थेँ
आज त्यही आफन्त नै पराई
हिजो उनमा जति मेरो विश्वास थियो
आज त्यतिनै उनको म प्रति अविश्वास
हिजो अकल्पनिय निकटता थियो
आज त्यति नै असोचनिय दुरी

थाहा छैन मलाई
यो दुरीमा, यो पराईपनमा
अनि यो अविश्वासको जन्ममा
दोषी को थियो ?
थाहा छ त केवल मलाई
मेरो विश्वास टुटेको छ
मेरो आत्मा मरेको छ
तर थाहा छैन मलाई
मेरो विश्वास टुत्नुमा
मेरो आत्मा मर्नुमा
दोषी को थियो ?
तिमी या म ??

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *