असार महिनामा हरियाली भरिएका यी रोपाईंका खेतबारीहरू
वर्षा ऋतुमा भिजेका निश्चल हरिया पाखाहरू
बदलिदो नेपाली माटोमा अंकुरित नया आशाहरू
आशाहरू
देश विकास र शान्तिका आशाहरू
आशाहरू
आपासी समन्वय र सदभावका सुन्दर आशाहरू
हत्या र गोली त्यागेर अँगालोका आशाहरू
गास बास कपासको लडाईबाट मूक्ति पाउने आशाहरू
आलोचना र कटुता बाट समझदारी र एकताका आशाहरू
‘म’बाट ‘हामी’का वाचाहरू विश्वासहरू
आऊ हामी आशाहरूलाई जीवन्तता दिऔँ ।
आशाहरू
अरबको शहरबाट गुन्जने आशाहरू
मलेशियाको बजारबाट सुनिने आशाहरू
कोलाराडोको शहरमा गुड्ने आशाहरू
ओसाकाको शहरमा दौडिएका बाचाहरू
तराईका आशाहरू
क्यापभित्र रहेका आशाहरू
चुरे भावरका आशाहरू
आऔ होष्टेमा हैँसे गरौ
अनि आशाहरू करोडौ हाँसो र खुशीले सिन्चित भएर
एउटा सन्दुक राई जन्माउनेछ
अनि यी आशाहरू करोडौ विचार र भावनाले प्रेरित भएर
एउटा व्याकुल माइला जन्माउनेछ
अनि यी आशाहरू करोडौ मिहिनेती औँलाबाट सजिएर
दुनियाको अगाडि सबैभन्दा समुन्नत र आदर्श
एउटा हरियो पासपोर्ट जन्माउने छ
आऔ यी आशाहरूलाई जीवन्तता दिऔँ,
मरेर मारेर हैन मिलेर
बोलेर मात्र हैन गरेर
सिकेर सिकाएर
म बाट हामी बनेर
पहारिला तोरीबारीमा फुलेका यी आशाहरू
यी विश्वासहरूलाई
चुँडेर टुटाएर हैन
जोगाएर र सिन्चित गरेर
नव नेपालको सिर्जना गरौ ।
चण्डी सुवेदी
जापान
