अरूले देख्दा,
निरुद्देश्य एउटा पथिक
अविराम यात्रामा, कस्तो आश्चर्य ?
न त गन्तव्यको किटान
न त बिसौनीको ठेगान
परन्तु अविच्छिन्न यात्रा
थकान छ तर अव्यक्त
लालसा पनि छ तर अमूर्त
भोक, प्यास सबै छ तर निराकार
सायद दुनियाँसँग विरक्तिएको छ ऊ
कुनै वेदना पोख्नु छैन उसलाई
न त कुनै सम्झना छाड्नु छ
उकालाहरू अनगिन्ती छन् तर आतस छैन
भीरपाखा यत्रतत्र छन्, जताततै लम्पसार
तथापि, हडबढी छैन, न त कुनै छटपटी नै
आफ्नै चालमा अनि आफ्नै ढंगमा
आफ्नै गति र आफ्नै रंगमा
निरन्तर यात्रारत छ एउटा पथिक
कति दृढ छ ऊ देखिँदा
कति अविचलित छ हेरिँदा
सायद, उसैले बुझेको हुनुपर्छ र देखेको पनि
आखिर, उसको अन्तिम टुंगो
त्यही जाबो मृत्यु न हो !

नेपाल साप्ताहिक ४९३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *