मलाई भक्ति थापाको, वीरगाथा बताइदेऊ
ख्वै असरसिंह कहाँ छन्, बलभद्र सुझाइदेऊ
कहाँ छौ राष्ट्रका खम्बा, खोइ मलाई बताइदेऊ
मलाई नातिले सोध्यो, तिमी उत्तर आज देऊ ।
काँगडामा तिमी खोज, टिष्टा कराउँछिन् उस्तै
सरेन लहु पुर्खाको, थोरै नै हामीमा कतै
गर्यो हिमालमा गर्व, खोलानाला नदीतिर
पौरखी हातका गर्व, मिल्कायौँ पूर्वजैतिर ।
के फलाकौँ यहाँ देश, बन्धकीमा फसिसक्यो
हाम्रा निर्णय खोइ भन्दा, अर्काले नै गरिसक्यो
तिमी देख्छौ भने देश, एउटै कामना गर
‘फुट’को शब्द मेटेर, शब्दकोश खडा गर ।
मलाई नातिले सोध्यो, देश के हो बताइदेऊ
मलाई नातिले सोध्यो, राष्ट्र के हो बताइदेऊ
मलाई नातिले सोध्यो, देशभक्ति बताइदेऊ
मलाई नातिले सोध्यो, देशप्रेम बताइदेऊ ।
सम्झौता भन्छ नातिले के हो के हो म जान्दिनँ
सहमतिहरू भन्छ ती पनि, म त जान्दिनँ
हुन्छन् पक्का सबै हिजो, आज नै तोडिने किन ?
मलाई नातिले सोध्यो, लोकतन्त्र बताउन ।
पुराना शब्दका अर्थ, नयाँमा भेटिएन कि ?
नयाँ नैतिकता अहिले, पुरानोमा मिलेन कि ?
हामीले के भुलेका छौँ, खोज्ने फुर्सदमा छ को ?
मलाई नातिले सोध्यो, गल्ती सच्याउँदै छ को ?
नेपाल साप्ताहिक ४९२
