भन्नेहरू भन्ने गर्थे नेपाललाई नयाँ बनाउनुपर्छ
पुराना थोत्रा संरचना फालेर नयाँ बनाउनुपर्छ ।
माता, पिता, गुरुलाई देवता मान्ने
युगौँदेखिको हाम्रो चिनारी सभ्यता गएछ
ऋषिमुनिहरूको तपोभूमि रणभूमिमा परिणत भएछ
भन्नेहरूले भनेझैँ नेपाल नयाँ भएछ ।
निर्धालाई सघाउने पशुपतिका भक्तहरू
निर्वलको मिची खाने पशुमतिमा गएछ
वीर बलभद्र र अमर सिंहका सन्तानहरू
लेन्डुप दोर्जेको बाटो हिँड्ने भएछ
नेपाल नयाँ भएछ । साँच्चै नै नेपाल नयाँ भएछ ।
पुर्खाद्वारा एकीकृत अविभाज्य नेपाललाई
जातीय राज्यमा टुक्र्याउने योजना भएछ ।
संसारकै विशिष्ट पोसाक दौरा-सुरुवालको पालो गएछ
ठूला मान्छेका लागि हाम्रो राष्ट्रिय पोसाक त टाई-सुट पो भएछ
नेपाल नयाँ भएछ ।
राष्ट्रको सम्पूर्ण जिम्मेवारी बोकेका मन्त्री नै
राष्ट्र टुक्र्याउँछु भन्ने अराष्ट्रिय भएछन्
नेपाल नयाँ भएछ ।
राष्ट्र, राष्ट्रियता आफ्नो परवाह नराख्ने नेपालीहरूको राष्ट्रियता संकुचन भएछ
सिमाना मिच्नेहरूले मिचेको टुलुटुलु हेरी बस्न सक्ने क्षमतावान् भएछ
ऐन-कानुन र नियम परिपालन गर्ने वैशिष्ट्य नेपालीपन धराशयी भएछ
गणतन्त्रमा कानुनी राज्य हुन्छ भन्ने कुरा एकादेशको कथा भएछ
मलाई पत्यारै थिएन नेपाल नयाँ भएछ
भन्नेहरूले भनेझैँ नेपाल साँच्चै नै नयाँ भएछ
नेपाल नयाँ भएछ ।
नेपाल साप्ताहिक ४९०