रक्सौल जंक्सनबाट पश्चिम जाने रेलले कता पुर्याउँछ, थाहा थिएन । पूर्वतिर बढेको लाइनले भने बाल्यकालभरि मलाई मेरो मामाघर ओसारेको छ । बैरगनियाँमा ओर्लेपछि सिमाना नाघ्दै गौर र त्यहाँबाट अझ भित्र पुरेनवा । त्यसताका बाटो नभएकैले बाँकी नेपालसँग अलग्गिएको त्यो निक्खर देहात ।
‘कुहुँहुँ …’
कोइलाबाट चल्ने रेलको आवाजै बेग्लै । ध्वाँसो पोतिएको डरलाग्दो इन्जिन, आँखा मात्र देखिने गरी टाउको छोपेका चालक दल र एकनास पछ्याइरहेका लस्करै डब्बा ।
यो बाटो अर्कै मुलुकमा पर्छ भन्ने उतिबेला न हामीलाई थाहा थियो, न कुनै मतलब । १६ वर्षकै उमेरमा रेल चढेर वीरगन्ज घर भित्रिएको प्रसंग आमाले सुनाउनुहुँदा हामी धेरैपटक रमाएका छौँ । बाल्यकालमा अरू केटाकेटीजस्तै मलाई पनि संसारका सबै बाटाहरू एकै खालका लाग्थे भने मामाघर जाने बाटोचाहिँ बेग्लै । मानौँ पाइलैपिच्छे फूल ओछ्याइएको छ । जबकि, यथार्थ उल्टो थियो । वीरगन्ज घरमा थापेको टीका र नयाँ लुगामा सजिएर हिँडेका हामी कहिलेकाहीँ मामाघर नपुग्दै भूतजस्ता बनिसकेका हुन्थ्यौँ ।
लोसे घोडाकै कारण कतिपटक टाँगाले रेलै छुटाइदिएको छ । त्यस्तो बेला स्टेसन पुग्नु ठीकअघि क्रसिङ्को बत्तीसहित ढाटहरू ढल्कन थाल्थे । यसरी सिंगो रक्सौल-वीरगन्ज मार्ग अवरुद्ध भएपछि हामीलाई तान्दै ल्याएको मरयिल घोडा बाटैमा उग्राउन थाल्थ्यो । यता आफू चढ्नुपर्ने रेल अगाडिबाटै गुजि्रँदा बुबाआमाबीच तनाव सुरु भइसक्थ्यो । हामी भने कोइलाको कालो मुस्लो ओकल्दै सुस्तरी बढेको त्यस रेलका झ्याल-झ्याल हेरेर रमाइरहेका हुन्थ्यौँ, सिनेमाका पर्दामा फेरिरहने दृश्यजस्तै । कतै घुम्टो ओढेकी बेहुली र पगडीमा सजिएका बेहुला । झ्यालबाटै सुसु गरिरहेका केटाकेटी । प्यासेजमा खसी, बाख्रा वा पाडो समातेर उभिएका ग्रामीण । कालो कोटधारी टिकट जाँचकी (टीटी)सँग गलफत्ती गरिरहेका यात्री । पान-सिगरेटदेखि मुम्फली-चना जोरगरमसम्म बेच्नेहरूका घाँटीघाँटीमा झुन्डिएका बेग्लाबेग्लै दोकान … ।
रेल छुट्नुको अर्थ हुन्थ्यो, केही घन्टा स्टेसनमै थन्किनु र उज्यालोमा बैरगनियाँ पुग्ने सम्भावना समाप्त हुनु । यात्रीहरूले लामो समय बिरक्तिनु नपरोस् भनेर उतिबेला यस्ता रेलवे स्टेसन छेवैमा सिनेमा हल बनाउने चलन थियो । जस्तो ः रक्सौलको कृष्णा टाकिज । मैले पटकपटक शोले हेर्न पाउनुमा मुख्य योगदान यसै गरी छुटेका रेलहरूको छ । त्यो फिल्म त्यहाँ महिनौँ हो कि वर्षौं चलेको थियो ।
यस बाटोमा व्यापक प्रयोग हुने एउटा शब्द थियो, ‘बिलाउ टिकस’ । त्यो वास्तवमा के हो भनेर धेरैपछि थाहा पाउँदा हामी मरीमरी हाँसेका थियौँ । ‘विदाउट टिकट’, अंग्रेजहरूले बनाएको रेलवेमा अरू पनि थुप्रै यस्ता अंग्रेजी शब्द प्रयोगमा आएका थिए । यी शब्दको उच्चारण नजाने पनि त्यसको अर्थ भने चम्पारणका गाउँलेहरूले घोकिसकेका हुन्थे । ‘इमर्जेन्सी’ बाट ‘मर्जिन्सी’, ‘स्टेसन’बाट ‘टिसन’ र ‘प्यासेन्जर’बाट ‘पसिन्जर’ ।
‘बिलाउ टिकस’ले चाहिँ असाध्यै हैरान खेलाउँथे । टीटी र उनीहरूबीच मुसा-बिरालोको खेल यात्राभरि चलिरहन्थ्यो । यस्ता रेलहरूमा डिब्बैपिच्छे राखिएको जन्जिरलाई आपत्कालमा मात्र तान्नु भनेर सूचनै टाँसिएको हुन्थ्यो । जथाभावी जन्जिर तानेर रेल रोकेमा कैद सजाय हुने पनि त्यहाँ लेखिएका हुन्थे । ‘बिलाउ टिकस’लाई यसको के मतलब ! स्टेसनमै झरे टिकट जाँचमा परिने हुनाले उनीहरू गाउँ नपुग्दै जन्जिर तानिदिन्थे । त्यसपछि रेल यसरी सुस्ताउँथ्यो मानौँ अचानक इन्जिनसँगको सम्पर्क चुँडिएको छ । लगत्तै डब्बा-डब्बाबाट फुत्तफुत्त झर्दै खेतैखेत कुद्नेहरूको हूलै देखिन्थ्यो । उनीहरूलाई टीटी र भरुवा बन्दुक बोकेका गार्डहरू परैसम्म खेद्थे । तर, पक्राउ परेको कहिल्यै देखिएन । यसको पनि कारण थियो । अभ्यस्त गाउँलेहरू रेलको गति धिमा हुनेबित्तिकै हाम्फालेर कुदिहाल्थे । गार्डहरूलाई हाम्फाल्नचाहिँ रेलै रोकिनुपर्थ्यो । थाकेर लखतरान भएपछि जब गार्डहरू खैनी मल्दै र्फकन्थे, बल्ल रेल गुड्न थाल्थ्यो । कोइलाबाट सुस्तरी चल्ने भएकाले ती रेलले फेरि स्वाभाविक गति समात्न कहिलेकाहीँ आधा घन्टै लाग्थ्यो । दिउँसोको यात्रा हो भने त केहीछिनको झिँझो मात्र हुन्थ्यो । डाँकाहरूको बिगबिगी रहेको त्यस समयमा राती जन्जिर खिचिएको छ भनेचाहिँ सबैको सातोपुत्लो उड्थ्यो । हामीलाई बोल्न नदिएर आमाले ढपक्क ढाकिदिनुहुन्थ्यो । बुबाको पनि ओठमुख सुक्न थाल्थ्यो । तै, हामीले रेलमा यात्रा गर्दा कहिल्यै डकैती बेहोर्नुपरेन ।
मध्यरातमा बैरगनियाँ पुगेपछि अर्को समस्या सुरु हुन्थ्यो । अरू बेला हामीजस्ता ‘गोरा’ ग्राहक पाउन लुछाचुँडी गर्ने टाँगावालहरू त्यो सुनसानमा फेला पार्नै गाह्रो । झमझम पानी परेको छ भने अर्को तमासा । बाटोमा पौडी खेल्नुपर्लाजस्तो पानी जमेका हुन्थे । लज त परको कुरा, रेलवे स्टेसनको भुइँमै नसुते वास माग्ने ठाउँ कतै पाइन्थेन । बल्लतल्ल फेला पारेको टाँगाले लाल्टिनको भरमा अन्धकार चिर्दै कोसौँ टाढा पुर्याइदिँदा पनि हाम्रो समस्या समाधान हुन्थेन । मामाघर किनारैबाट बग्ने बरेवा नदी अर्को आतंक थियो । वर्षामा दुईतिरको वाग्मती र बखियासँगै यसको पनि पानी अचाक्ली बढ्थ्यो । र, पुलको मक्किएका काठहरूले बर्सेनि धर्म छाडिदिन्थे । यस्तोमा नदीपारि राखिएका डुंगा खियाइदिने कोही हुन्थेन । मध्यरातमा भएभरका सबै मामाको नाम पालैपालो लिएर हामी सपरिवार चिच्याउँथ्यौँ । जवाफमा एउटा कुकुर भुक्न थाल्थ्यो, बानी अनुसारै त्यसलाई अर्कोले पछ्याउँथ्यो र एकैछिनमा गाउँका समस्त कुकुर बेग्लाबेग्लै लय हालेर एकसाथ भुकेको सुनिन थाल्थ्यो । यसरी मस्त निन्द्रामा सुतेको गाउँ जति चाँडो खलबलियो, उत्तिकै छिटो हाम्रो उद्धार हुन्थ्यो ।
सुरुमै रक्सौलमा रेल छुटेको छैन भनेचाहिँ यत्तिको सास्ती हुन्थेन । बरू, कतिपय मानेमा यो यात्रा रमाइलो बन्ने गर्थ्यो । मिटरगेज वा छोटी लाइन भनिने त्यतिबेलाको रेलवे यात्रामा मैले जीवनका जति विविधता र रंग देखेको छु, अचेलको ‘मेसिनी’ लाग्ने भव्य ब्रोडगेजमा ठ्याम्मै पाइँदैन । डिजेल इन्जिनको बेस्वाद आवाज र धातुले बनेका प्राणहीन डब्बाहरू ।
म छक्क पर्छु, कहाँ गए होलान् ती रेलवे स्टेसनमा जताततै भेटिने गीति किताबका बिक्रेताहरू ? किशोरकुमारका गीतको पुस्तक बोकेको छ भने उसले एकोहोरो किशोरकै गीत गाइरहेको हुन्थ्यो । रफीको छ भने रफीकै मात्र । यी प्रायः गायकहरूका आँखा फुलो परेको वा डेढो किन हुन्थ्यो, मैले कहिल्यै बुझिनँ । सबैले अर्कैतिर हेरेर गाए पनि तिनको स्वर जादुमयी सुनिन्थ्यो । एकखालको स्थानीयता मिसिएको । उनीहरूले हातभरि किशोर के दर्द भरे नग में वा रफी के फनकारजस्ता शीर्षक राखिएका किताब बोकेका हुन्थे । सायद त्यस्ता भावपूर्ण गीतहरूको समयसँगै यी ‘नगमें’ र ‘फनकार’हरू लोप भएका होलान् ।
‘बाह्र मसाले, तेह्र स्वाद’ भनिने एउटा कालो लेमनचुस हुन्थ्यो । गुलियो, अमिलो, पिरो सबै लाग्ने खास्सा चट्किलो । आठ आनाको किन्यो भने दुवै मुट्ठी भरिने । त्यसबेला त्यस लेमनचुसले जति तीव्रता र छटपटी हामीमा जगाउँथ्यो, अचेल आयातित क्यान्डीमा त्यो रौनक भेटिन्न । यस्ता लेमनचुस र तिनका व्यापारी दुवै रेलवे स्टेसनहरूबाट गायब भएका छन् ।
सबैभन्दा गजब त ‘चाय गरम’ र ‘मुम्फली’ हुन्थे । स्टेसनैपिच्छे बेच्न ल्याउनेहरूले अनौठो सुनिने गरी आफ्ना सामानलाई बेग्लाबेग्लै उच्चारण गर्ने । कोही सुगाले जस्तो तीखो बोल्थे, कोही नाभिदेखि धोद्रो आवाज निकालेर । गजब त के भने, ती सबै सुरमा बोल्थे । कहिलेकाहीँ वीरगन्जमा झुक्किएर समात्ने चिनियाँ रेडियोको आवाजपछि हामीले उनीहरूकै स्वरमा रोचक अनुभूति भेट्थ्यौँ । त्यो अनौठो आवाजले थुप्रै जिज्ञासा पनि जन्माउँथ्यो । “यसले घरमा गएर छोराछोरीसँग पनि यस्तै आवाजमा कुरा गर्छ ?” हामी बुबाआमालाई सोध्थ्यौँ र नाकले त्यस्तै आवाज पनि निकालिदिन्थ्यौँ, ‘मुन्ने आज स्कुल क्योँ नहीँ गए ?’ जवाफमा बुबाआमासहित छेउछाउका सारा यात्रीको हाँसो छुट्थ्यो ।
मामाघर पुगेपछि टीका थापेर बुबा प्रायः भोलिपल्टै वीरगन्ज र्फकनुहुन्थ्यो । आमासँग उति नडराउने हाम्रोचाहिँ त्यसउपरान्त तिहारसम्मै गाउँमा एकछत्र राज्य चल्थ्यो ।
अचेल देहात पनि देहातजस्ता छैनन् । त्यसमाथि उतिबेलाको पुरेनवा । त्यो दूरदराज । जताततै घामले सल्केका मान्छे । उग्राइरहेका गाईबस्तु देख्दा तिनले पनि ‘बोर’ मानिरहेका होलान् जस्तो लाग्ने । खोइ के थियो त्यहाँ, जसले हामी सहरयिालाई दसैँको असली आनन्द दिलाउँथ्यो ?
बरेवा तरेपछि बस्ती सुरु नहुँदै एउटा महादेव मन्दिर आउँथ्यो । गाउँजत्तिकै पुरानो । त्यसै मन्दिरको महन्थ्याइँ पाएर मेरो मावल खलक केही पुस्तापहिले काठमाडौँबाट मधेस झरेका थिए । सुरुमा आतेजाते गर्थे भने केही दशकपछि स्थायी बसोबासै यतै सरेको थियो । दसौँवटा सानो-ठूलो परिवार मिलेर बनेको एउटा ठूलै संन्यासी टोल । दुवैतिर लहरै दुईतले घर । किनारमा बाक्लो अग्लो पर्खाल लगाएर ठ्याक्कै किल्लाजस्तो बनाइएको । त्यो टोल पुग्नु करबि पाँच मिनेट वरैदेखि रैथाने पाराको देहाती बस्ती सुरु हुन्थ्यो । माटो र गोबर बसाउने ।
रात परेपछि त्यो एकान्त मन्दिरमा गाउँका केटाकेटी त परै जाओस्, ठूलाबडा पनि एक्लै आउन मान्थेनन् । संन्यासीहरूलाई मृत्युपछि गाड्ने चलन छ । मेरो मावल खलकको अन्त्येष्टि त्यही मन्दिर वरपर गरिन्थ्यो । त्यहाँ जताततै देखिने ढिस्काहरू हाम्रा लागि त्रासका केन्द्र थिए । दिउँसोपख समउमेरका मामाहरूसँग खेल्दै पुगेका बेला उहाँहरूले नै ती ढिस्कामा समाधिस्थ दिवंगत आफन्तहरू चिनाइदिनुहुन्थ्यो । जवाफमा उठ्ने हाम्रो नमस्तेमा अभिवादनभन्दा पनि भयको मात्रा बढी हुन्थ्यो । मामाहरूसँग दिनभरि भँैसीमा चढेर बरालिँदा र नदीमा माछा मार्दा कम्ती मजा आउँथेन । हाम्रा उमेरका प्रायः केटाकेटी नांगै-भुतुंगै देख्दा सुरुमा अलिक अनौठो लाग्थ्यो । केही दिनपछि हामी पनि त्यो हूलमा मिसिसकेका हुन्थ्यौँ । यसरी ‘लंगटा’ भएर घुमेकै बेला हामीले ‘छेछरी काट्न’ पनि सिकेका थियौँ । शौच गरसिकेपछि भ्यागुतोजस्तो दुई हातले टेकेर घाँसमाथि घिसि्रँदै ‘सफा’ हुने लोकल काइदा ।
सबैभन्दा मजा त चोर्नुमा थियो । हामी आफूसरहका फुच्चे मामाहरूको हूलमा हुन्थ्यौँ । कुन गाउँलेको कुन बारीमा मेवा, अम्बा, गाँजर, काँक्रो इत्यादि छन्, उहाँहरूलाई त्यसको एक-एक फेहरिस्त थाहा हुन्थ्यो । भान्जाभान्जी देखाइदिनेबित्तिकै खेतधनीबाट तत्काल उन्मुक्ति मिल्ने भएकाले अरू बेलाजस्तो उहाँहरूले पनि धक मान्नुपर्थेन ।
दाजुभाइको जमातै हरेक बिहान खाना खाएपछि सुरुवाल-कमिज, ज्वारी कोट, भादगाउँले टोपी र छाता लिएर गौर लाग्नुहुन्थ्यो । दिनभरि उतै बसेर साँझ पर्ने बेला बरेवा तर्नुहुन्थ्यो । गाउँमा नातिनातिना आएका छन् भने र्फकने बेलामा प्रत्येक हजुरबुबाको पाकेट मिठाई, बिस्कुट र लेमनचुसले भरिएका हुन्थे । त्यसलाई समयमै हात पार्न हामी दिन ढल्नुअगावैदेखि नदी किनार गएर बसिहाल्थ्यौँ । त्यहाँदेखि मामाघरसम्मै हजुरबुबाको छाता बोक्नेहरूको बुई चढेर फर्किथ्यौँ ।
गाउँमा सबैभन्दा ठूलो हल्लीखल्ली दसैँदेखि तिहारको बीचमा हुन्थ्यो, जतिबेला त्यस किल्लारूपी बस्तीको माझैमा जुवाको अखडा जम्थ्यो । बैरगनियाँदेखि मगाइएका विशाल पन्डालहरू लगाइन्थे । उतैबाट आएका उज्याला पेट्रोमेक्सहरूले अहोरात्र झकमक तुल्याउँथे । जताततै जमेको जुवाका खालमा मामाहरू, हजुरबुबाहरू, वरपर गाउँका मुखिया र साहूजीहरू बसेका हुन्थे । यी खालमा चकलेट र बिस्कुटका पोकाहरू पनि दाउ लगाइन्थे । कौडा खेलाडीले ‘चौका’ भन्दै हातले भ्याएसम्मका पैसा र मालसामान सोहोरेको दृश्य लोभलाग्दो देखिन्थ्यो । यस्तो बेला मावलका केटाकेटीहरूको अवस्था धानको भकारीवरपर दगुरिरहेका मुसाजस्तै हुन्थ्यो । भन्नैपर्दैन, एउटी मात्र छोरीका सन्तान भएकाले ती मुसा गतिविधिका नायक र केही परअिाए रक्षक हामी नै हुन्थ्यौँ । खालमा जतिपटक दाउ लाग्छ, उतिपटक नै देउसी भट्याइहाल्नुमा हाम्रो कुनै गल्ती पनि त थिएन । उताबाट जसै ‘चौका’ आवाज आउँथ्यो, यताबाट दोबि्रएको घुँडामै उफ्रिँदै र चोर औँला उचाल्दै, ‘भन भन भाइ हो…!’
सञ्चारको कुनै माध्यम नभएका बेला छेउको निक्खर देहातमा यसरी अचानक पैसाको चरम गतिविधि बढेको सूचना कसरी फैलन्थ्यो र त्यसलाई पछ्याउँदै गौर-बैरगनियाँदेखि घाँटीमा पान, बेलुन र हावा मिठाईका पसल झुन्ड्याएकाहरू कसरी आइपुग्थे, हामीले कहिल्यै थाहा पाएनौँ । जेहोस्, जुवा अखडा जमुन्जेल गाउँ चौबीसै घन्टा गुल्जार रहन्थ्यो ।
गुल्जार त नाटकले पनि कम्ता गराउँथेन । मेरो माइलो मामा सुभाष यस मामलामा गाउँकै अगुवा हुनुहुन्थ्यो । सन्तोषी युवा क्लबका अध्यक्ष । क्लबमा गाउँभरकिा सक्रिय युवाहरूको उपस्थिति थियो । उहाँहरूको मुख्य गतिविधि नै दसैँका बेला गाउँमा नाटक आयोजना गर्नु हुन्थ्यो । देहातको नाटक हामीले काठमाडौँमा हेर्ने गुरुकुलका नाटकसँग कतै तुलना हुँदैन । धार्मिक घटना र तत्काल चलिरहेका सुपरहिट सिनेमाका दृश्यहरू नै ती नाटकका मुख्य स्रोत हुन्थे ।
नाटक देखाउन सुखाडी मामाको घर छेउबाटै गुज्रने पयँडा (बाटो) जति उपयुक्त स्थान अन्त कतै थिएन । घरैमा अडेस लगाएर खाट ओछ्याइन्थे र साडीहरूले बेरेर रंगीचंगी मञ्च तयार हुन्थ्यो । हाम्रा कुन कुन माइजूका साडी कहाँ कहाँ प्रयोग भएका छन् भनेर चिन्न सक्नुमा पनि एउटा बेग्लै रमाइलो लुकेको हुन्थ्यो । रातको खानालगत्तै गाउँलेहरू त्यस मञ्चअघिल्तिर ओइरनि थाल्थे । त्यसभन्दा पहिल्यै मञ्चको ठीक सामुन्ने हाम्रा निम्ति ठाउँ छेकेर समउमेरका मामाहरूको दौडादौड सुरु भइसक्थ्यो । यता दूध पिउन नलगाई जान नदिनू भन्ने हजुरबुबाको उर्दीले हामी छेकिएका हुन्थ्यौँ ।
ती नाटकका केही घटना म आज पनि सम्झन्छु । एउटा त किशोरी ठाकुर मामासँग जोडिएको छ, जो अहिले जावलाखेलतिर सैलुन चलाएर बस्नुभएको छ । नाटकको सुरुवातमा सन्तोषी माताको फोटोअगाडि धूप नचाउँदै ‘जय जय सन्तोषी माता जय जय माँ’ भनेर गाउनुपर्ने थियो । त्यसका निम्ति किशोरी मामालाई स्त्री वेशमा तयार पारिएको थियो । पर्दा खुल्नेबित्तिकै किशोरी मामाको आराधना सुरु हुनुपर्ने । तर, पर्दा खुलेको केही बेरसम्म मामा गायब । निर्देशक सुभाष मामा हतासिएर यताउता खोज्न थाल्नुभयो । हाम्रो ‘बाल दल’ पनि उहाँलाई सघाउन कस्सियो । किशोरी मामा त मञ्चकै छेउमा घुम्टो ओढेर गाँजा तानिरहनुभएको रहेछ । सुभाष मामाले हाम्रै सामुन्ने ‘साले’ भन्दै तानेर एक लात हिर्काउनुभयो । लातकै प्रभावले किशोरी मामा ठेलिएर मञ्चको बीचमा पुग्नुभयो र त्यहाँ टाँगिएको सन्तोषीको तस्बिरअगाडि धूप हल्लाउन थाल्नुभयो ।
“साले ! भजन पनि गा,” यताबाट सुभाष मामा कड्किनुभयो । किशोरी मामाले ‘जय जय सन्तोषी माता’ भन्दै के मुख खोल्नुभएको थियो, अघि तानेको गाँजाको धूवाँ पुरपुर गर्दै आवाजकै गतिमा निस्कन थाल्यो । पलेटी कसेर बसेका दर्शकमा एकछिनसम्मै हाँसोको पर्रा छुट्यो । अलमलकै बीच सुभाष मामा पनि गाउँलेहरूतिर हेरेर मुस्कुराएपछि किशोरी मामाको गतिविधि सदर भएको मानियो । सन्तोषी माताको त्यो लीलाभन्दा किशोरी मामाको मुखबाट निस्केको धूवाँले केही दिनसम्मै गाउँमा चर्चा पाएको थियो ।
किशोरी मामाको दुःख अरुण मामाका सामुन्ने त झन् केही होइन । एक सालको दसैँमा नाटकको नाम थियो, ‘डाँकू गब्बरसिंह’ । हामी सबै मञ्चअगाडिकै लहरमा लस्करै बसेका थियौँ । आमापछिको भाइ जीवन मामाले गब्बर सिंहको रोल पाउनुभएको थियो । नाटकमा गब्बरले सोध्छ, “तेरा क्या होगा कालिया ?” लुरुक्क पर्दै बिचरा अरुण मामाले भन्नुभयो, “सरदार, मैं आपका निमक खाया हुँ ।” जीवन मामाले आवेशमा आएर हातको पेस्तोल नचाउँदै ठीक सामुन्ने तेस्र्याउनुभयो र कड्किएर भन्नुभयो, “तो अब गोली खा, स्साले… ।”
ड्यांग पड्कियो । सुभाष मामाको निर्देशन अनुसार अरुण मामा गोलीले ठहरै भएर ठाउँको ठाउँ लड्नुपर्ने थियो । तर, भइदियो अर्कै । अरुण मामा त कन्चट समात्दै बुरुकबुरुक उप|mन थाल्नुभयो, “साला डिल्ली के बेटा साँचु के गोली मार देलौ ।” गाउँमा अरुण मामाको प्रभाव पनि कम्ती थिएन । भागदौडै मच्चियो ।
भएछ के भने, रहिर्सल गर्दा प्याटप्याटे पिस्तोल राखिएको थियो । त्यसबाट उति राम्रो आवाज निस्केन भन्दै बारुदै ठुँसेर पड्काउने पेस्तोल त्यसै साँझ बैरगनियाँबाट मगाइएछ । खेलौना पेस्तोल भए पनि कागजमा लटपटाएर ठुँसिएको बारुद अरुण मामाको कन्चेटै डढ्ने गरेर पड्किएको थियो । त्यसपछि केही दिन नाटक मात्र रोकिएन, तनावै फैलियो । तर, गाउँका यस्ता नरमगरम लफडा कहिले पो मिल्दैनन् र ?
यसरी एक सुरले बढेका हाम्रा बाल्यकालीन दसैँहरूमा अचानक एक दिन ‘ब्रेक’ लाग्यो । यस्ता नाटकका सर्जक मेरो सुभाष मामा अचानक बिरामी पर्नुभयो । कानको रोगी उहाँले गाउँवरपरकै कुनै खैराँती चिकित्सकको उपचार पाउनुभएछ । भनिन्छ, त्यस खैराँतीले उहाँको कानमा तेजाब हालिदिएको थियो । हामीलाई जीवनमै सबैभन्दा बढी माया गर्ने ती मामा गाउँमै बित्नुभयो ।
त्यतिन्जेल गौरबाट चन्द्रनिगाहपुर आउने कच्ची मोटरबाटो खुलिसकेको थियो । युवा अवस्थाको छोरा गुमाएपछि हजुरबुबालाई त्यस गाउँमा बस्न मन लागेन र मेरो मावल सपरिवार पुरेनवाबाट सरेर चन्द्रनिगाहपुर आइपुग्यो ।
त्यसको निकैपछि एकपटक म पुरेनवा पुगेको थिएँ । गाउँलेहरू त्यतिबेला पनि सम्झिरहेका थिए, “सुभाषसँगै यो गाउँको बत्ती निभ्यो ।” अहिले गौर नगरपालिकाभित्र गाभिएको पुरेनवा पहिलेभन्दा गुलजार छ भन्छन् । तर, त्यो एउटा सर्जकसँगै निभेको बत्तीलाई बिजुली बत्तीले के क्षतिपूर्ति गर्थ्यो … ।
सुभाष मामासँगै देहातको मावलस्थित हाम्रो दसैँ मात्र अन्त्य भएन, यतिबेला रक्सौल बैरगनियाँको त्यो जीवन्त रेलवेलाई नै उखेलेर ब्रोडगेज ओछ्याउन थालिएको छ । रक्सौलबाट पूर्वतर्फ अचेल रेल चल्दैन । मिटरगेज त झन् अब कहिल्यै चल्नेछैन… ।
नेपाल साप्ताहिक
अंक: ५१८
२०६९ कार्तिक ५
Oct 21, 2012
