प्रश्नचिन्हको सगरमाथा

  • by


महाशय !
तिम्रो पीपलपाते बोली
अनि, मखुन्डोले छोपेको अनुहार
षड्यन्त्र र कुटिल चालमा बेरिएका
समयलाई बन्दी बनाउने ढर्रा
ब्ाोलीमा फैलिएको आदर्श
र, व्यवहारमा देखिएको उत्ताउलोपन
शक्तिमा टाँसिइरहने कुत्सित स्खलित छवि
जताततै छताछुल्ल पोखिएको छ ।

महाशय !
तिमीले दिएका मीठा आश्वासनका
चाङ अझै ठडिएकै छन्
देश र जनताका नाममा पोखिएका
रगत अझै लतपत छ यत्रतत्र
युगौँदेखि पीडाले बनाएका नीला घाउ-डामहरू
अझै छातीमा, पिठ्यूँमा ताजै छन्
भोक, रोग र शोकले थलिएका अनुहार फैलिएकै छन् ।

तर, तिमीसँग त अब सबै कुरा छ
विलासी गाडी, घर, नगद, आरामदायी संसार…
घेरैघेराको सुरक्षा… अनि राज्यको ढुकुटी
तिमीले काम गर या नगर…
संविधान बनाऊ या नबनाऊ
देश र समयलाई बन्दी बनाएर
युगौँपछाडि पार या मनोगत इच्छामा जे गर
आफँै नियम बनाऊ र जनताका सपना च्यातचुत पार
तिमीलाई सबै सबै नै छुट छ
किनभने, तिमी मान्छेबाट भगवान्मा रूपान्तरण भएका छौ ।

महाशय !
जात, भात र उचनीचको भड्खालोमा उक्साएर
भूगोलका धर्साहरू केरमेट गरेर
सद्भावनाको पवित्र बन्धन भत्काएर
जातीयताको टायर सडकमा बालेर
बस्तीमा आगो सल्काउँदै
जनताको मुक्तिको बहानामा !
या आफ्नै अहंकारको माखेसाङ्लोमा बेरिँदै
उज्यालो गन्तव्यको बाटो भत्काएर
देशलाई अँध्यारो सुरूङतिर डोर्‍याउने
के तिमी बौलाएका छौ ?
या सत्ता र शक्तिको तातो उन्मादले
विवेकका तन्तुहरूले काम गर्न छोडेका छन् ?

महाशय !
तिम्रो स्वार्थको दुन्दुभी
कुत्सित मनशाय, माकुरेजालको पर्दाफास भइसक्यो ।

महाशय !
अब यत्ति मात्र भनिदेऊ
तिमीले खोजेको यात्रा/पुग्ने गन्तव्य
अँध्यारो सुरूङतिर हो कि ? उज्यालो गन्तव्यतिर हो ?
सोमालिया, रुवान्डाझैँ आगो सल्काउन खोजेको हो कि ?
सुन्दर, शान्त विकसित संघीय नेपालको तस्बिर बनाउन हो ?
प्रश्नचिन्हको सगरमाथा ठडिएको छ ।

नेपाल साप्ताहिक ४९९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *