“हो नि सर्कार लाग्यो !”
मैले केटाकेटी छँदैदेखि यो कुरो सुनेको थिएँ । सुन्दाको उमेर सानो थियो । बुझिने कालबेला थिएन । गाउँमा मान्छेका मुख-मुखमा झुन्डिएका यी कुरा सुन्दा सबैका आत्तिएका, अत्तालिएका र आँखीभौँ तन्किएका देखिन्थे अचाक्ली ।
समयका सिउर राताम्मिएपछि परविर्तनको रङ जताततै पोतियो ।
अछूतो को हुन्थ्यो र? मलाई पनि यो रङले छोयो । मज्जैले छोइएँ म । मेरा वरपरका परिवेश रूपान्तरणको भेलमा पस्न पुग्यौँ स्वात्तै । अब भेल-बाढीले कुनै साँध तोकेको नछुने । सीमा निर्माण भएन । अनि, सुनेका कुराहरूले अर्थ सुझाए । पर्दा खुल्दै-खुल्दै गइरहेछ । आजसम्म कुराकानीका पत्र खुलिरहेछन् निरन्तर ।
सहरको संसारभन्दा गाउँको दुनियाँ बढी उदात्त छ हिजोआज । बाख्रापालनदेखि आलु बेचबाचसम्म, दूध खरदिदेखि रूख कटानसम्म, तरकारी किन्नेदेखि कुखुरा साट्नसम्म समूहको बोलबाला छ । तर, तिनको चेतनामा बसिरहेको एउटै कुरो छ, “सर्कार लाग्यो !”
व्यक्ति र सरकार दुई धार हुन् । समाजशास्त्रीय हेराइमा सरकार भन्नु व्यक्तिको रेखदेख र स्याहारसुसारमा जुटेको शासन हो, पद्धति हो र व्यवस्था हो । यसले जोडेर लैजान्छ सबैलाई । सधैँ राखिएको र चाहना गरएिको दर्शन हो यो ।
अहँ, यो कुरा कहाँ मिल्नू ! अविश्वास र आस्थाहीन भएर समाजका हरेक तहमा यो प्राचीन मर्मप्रति आगो ओकल्नेहरू कति छन् कति ! मनग्गे भेटिन्छन् त्यस्ता असन्तुष्टि सुसेलाहरू । प्रशस्तै सुन्न पाइन्छन्, त्यस्ता खिन्न खुइय्याहरू । जताततै देख्न सकिन्छ, त्यस्ता अमान्य गतिविधिहरू ।
कहिल्यै बत्ती नबल्ने ठाउँमा विद्युत्को पोल गाडिएछ गाउँमा । वर्षौँसम्म लत्रिएको तार तर बिजुली नबलेको देख्दा निकै खिन्न भएँ म, पूर्वको सेपिलो गाउँ पस्दा ।
“कसको पुरुषार्थ नि बत्ती नबल्नुमा?”
“सर्कार लाग्यो !”
मैले उत्तर पाएथेँ ।
सरकार लाग्नुको अर्थ मेरा निम्ति व्यापक र विशिष्ट प्रकारको छ नै । अझ मानक कुरा हो, देशले आवश्यक ठानेमा व्यक्ति वा समाजका जुनै वस्तु, सामग्री वा चीजमा आफ्नो आधिपत्य राख्ने हैसियत प्रस्तुत गर्छ । सोझो र सामान्य तर्क यही छ मेरो ।
“सर्कार लाग्यो !” यस भनाइमा सरकारको शक्तिशाली र अहं अनुहार अनुभूत हुनुपर्ने । तर, भइरहेको छैन । ठीक उल्टो चरत्रि र बानीबेहोराले मारमुंग्री खेपिरहेका छौँ हामी । मुलुकले गर्ने माया त कता हो कता, कुइराको कागजस्तो चालामाला ।
सुन्दरीजलको माथ्लो पाखाका वीरबहादुर लामाको गुनासो छ, “बारीमा पसेर दुम्सीले मकै सखाप पार्छ । भालुले क्यै तरकारी फल्न दिँदैन । त्यसैलाई तह लगाउन बाजेले किनेको टोटामाथि सर्कार लाग्यो ।”
लामाको कुरो सम्झिरहेको छु म, “टोटा लागेपछि मैले बाली रुङ्न पाइनँ । रोपेर मात्र के गर्नु, खानेबेलामा आफूचैँ भोकै । थुप्रै वर्षदेखि मेरो बारी छ बाँझै । सर्कार लागेपछि कसैको दैया नचल्ने !” मलाई एउटा कुराले हमेसा घोचिरहन्छ, सरकार भनेको देश हुनुपर्ने होइन र? तर, हाम्रा अनेक काम गराइमा रित्तो अर्थ र शून्य शब्दको थमौती भइरहेको लाग्छ ।
मान्छेले हारेको र शासनको विजय भइरहने हो भने, त्यस समाजको संस्कृति स्वनामधन्य मान्न सक्तिनँ म । व्यवस्थाका पछिल्तिर हाम्रा सपना र प्रतीक्ष्ाा उपेक्ष्ाित हुन्छन् भने गौरव र अहंको चमक कुन गालामा सजाउनु नि !
“पुराना दिन गए, म्वाई खाने ठाउँमा झ्याउ पलाए,” आमाले हामी किशोरवयतिर उक्लँदा गाला छाम्दै भनेका कुरा सम्झन्छु । यी बोली शासन र नागरकिको लुकारमारीजस्तो ठानिरहेको छु म । देखिनु र फेरि छिनभरमै बेपत्तिनु, यी भिन्न खाले स्वभावका नागरकि र सत्ताको साइनो देखिन्छ ।
‘सर्कार लाग्यो !’ यी दुई शब्दले बोकेका व्यापक अर्थमा आजका हाम्रा तमाम निरीह, कृपण, असहज र कमजोर मनस्थितिमाथि लगातारको हमला भेटिन्छ । सधैँलाई पार पाउनु अलग कुरा हो तर घाइते पारेर छोडिने प्रचलनले हामी स्तब्ध छौँ, सन्तप्त छौँ र सिकिस्त छौँ ।
सल्लेरीको उकालीमा भेटिएका थिए कर्मा । तीसवटा खच्चड धपाएर आफूचाहिँ जब्बरे घोडामा थिए उनी । “अहिलेका बन्दुके १२ वर्षअघि त वनमा लुकीछिपी बस्थे र लाटलुट गरी भाटभुटसँग खान्थे । मेरा ५० खच्चडले चामल खेप्थे लुक्लामा । के गर्नु सर्कार लागि त हाल्यो !” म कर्माका कुरा सुनिरहेको छु । आरोपचाहिँ यस्तो थियो, “तिमेरु जंगलका बन्दुकेलाई पाल्नपोस्न खच्चड प्रयोग गर्छौ । मेरा २० खच्चडमाथि सर्कार लाग्यो ! तर, आजसम्म मैले भरताल पाइनँ !”
सरकार लाग्नु, अर्को अर्थमा सरकारले आफ्नो पक्षमा जनमत निर्माण गर्नु हो अथवा यस्तो पनि तर्क उभिन सक्छ, राष्ट्रले आफूलाई सर्वशक्तिमान बनाउनु हो ।
निश्चय पनि देशका पक्षमा हामी नमन गर्न चुक्दै चुक्दैनौँ । मेरा आँखा, कान, नसा र हरेक अंगमा राष्ट्रको कम्पन अनुगुञ्जित छ, अनुप्राणित छ र अन्योन्याश्रति छ । के देशको नेतृत्वले निर्मम बन्न मिल्छ ! थिचिएर हामी सधैँ बसिरहन सक्तैनौँ ।
भन्नेहरूले जुनै तर्क दिए पनि दबाउनेका पक्षमा हाम्रा दिनरात एक हुनै सकेनन् । थोरै साँझ र थोरै बिहानका टुक्राटुक्रीलाई उनीहरू आफ्नो समूहको भन्ठान्थे नै । तर, सबै नागरकिलाई थाहा थियो, दबिएको ज्यान कि भाँचिन्छ, कि त ठडिएर उठ्छ जुरुक्कै । धूलोपीठो हुँदैन कदापि । हजुरबाले भन्नुभएको कुरो सम्झिरहेको छु । “तेरी हजुरआमाले कानमा गहना झपक्कै लगाइछ । बेलुकातिर बजारबाट घर फिर्दा परगिो आपत् । छोप्न भुलियो, मजेत्रोले नौगेडी, लस्करी, तिलहरी, शिरफूलमा सर्कार लाग्यो !”
जनता धनी र सरकार गरबि, कुनै पनि हिसाबले पच्य र पाच्य कुरो भएन । पुरानो प्रचलनमा यसको व्याख्यान त सुहाउँदिलो थियो होला नै । तर, आजको विज्ञानसम्मत दुनियाँमा यतातिर अलिक भिन्न र बलशाली विवेचना भइरहेका छन् । अनि पो त्यसबेला गहनालाई कानबाट थुतिएको । नाकबाट धानबाले बुलाकी झिकिएको । जूनताराबुट्टे शिरफूल खोसिएको । हजुरबाको सन्तोष र असन्तोष यी दुई कुरामा सधैँ सुनिन्थ्यो ।
“सुनिस् केटा पुलिस भनेको शासन हो । त्यसले तेरी आमाको गहना लग्यो । सर्कार लाग्यो, यसमा मेरो गुनासोभन्दा धनी भए जनता भन्ने सन्तोष छ । तर, पछि बुझ्दा पुलिसले गहना आफ्नी स्वास्नीका पेवापात बनाएछ । त्यो घोर असन्तोषको पाटो पर्यो । सुत्केरीको निहुँ गरी टाउको मैले खाएँ भन्या यै हो । सर्कारको ओहोदा भजाएर पदासीन मान्छेले तर खानु हुन्न !”
तत्कालका लागि यी हलुका कुरा । एकछिन गम लगाएर सुनिरहँदा यी तथ्यभित्र छन्, तीखा र बलिया विचारहरू । सत्ताको संगठन र नागरकिको संख्यामा मेलमिलाप हुने कुरै भएन । जति धेरै छली काम, उत्ति धेरै पूर्ण आयु ।
हामी त शासनका भुक्तमान । खेपिरहनुपर्ने सधँै । वर्ष भयो, हप्ता खेपियो वा महिना गुजारयिो, शासनका लागि सुनाउन नमिल्दो रहेछ । सत्ताले कसरी सुन्ने नि?
केहीअघि आँधीखोला पुगेथेँ । एक जना किसानसँग मन खोलाखोल भयो । तिनले भनेका कुरालाई प्रायः ख्याल गर्छु । “मेरा जग्गामा सर्कार लाग्यो । बाटो बनाउन सबै धुइरे । पूर्व र पश्चिमतिर बाटो बनाउँदा मेरो घर बीचमै पर्यो । माझको घरलाई जहिल्यैको अत्यास ! भल कता कटाउनू? पश्चिम कटाए त्यतै जाने डर, पूर्व कटाए त्यतै भासिने डर ।”
समाधान त कहिले हुन्छ थाहा छैन, समस्याका पहाड छन् बेपत्तैले । सरकार वास्तवमै जनताको सेवक र मायालु भएर लागेको भए त हाम्रा अभावका छाल यसरी उर्ली-उर्ली बग्ने थिएनन् ।
भारी बोक्नेको कम्मर, काँध, निधार र पाखुराका छाला मरसिकेका हुँदा रै’छन् । तैपनि, शुभ र प्रिय बनाउने चाहना हुन्छ हत्केलाको चाहिँ । “जाँको छाला खुइले पनि हुन्छ, हातको चैँ नरमै होस् !” यसो भन्ने त्यो किशोरी केटीलाई प्रायः म चामलको बोरा बोकेर यताउता गरिरहेको देख्छु । जीवनको सुन्दरताको खोजी !
भेडेटारमुनि एउटी आइमाईको गुनासो यतिबेला मैले सम्झन पुगेँ । “तीन घन्टा लाएर पानी ल्याउनुपर्छ । पहिला त्यस्तो थिएन । कान्ला छेवैको सिमसार रसाएर पानी भुल्किन्थ्यो । सर्कार लाग्यो सिमसारमा । अहिले कालोपत्रे बाटो गयो, सिम छोपेर । पानी त रसाउनै छुटिगयो नि !” सामान्य र कुनै चर्चै नपाउने विषय हो यो ।
अहँ, मेरा लागि यो ठूलो पीडादायी कुरा पर्यो । पानी बोक्न बिहान र बेलुका समय खर्चिनु लर्तरो कुरो होइन । मानिस भएर बाँच्न र सहज जीवनशैलीको अँगालोमा बेरनि किन नपाउनू?
‘सर्कार लाग्यो !’
यो माया, हार्दिकता र स्नेहको स्वर बन्नुपर्थ्यो तर हुन पुग्यो घृणा, दुत्कार र र अस्वीकारको बोलवचन । समाज जति धेरै सुगठित, सुसंगत र सुसंस्कृत हुन्छ, त्यति नै उज्यालोको पक्षमा नागरकिको मतो मिल्न पुग्छ । अनि, समृद्धिका पंक्तिमा अरू केही भाव थपिन पुग्छन् । उस्तै र उही घामपानी भोगिएकै हो नि ! फरकचाहिँ पर्दोरहेछ उस्तै र उही भए पनि ।
भोट दिएको सरकार, भोट नहालीकनै सत्य विराजमान ठानिएको जनप्रतिनिधि वा टीके शासक, सबैसँग प्रणाम गरेर बस्नुपर्यो मैले । ती सबैसँग अदृश्य अहंकार र दृश्य ऊर्जा थियो नै । झुप्रादेखि चारतारे भवन तोडफोड होस् वा टहरा गल्र्याम्म लडाउन होस्, सरकारको तुजुक असामान्य लाग्ने गर्छ अचेल ।
म्याग्दी मास्तिरको खोलामा बन्दाबन्दैको बिजुली निर्माण रोकिएको देखेँ केही अगाडि । तिनीहरूको कुरा थियो, “गाउँलेको ऐँचोपैँचोबाट काम थालेको । तिमेरु सक्तैनौ भनेर काठमाडौँका मान्छेले रोकिदिए । सर्कार लाग्यो, हामी बिचल्लीमा पर्यौँ !” गाउँ अन्धकारमा रोइरहेथ्यो, काठमाडौँमा पुगेको रपिोर्ट थियो, उज्यालो र झलमल्ल ।
केही यता राजधानीमा उधुमसँग सरकार लागेको छ । मानिसका घरजग्गामा राम्रैसँग कैँची चले । नारायणगोपाल चोकमास्तिर निकै खिचातानी भयो । अन्यत्र पनि कति धेरै कति !
कानुन र नियमकै कुरा गर्ने हो भने पर्खाल ठडिरहँदा, फूलबारी बन्दा, इनार खनिँदा वा बैठककोठा बनिँदा सरकार थियो कुन गद्दामा सुतिरहेको? आज पटक-पटकको हमला र ताण्डव नृत्यकै बलमा नानीहरूका पिङ चुँडाइरहेको छ, चौतारी सोत्तर पारएिको छ । सीमाहीन दुःखमा कुनै कुरा भन्न सकिएको छैन । ‘सर्कार लाग्यो !’ केहीअघि बाटो, खोला, जग्ग्ाा, वन वा पहाडको एक हिस्सामा भौतिक दृश्यमा अनुभूत भएथ्यो । दुर्भाग्य ! आजका दिनमा त मेरो आवाज, भाषा, पोसाक र धर्ममाथि सरकार लागेको छ । धेरै ‘म’लाई भाँचभुँच पारेर शासनको मत्ता हात्ती लम्केको लम्केकै छ ।
मेरो आफ्नो पहिचानमाथि सरकार लागेको छ । मेरो ओठमा झुन्डिएको सनातन स्वरमाथि सरकार लागेको छ । मेरो आँखामा टाँसिइरहने पवित्र विचारको तरंगमा सरकार लागेको छ ।
“बाबु, चुच्चे र थेप्चे पार्टीका कुरा हुँदै छन् !” बजारमा त्यस्तै चर्चा पढिरहेका युवाहरूलाई ९३ वर्षकी वृद्धाले जिज्ञासा राखिन् । मैले यो फैलिरहेको विषालु लहरोमा सरकार लाग्नुपर्ने ठानेँ । तर, मौन भएर, मूक हुन पुगेको त्यस चरत्रिका पछाडि ‘गरबि जनता र धनी सरकार’को मुहार भेटेँ ।
खेलमा नयाँ नियम बन्नेबित्तिकै पुरानो दाउलाई परहिाल्छ महासंकट । समस्यामा खेलिएको खेल कसरी स्वास्थ्यकर हुन्छ, मनोरञ्जक हुन्छ र आमोदप्रमोदक पनि ! मैले सबै कुरा गुमाइसकेको छु केही दिनयता । चिन्न र चिनाउन बाँकी मेरो अस्तित्वमा ‘सर्कार’ लागेको छ । मैले भरथेग कताबाट पाउने?
बोल न, केही त बोल !
नेपाल साप्ताहिक ४९९
