हामी तीन जना थियौँ । गौतमजी, अधिकारीजी र म । यद्यपि, हामी तीनले अहिले ‘देश-दुनियाँ’ चलाएको भ्रम पाल्ने तीन दलीय व्यक्तित्वको प्रतिनिधित्व गर्दैनौँ । कसैलाई भ्रम नपरे हुन्छ ।
“दाजु ! के हो यस्तो? आज त दाह्री, कपाल, जुँगा काटेर ‘तक्लु’ हुनुभएछ नि!” योगी भाइले टुप्लुक्क मिसिँदै भने । योगी पनि चौथो कुनै मोर्चाका प्रतिनिधि होइनन् है ।
“भाइ ! भोलि आमाको श्राद्ध छ । आज एकछाकी, त्यसैले ।” जवाफ दिएँ र चिया दुकानकी गोरखाली बहिनीलाई अर्को एक कप चिया थप्न भनेँ ।
हेटौँडे गौतम, दंगेली अधिकारी, सुदूरपश्चिमेली योगी र आफ्नै तनहुँको उपस्थितिबीच हाम्रो चतुर्भुज एकल स्वार्थको कोण निर्माणमा जुटेको थिएन । हामी हाम्रै बन्द संस्कार र संस्कृतिको एजेन्डामा गफिँदै थियौँ । मान्छेहरू किन बन्द गर्छन्? थाहा छैन । हिजोअस्ति त बन्द अनेकौँ निहुँमा हुन्थे तर अचेल बन्द देश ‘खण्ड’ र ‘अखण्ड’ बनाउने सर्तमा पो सुरु भएको छ । देश आमा हुन् भने यसलाई कसरी टुक्र्याउने होला? आमालाई न्यायसंगत तरकिाले छोराछोरीबीच कसरी बाँड्न सकिन्छ र ! दुई सातादेखि अखण्ड मर्ममा सक्रिय सुदूरपश्चिमको बन्द र आजैदेखि ब्राह्मण-क्षत्री, ठकुरीदेखि दसनामी र दलितहरूको संयुक्त आह्वानमा सुरु भएको अर्को बन्दको हिँडाइले हामी त्यहाँ भेटिएका थियौँ ।
यस अर्थमा बन्द वास्तवमा नै सुखद लाग्छ । राजधानीको बेफुर्सद दौडधूप र साँझ-बिहानको रोजीरोटीले चाहेर पनि वर्षौं नभेटिएका आफन्तहरू बन्दका बेला हिँड्दा बाटामा भेटिन्छन् । महिनौँ नतंग्रेका तन्तुहरू, नतन्केका नसाहरू र चिनीले खाएको रगत हिँडाइ क्रममा सग्लिन्छन् । माइक्रोबस, सफा टेम्पुदेखि मिनीबस र ट्याक्सीको यात्राले गर्दा नदेखिएका विकास र विनाश दुवै हिँडाइ क्रममा दृष्टिगोचर हुन्छन् । सहरी सभ्यताका कुरूप वास्तविकतादेखि नदीनालाका सुकुम्बासी पीडालाई हिँड्दाखेरी नै आत्मसात गर्न पाइन्छ । हिँड्नु वास्तवमा वर्तमानमा जिउनु हो जस्तो लाग्छ मलाई ।
“एउटा कुरो मैले बुझिनँ नि साथी ! तपाईं संस्कृति र समर्पणका निहुँमा दाह्री/कपाल खौरेर हिँड्नुभएको छ तर एकछाकीका दिनमा होटलमा चियाचाहिँ खाँदै हुनुहुन्छ?” गौतमजीको जिज्ञासा मतिर तेर्सिन्छ ।
“यही त हो नि हाम्रो उदात्त सोच र सनातनी संस्कृतिको उदाहरण ।” म यसो भन्न सक्दिनँ, मलाई किन किन आफ्नै आत्मप्रशंसा गर्न पटक्कै मन पर्दैन । धार्मिक अन्धता र कट्टरताको कलुषित मन-मस्तिष्कभन्दा सर्वहितायको कार्यान्वयन गर्न म रुचाउँछु । जसरी म कर्म गर्दै समसामयिक जीवनशैली अवलम्बनमा उन्मुख छु, उसैगरी मनग्गे पापपछि एउटा गौदान गर्दैमा वैतरणी पार भइन्छ भन्ने प्रसंग मलाई पटक्कै मन पर्दैन । त्यसैले म छलछाम उत्तरबाट पन्छिन भन्छु, “यो घरपरिवार, आफन्त र परम्पराले नियमित तुल्याएको यात्रा मात्र हो । अन्यथा, मेरी आमाले मलाई बाँचुन्जेल सेवा गर, मरेपछि कुनै ढोंग नगर छोरा भन्नुभएको थियो । मेरी आमाको त्यही उदात्त दृष्टिकोण र स्निग्ध मनलाई बिर्सेर म छोइछिटोको संकुचनलाई किन अवलम्बन गरूँ यार?”
उनीहरू अलि गम्भीर भए । उनीहरू सहमति र सहकार्यको सोचमा विमतिको तुवाँलोले ढाकेजस्तै गरी अँधेरिए । त्यही माहोलमा एक्कासि होटलमा एक वृद्ध महिला रौद्र अनुभूतिलाई अनुहारभरि छरपस्ट बनाएर छिर्दै गोरखाली बहिनीलाई सोधिन्- “त्यो आस्याङ यता मरेको छैन बहिनी !”
ती वृद्धाको कटु टिप्पणीबीच हामी मौन बन्यौँ । होटलवाला बहिनीको अवाक् मनस्थिति, हाम्रो अनेकानन् जिज्ञासा र आफ्नै पीडालाई चिर्दै वृद्धाले भनिन्, “त्यो मोरो छोरो भनाउँदोले छेत्रिनी केटी च्यापेर टाप कसेछ बहिनी ! डाँकालाई के नपुग्दो थियो र ! आफ्नै तामाङनी कोही पाइहालिन्थ्यो नि !” एउटा भिन्न जातीय गन्ध हाम्रा नाकमा ह्वास्स गनायो । फेरि हामीबीचकै अर्को सोच, संस्कृति र परम्पराले फेरि हामीलाई झापड हान्यो । लगभग स्वर्गवास हुनुभएकी मेरी आमाकै जस्तो शरीर, वय र तेज थियो, ती वृद्धामा । मलाई मेरी आमाजस्तै लाग्यो उनी । उनले मलाई आफ्नो छोरोजस्तो मान्छिन् कि मान्दिनन्? तर, मलाई आमा ! सम्बोधन गर्दै उनका पीडालाई शान्त बनाउने हुटहुटीले सतायो । म केही बोल्न खोज्दै थिएँ, मेरो अन्तस्करणले मलाई सम्झायो अर्कै कुरो । म झल्याँस्स भएँ र विगतमा अल्झन पुगेँ ।
दस वर्षअगाडि दसैंँको टीकाको दिन । बुबाले टीका लगाइदिइसक्नुभएपछि आमाको पालो थियो । मैले खुसुक्क भनेँ, “आमा ! आज मलाई हजुरको छुट्टै आशीर्वचन चाहिन्छ है!” आमाले सहज भन्नुभयो, “के भन्दै छौ तिमी.. ।” उहाँले टीका लगाउँदै थप्नुभयो, “तिमीलाई कस्तो आशीर्वाद चाहियो, ल भन त?”
मैले भने, “आमा मैले एउटी केटी मन पराएको छु ।”
“राम्रै त भयो नि! बिहे गर बाबु भन्दा मान्दैनथ्यौ!”
“तर, आमा उनी त… ।”
“केको तर सर? तिमी जातपात, वर्ण, संस्कृति आदि/इत्यादिको कुरा गर्न छाडिदेऊ त! तिमीलाई साँच्चिकै मन परेकी त छ, होइन?”
“तर, आमा …!”
“तरले घर चल्दैन छोरा । तर्कको रस्साकसी होइन जीवन । अनुशासन, समर्पण र प्रेमले घर हुन्छ ।”
“तैपनि, आमा… ।” म केही थप्न, भन्न र सुनाउन नै पाउँदिनँ ।
आमाले नै थप्नुभयो, “ल भन अब कहिले आउँछे तिम्री स्वास्नी र मेरी बुहारी मेरो घरमा?”
दिनदिनैको हनुमानचालिसा पाठ, लघुकौमदी, रामायण र महाभारतका ठेलीसमेतलाई कण्ठाग्र गराउने ध्येयमा केन्द्रित मेरा पिताजीसमेत आमाको विचार र व्याख्याबाट छक्क पर्नुभयो । हामी र हाम्रो परिवारको कुनै पनि निर्णय मेरी आमाबाट हुने र गरिने परिवेशमा कहिल्यै पिताजीले आमालाई ‘पोथी बासेको’ संज्ञा दिनुभएको मलाई थाहा छैन । पिताजी सधैँ घरपरिवारको समस्या, अप्ठ्यारा र आवश्यकतामा महिलाहरूलाई निर्णायक शक्ति तुल्याएपछि त्यसले बेजोड र दीर्घकालीन महत्त्वको उपलब्धि भित्र्याउँछ भन्ने मान्यता देखाउनुहुन्थ्यो । आमाकै निर्णयका कारण म घरको जेठो छोरो भए पनि मेरो भाइको पहिले उसैको मर्जी अनुरूप बिहे गरििदनुभएको थियो । बिहे गरेलगत्तै उसले छुट्टीभिन्न हुन खोज्दा भने आमाले एउटा बेजोडको अकल्पनीय तर्क राख्नुभएको थियो । ‘परिवार पाल्ने शक्ति र सामर्थ्य छ भने त्यो पौरख पहिले देखाऊ अनि मात्र अंश दिन्छु’ भन्नुभएको म अहिले सम्झँदै छु । मेरी आमाले सधैँ आफ्ना छोराछोरीका खुसी र पौरखमाथि विश्वास गर्नुभयो तर कहिल्यै घरपरिवारलाई खण्डित हुन दिनुभएन । आमा सधँै भन्नुहुन्थ्यो, “बारीको बार र खेतको आलीजस्तै हो घरको अनुशासन, जसले भत्काउँदैन उसले मेरो ताली पाउँछ, जसले बिगार्छ ऊ गालीको हकदार हुन्छ ।”
म फेरि टेबुलमा फर्किएँ । त्यहाँ प्रदीप भाइ, विक्रम भाइलगायत योगीभाइ र मेरा साथीहरू ती वृद्धाको मन-मस्तिष्क र मर्ममाथि मन्थन गर्दै थिए । मन अमिलो भएर आयो । तामाङनी वृद्धा हल न चलको टसिलो अडानमा थिइन् । उनी भन्दै थिइन्, “बाबुहरूको कुरा सुनेँ तर निर्णयचाहिँ म आफैँ गर्छु ।” “निर्णय गर्दा छोराको इच्छा, अपेक्षासहित शक्ति र सामर्थ्यलाई पनि हेरििदनूस् है आमा !” मैलै मेरी आमाबाट सिकेको यस्तो निचोड सुनाउन चाहेको थिएँ । तर, बोल्न सकिनँ । म धेरै कुरा उनलाई आमाजस्तै मानेर सुन्न/सुनाउन चाहन्थेँ । समय घर्किसकेको थियो । मलाई छिटोभन्दा छिटो असन बजार पुगेर श्राद्धका लागि दुना, टपरी, फूल, कपडासँगै पूजासामग्री किन्नु थियो । बन्दको नमीठो प्रहार भनूँ या सांस्कृतिक संयोगको पृथक् झापड? म हाम्रै पहिचानका लागि गरिएको बन्दबाट प्रताडित थिएँ । मलाई मनको कुरो गाँठो पारेर त्यहाँबाट बाहिरिनु निको लागेन । मन दह्रो पारेर ती वृद्धातिर बढेँ र भने, “आमा ! एउटा कुरा भनूँ है? हेर्नूस, मेरी त आमा हुनुहुन्न । एकपटक गुमाएपछि फेरि आमा पाइँदो रहेनछ । तपाईंको छोरोसँग गुनासो रहेछ । मान्नुहुन्छ भने हामी पनि तपाईंकै छोराजस्ता हौँ । छाड्नूस् सबै उँचनीच र गुनासागुम्फनहरू ।”
मेरो कुरोले अलि छोएछ उनलाई । उनी गम्भीर भइन् । त्यो देखेर मैले थपेँ, “आमा ! मेरी आमा भन्नुहुन्थ्यो, मलाई बुहारीभन्दा तिमीलाई अर्धाङ्गिनी चाहिने हो । जससँग बिहे गरे पनि मलाई आपत्ति छैन । तर… ।”
“तर…के बाबु …?” ती वृद्धा जिज्ञासु बनिन् ।
आमा भन्नुहुन्थ्यो, “तिमीहरूले मलाई बिर्सन, छोड्न र हेलाँ गर्न पाउँदैनौ ।”
“तिमीजस्तै छोरो भए त हुन्थ्यो नि बाबु !” वृद्धाले थपिन् ।
मन भरिएर आयो । आदर स्वरूपमा उनलाई अँगाल्दै मैले भनेँ, “के गर्ने? मेरी आमा पनि तपाईंजस्तै मसँगै भइदिएको भए… ।” वातावरण स्तब्ध बन्यो । सारा होटल र यसको परिवेश दारुण र करुण लाग्यो मलाई । म र मेरा भाइसाथी प्रतिक्रियाविहीन बन्यौँ ।
माहोल चिर्दै गोरखाली बहिनीले बीचैमा भनिन्, “दाइ ! आमा भेटिहाल्नु’भो, अब केका लागि गर्नुपर्यो र श्राद्ध?”
नेपाल साप्ताहिक ४९७
