Skip to content


झन्डै कर्णालीजत्रै लाग्ने सङ्लो पानी बगेको टान नदीको समुद्री दोभानमा त्यत्रो कारखाना देख्दै म चित खाएँ । अनि, सँगै बगलमा बसेकी गाइड मेडमलाई सोधेथेँ, “होइन, कोरियामा त नदीमा बाढी पनि आउँदैन कि क्या हो?”

“हो कोरियामा त्यति बाढी आउँदैन । वर्षभरि ४५ दिनजति हल्का मनसुन आउँछ । किन सोध्नुभयो?”

“यति ठूलो नदीको दोभानमा यत्रो स्टिल कारखाना? हाम्रो देशमा भए कहाँ पुर्‍याइसक्थ्यो बाढीले, कारखानाको अस्थिपञ्जरसमेत नामेट पारेर ।”

“हाम्रो देशमा बाढीपहिरोको त्यति समस्या छैन । सामान्य वर्षा हुन्छ, हिउँदे झरीबादल कहिलेकाहीँ लाग्छ जाडो मौसममा ।”

“त्यही पनि पानी मात्र हो र! आँधीबेरी, चट्याङ, हिमआँधी पनि आउँछन् हाम्रो देशमा त । एक महिनाभित्रै यहाँको वर्षभरिको जति पानी पर्दो रहेछ ।”

गाइड मेडम र म संवाद गर्दै बसबाट उत्रिँदै थियौँ । वर्षा-बाढीको प्रचूरताको बखान गर्दै कोरियाली युवतीमाथि म आफ्नो देशको मौसमी उदात्तता याने ‘सुप्रिमेसी’ ओढाउन खोज्दै थिएँ । हामी त्यतिबेर दक्षिण कोरियाको पूर्वी सहर उल्सानबाट फर्किएर पोहाङ् सहर किनारको पोस्को स्टिल कारखानाको अवलोकन गर्ने कार्यक्रम अनुसार मूल गेटअगाडि पुगेका थियौँ ।

हाम्रो स्वागतमा खटिएकी युवतीले झुकेर अभिवादन गर्दै कारखानाको समीक्षालयतर्फ डोर्‍याइन् । जापानी परम्पराकै अभिवादन चल्दो रहेछ, यहाँ पनि ।

स्वागतकक्षमा बसेर कारखानाको सामान्य परचिय लियौँ । कारखानाका लागि चाहिने कच्चा पदार्थको आपूर्ति, पुँजी, बजारव्यवस्था, प्रचारप्रसार, कर्मचारी, मजदुर, प्राविधिकहरूको व्यवस्थापन, कारखानाको सञ्चालन आदि विविध विषयमा जानकारी पायौँ ।

कारखानाको पल्लो भेगको समुद्री किनारमा बुट्यान, पाखाभरि झिलिमिली हजारौँ भुइँघरहरूको बस्ती रहेछ । झलक्क देख्दा पर्यटक आएर बस्ने रसिोर्ट एरिया होला भन्ने लागेको थियो । कारखानाकै कामदार कर्मचारीहरूको बसोबास क्षेत्र रहेछ । बस्तीवरिपरि शैक्षिक संस्था, आमोदगृह, खेलकुद मैदान, स्टेडियम, संग्रहालयसमेतको व्यवस्था रहेछ । कर्मचारी मजदुरका सन्तति, परिवारको शिक्षा र मनोरञ्जनका लागि समेत कारखानाले थुप्रै लगानी र शिक्षा, आमोदप्रमोदजस्ता विषयमा अतुलनीय व्यवस्था गरेको देख्दा आश्चर्य लाग्यो । कर्मचारी र कामदारका सन्ततिहरूको पठनपाठन र व्यक्तित्व विकासका लागि अरू पनि धेरैथरी योजना, कार्यक्रम र साधनहरूको व्यवस्था गरिएको रहेछ । स्वागतकक्षकी युवतीले हामीलाई कारखानाको टावरमा लगेर यी सबै दृश्य देखाएकी थिइन् र सबै कुरा बताएकी थिइन् ।

कारखानाको बाहिरी क्षेत्रमा थरीथरीका कच्चा पदार्थका थुप्रै रास र पहाडै थिए । समुद्रकिनारमा टुँडो परेको कारखाना क्षेत्रमा विशालकाय पानीजहाजहरूले किनारसम्म माल ल्याएपछि रेलका डिब्बामा उतारेर गोदामभित्र पुर्‍याउने व्यवस्था रहेछ । त्यस्तै अर्कोपट्टिको टुँडाबाट तयारी माल पानीजहाजमा लोड गरेर विभिन्न देशतिर पठाउने व्यवस्था रहेछ । विभिन्न देशका, विभिन्न कम्पनी र कारखानाहरूका माग अनुसारकै स्टिल, आल्मुनियम, फलाम, सिसालगायत धातुका किला, पुर्जा, प्लेट, रड आदि सामग्रीको निर्यात गर्ने गरेको जानकारी पायौँ । पहिला कच्चा पदार्थ प्रशोधन गरेर फलाम निकालेपछि त्यही फलाम पगालेर स्टिल बनाउने, स्टिलका पनि विभिन्न खाले पाता, रड, काँटा, किला, छड, प्लेट, चक्कादेखि सिन्का, सियो, कन्कर्नासम्मका सामान तयार गर्ने विभिन्न मेसिनरीहरूले एकैसाथ काम गर्ने रहेछन् । कारखाना, गोदाम र जहाजमा सामान राख्ने, उतार्ने कामकाज सम्पन्न गर्न ५०/५५ हजारभन्दा बढी कामदार भए पनि जोखिम र श्रमका कामहरू रोबोटले सञ्चालन गर्दा रहेछन् । चार सय रोबोटहरू कार्यरत थिए, त्यहाँ ।

अरूभन्दा अलि बेग्लै देखिने नाइके रोबोटको अगाडि लगेर म्याडमले बताउन थालिन्, “महाशय ! विश्वकै नयाँ पुस्ताको अत्याधुनिक रोबोट हो यो । यसले काम मात्र गर्दैन, विविध प्रकारको विश्वव्यापी आर्थिक, सामाजिक र मानव विकाससम्बन्धी आवधिक जानकारी पनि राख्छ । विश्वका अर्धविकसित राष्ट्रहरूको आर्थिक/भौतिक वृद्धिदर, प्राकृतिक सम्पदा र मानवस्रोत साधनको सूचकांकहरूले यसको मस्तिष्क भरिएको छ । यो अत्याधुनिक पुस्ताको वैज्ञानिक रोबोट हो । तर, यो श्रमको काम पनि उत्तिकै खुसीसाथ गर्छ । एकछिन पनि फाल्तु बस्न चाहँदैन ।”

म्याडमले परचिय गराउँदा रोबोटले हामीलाई अभिवादन गरेर झुक्दै मुसुक्क हाँस्यो र ऊ आफ्नो काममा यथावत् लागिरह्यो । कारखानाका अन्य गतिविधि देखाउँदै म्याडम भन्दै गइन्, “यो स्टिल कारखाना हाम्रो देशका (सामसङ्, हुन्डाई, पोस्को) तीन ठूला आर्थिक प्रतिष्ठानमध्ये एउटा हो । अनि, विश्वकै तेस्रो ठूलो स्टिल कारखाना पनि हो । यसका लागि चाहिने १५ मेगावाट विद्युत् ऊर्जामध्ये ८० प्रतिशत बाइप्रोडक्टबाटै उत्पादन हुन्छ । बाँकी २० प्रतिशत थर्मल प्लान्टबाट आपूर्ति गरिन्छ । कुरा सुन्दै रोबोटतिर एक टकसँग हेर्दै थिएँ म । उसले एक्कासि रिसाएर मलाई लक्ष्य गर्दै भनेजस्तो लाग्यो, “थुइक्क पाजी ! त्यत्रो जलसम्पदाको धनी भएर पनि सानो थर्मल प्लान्टको कुरा सुन्दा तँलाई कृष्णले गोवर्द्धन पर्वत उचालेको आश्चर्य हुन्छ?”

म नेपालबाट आएको भन्नेबित्तिकै पहिल्यै त्यसले अनुहार बिगारेझैँ गरेथ्यो । अहिले कारखानाको प्रगति सुनेर अरू साथीसँगै मैले पनि खुसीले दन्त प्रदर्शन गर्दा उसले खिसीटिउरी गरेर दपेट्न थालेझैँ लाग्यो । मेरो देशको मानवविकास, प्राकृतिक साधन तथा स्वच्छ प्रशासनदेखि ऊ उल्टो मुर्मुरिएको रहेछ ।

यता रिसेप्सन लेडी भन्दै थिइन्, “थर्मल प्लान्टका लागि चाहिने युरेनियम इरानबाट आयात हुन्छ । खरीढुंगा ब्राजिलबाट आउँछ । टर्पेन्टाइन चीनबाट, पहेँलो माटो मंगोलियाबाट अनि गिट्टीबालुवाचाहिँ भियतनामबाट मगाउने गरिएको छ ।”

बीसौँ भीमकाय पानीजहाजको ताँती थियो कारखानापछाडि समुद्रमा । मेडम हामीलाई त्यता देखाउँदै विवरण दिँदै थिइन् । कानले उनको कुरा सुन्दै गरे पनि म रोबोटतिरै केन्द्रित बनेर हेर्न पुगेछु । बलिष्ठ हातहरूले स्टिलका रड र प्लेटहरू मेसिनबक्सामा ड्यामड्याम बजारेर राख्दै आफ्नो काममा ऊ तल्लीन देखिन्थ्यो । काम गर्दागर्दै पनि पिलिकपिलिक मतिर हेर्दै, औँलाले अश्लील आकार बनाएर देखाउँदै गिज्याएझैँ र कहिले भने सरापेझैँ गर्दै थियो । उसले भनेजस्तो लाग्यो, “इस् खा छुसी । तेरो कालीगण्डकीको बगरभरि सुन छ, युरोनियम छ । खरीढुंगा झिकेर कहाँ पुर्‍याउँदै छस्! फलाम, अभ्रक, पेट्रोल झिक्न सकिनस् । जमिनमाथि हुर्हुरी बल्दा पनि दैलेखको पेट्रोल निकाल्न सकिनस् । मोरङ, झापाको त के सक्छस्? सीमापारबिाट मुनिमुनि तानिसक्यो होला छिमेकी दाइले । अरू त के कुरा, राजधानीको मुटु, टेकुमा रहेको विशाल भण्डारबाट प्रकृतिक ग्यास झिकेर बाल्नसम्म सकिनस् । चुलाचम्का चिसै राखेर आमा, दिदीबहिनीहरूले अभावको ललनी गाउँदा तँलाई मज्जा आउँछ । सधैँ अर्काको भर परेर गुलामी गर्दा तँलाई आनन्दले निद्रा लाग्छ । हिर्दोक, नामर्द, पाजी ।”

रोबोट अत्यन्त आक्रामक अनुहार प्रदर्शन गरेर रिसायो । पिलिकपिलिक मतिर घोइरा आँखा तेस्र्याएर आगोको ज्वाला उकेलेझैँ गर्दै थियो र बेलालखत लबटा उज्याएर म भएतिर लम्किएझैँ पनि गर्दै थियो । लबटा कसेर गालामा ड्याम्म बजाइहाल्छ कि जस्तो गरेर आक्रामक अनुहारले मलाई थर्काइरहेको थियो । उसको प्रताडनाले झाँगलझुँगल पार्दापार्दा म त्यसै थिलथिलो हुन पुगेछु । अत्यास र ग्लानिसँगै तरबर्रै फुटेको सन्त्रासको पसिनाले निथ्रुक्कै भिजिसकेछु । अडिनै गाह्रो भएर कता जाऊँ, के गरौँजस्तो लाग्न थालेपछि ब्रिफिङ् गर्दै गरेकी म्याडमसँग अनुमति लिएर सरासर शौचालयतिर लागेको थिएँ ।

एकछिन हलचल नगरी शौचालयमा आराम गरेपछि लघुशंका सूचीसँगै मुखहात धोएर कुर्सीमा थपक्क बसेँ । झ्यालबाट परपरसम्म देखिने समुद्रका लहर अनि बीचबीचका काला चट्टानहरू हेर्दै केहीबेर सुस्ताएपछि बल्ल साथीभाइको समूहमा फर्किएको थिएँ । फेरि उही रोबोटतिर आँखा पुगेछन् । तनमन एकत्रित गरेर पूर्ण क्षमताका साथ ऊ आफ्नो काममा लागिरहेको थियो । अत्यन्त व्यस्त हुँदाहुँदै पनि उसले पालैपालो दृष्टि घुमाएर मेरो अनुहारमाथि औँला ठड्याएर भनेझैँ गर्दै थियो, लाछी चोर । ”

उसले गालीको एक झटारो ममाथि बर्साइहाल्यो, “बंगलादेशको क्षेत्रफलको तुलना गर्दा १५ करोड मान्छे अटाउने देशमा तीन करोड बस्दा पनि छिमेकीसँग मागेर खान्छस् । देशमा उत्पादन नहुने कुनै चीजबीज छैन । सबै खाले अन्नबाली, फलफूल, जडीबुटी, पशुपन्छी, वनस्पति, माछा, सर्प, गंगटादेखि हिउँ, तुषारो, गर्मी, सर्दी केचाहिँ छैन तेरो देशमा? त्यस्ता देशमा यस्ता मान्छेको जन्म अनि यिनैको थातबास हुनु । धिक्कार छ तँलाई ! तेरो अझै पतन होस् ! अझै सत्यानाश होस् !”

मतिर हेर्दै रोबोट बर्बराइरहेको थियो । मलाई उसका शब्द-शब्द भुंग्राका झिल्का-झिल्का बनेर पोलिरहेका थिए । म भने खपीनसक्नु कष्टले छट्पटाइरहेको थिएँ ।

१८ देशका २२ जना प्रशिक्षार्थी थियौँ, हामी त्यहाँ । कोरियाली संस्था ‘कोइका’ले आयोजना गरेको विकास-प्रशासनसम्बन्धी तालिममा सहभागी हुन गएका । मेरो आफ्नो रूप, वर्ण, पोसाक, भाषा, ज्ञान आदि कतैमा केही कमी थिएन । माली, किर्गिज, मंगोलिया, लाओस, बर्मा आदि देशका सहभागीहरू मभन्दा धेरै विषयमा कमजोर थिए । तर, रोबोट किन मलाई मात्र गिज्याएर खेदो गरिरहेछ? मनमनै प्रश्न खेलाएर कुण्ठित बनिरहेको थिएँ । केही बेरमा साहस जुटाएर मैले पनि भनिदिएँ, “हाम्रो देशमा पनि भर्खरै गणतन्त्र आएको छ, मानवविकास र अर्थिक समृद्धितर्फ हामी पनि कंगारु र भ्यागुताशैलीमा छलाङ मार्न लागेका छौँ । अझ जम्बोजेटको शैलीमा उडान गर्न तयार भएका छौँ । यसका लागि उल्टो गन्ती सुरु भइसकेको छ ।”

रोबोटतिर सोझै हेर्दै पड्किएँ म पनि, आफ्ना कुराहरू राखेर । अलि मत्थर होलाझैँ लागेको थियो । ऊ त झन् च्याँट्ठिएर बम्किन थाल्यो, “ई आयो छुसी तेरो देशमा गणतन्त्र ! यहाँका अग्ला घरहरूमा डोरीमा झुन्डिएर तेरै देशका कर्णधारहरू रङरोगन भर्दै छन् । वायरिङ्, पाइपिङ्, खापा, जालीको बन्दोबस्त गर्दै छन् । सहरी बस्तीबाहिरका पशुपालन केन्द्रहरूमा अग्ला रूखमा चढेर हाँगा छिमल्न लागेका छन् । तेरै देशका क्रिम सन्ततिहरू असावधानीका सिकार बनेर कारखानभित्र आगोको ज्वालामा भुसुनाझैँ पग्लिँदै छन् । मेसिनले च्यापिएका, करौँतीले रेटिएका, गोदामहरूमा पुरिएका, रेलका लिकमा दबिएका कति कर्णधारहरूको विवरण चाहियो तँलाई? हेर्छस् तेरो देशका वीरवीरांगनाहरूको हविगत? युवा सन्ततिको श्रम र सीपलाई विदेशमा भजाएर पेट पाल्न पल्किएको तँजस्तो साइँदुवाले कस्तो गणतन्त्रलाई कति दिन धानेर देशलाई सुखी, समृद्ध बनाउन सक्लास्? नेता नायकहरू कान टोकाटोक गर्दै छन् रे! डढेलो सल्काएर आफ्नै देशलाई शेष पार्न खोज्दै छन् भन्ने खबर छ । आयो गणतन्त्र तँलाई अब !”

रोबोट झन्झन् रिसाउँदै आगोको ज्वाला ओकलेर बर्बराउन थाल्यो । मैले पनि आफ्ना सकारात्मक पक्ष प्रस्तुत गरेर प्रतिवाद गर्दागर्दै पनि उसलाई भरोसा दिलाउन सकिनँ । देशविदेशका अत्याधुनिक सूचनासञ्जालले मस्तिष्क भरिएको रोबोट पाल्छी र फटाहा कुराले बढाइचढाइ गरेको पक्का पनि पत्याउँदैन भन्नेमा विश्वस्त थिएँ । उससँग धेरै कुरा गर्ने आँटै आएन । किन किन साह्रै दकस लागेर आयो । बिनाकारण अपराधबोध भएझैँ लाग्यो । अरू साथीहरूका पछाडि मुन्टो लुकाएर छलिँदै कारखानाबारेको ब्रिफिङ्को समय बिताएँ । बल्लबल्ल त्यहाँको कार्यक्रम सकियो । अनि, पोहाङ् सहर छोडेर अघिल्लो दिन बसेको ग्योङ्ग्जो सिटीको ड्रयागन होटलतर्फ फर्कियौँ ।

मलाई राती सुतेपछि पनि त्यही रोबोटले सिरानी छेउमा बसेर पिलिकपिलिक आँखा बाल्दै गिज्याइरहेझैँ लागिरह्यो । बिहानीपख हल्का निद्रा लागेछ । तन्द्रामिश्रति सपनामा पनि त्यही रोबोटले आएर हप्काइरह्यो सारै हेपेझैँ गरेर । भुत्याहा फिल्मजस्तो लाग्ने अन्धकार भविष्यको छायाँ देखाइरह्यो । घाँटी अँठ्याएझैँ गरेर ऐँठन गराइरह्यो ।

हातखुट्टा फालेर बलैसँग विपनामा उत्रिँदा साथीहरू फोनबाट बोलाउँदै रहेछन्, बिहान छिप्पिसकेछ । उठ्न निकै ढिला भइसकेछ । म रोबोटको त्यही लाञ्छना र घृणामिश्रति अनुहार सम्झेर नरमाइलो मान्दै ओछ्यानबाट उठेँ ।

नेपाल साप्ताहिक ४९१

Leave a Reply

Your email address will not be published. Required fields are marked *