हिरोसिमाको एटम-बममाथि कविताको विजयोत्सव

  • by


“यही हो हिरोसिमा?”

हिरोसिमा भनेर पुगिएको ठाउँलाई आश्चर्यचकित भएर हेर्दै मेरो मनले मैसँग प्रश्न गर्‍यो, “के यही हो हिरोसिमा, जसलाई हामीले इतिहासमा पढ्ने गरेका थियाँै?”

सन् १९४५ मा अमेरकिी एटम-बमको आक्रमणबाट आक्रान्त र क्षतविक्षत हिरोसिमा यही हो?

कल्पनाभन्दा निकै बाहिरको यथार्थ !

अनुमान थियो, सबैतिर भग्नावशेष नै भग्नावशेष मात्रै बाँकी होला त्यहाँ, त्यहाँका मान्छेका अनुहारमा निराशा मात्रै व्याप्त होला, प्रत्येक मान्छे, एटम-बमले प्रत्यक्ष असर पुर्‍याएका कारण खोँच्याएर हिँडिरहेका होलान्, अपांग हातहरूले सकीनसकी श्रम गरिरहेका होलान् ।

तर… । तर, यथार्थ सर्वथा भिन्न !

हरयिो थियो हिरोसिमा ।

प्रकृतिले साँच्चिकै दिएको भन्दा पनि धेरै बढी हरियाली ।

हिरोसिमाबासी सबैका अनुहारमा मुस्कानै मुस्कान थियो ।

एक-आपसमा प्रतिस्पर्धा गरेर हिँडिरहेझैँ एकभन्दा अर्को अगाडि, अर्कोभन्दा अर्को अगाडि… । मानौँ कुनै नौलो आविष्कार गर्नका लागि उत्साह र उमंग लिएर लमकलमक लम्किरहेछन् या भनौँ दौडिरहेछन् ।

१० सेप्टेम्बरको दिन थियो त्यो, अमेरकिाको न्युयोर्कस्थित ‘टि्वन टावर’मा भयंकर आतंककारी हमला भएको ठीक ११ वर्षपछिको पूर्वसन्ध्या ।

गजबको संयोग !

उही अमेरकिा, जो आफूले त्यस्तो त्रासदीपूर्ण हमला बेहोरेको थियो, उसैले साढे छ दशकअघि एटम-बम खसालेर लाखौँ जापानीको ज्यान लिएको थियो । त्यही हिरोसिमाको ‘सेन्टर प्वाइन्ट’मा उभिएका थियौँ हामी ।

पूर्वनिर्धारति कार्यक्रम अनुरूप काठमाडौँबाट टोकियो उत्रिएपछि हाम्रो यात्राको रथ सीधै हिरोसिमातर्फ सोझिएको थियो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति त्रिरत्न मानन्धर, वरिष्ठ भाषाविद् प्रा चूडामणि बन्धु प्रमुख सहयात्री थिए, यात्राका । साथ दिइरहेका थिए, लेखक तथा पत्रकार व्याकुल पाठक, कवि भरत भारद्वाज र यस पंक्तिकारले ।

यात्रा हिरोसिमामा पुगेपछि, जापानमै प्राध्यापन पेसामा संलग्न दुई विद्वान् नेत्र भण्डारी र राजनकुमार दाहाल सो यात्रामा सहभागी हुन झन्डै तीन घन्टाको जलयात्रा पार गरेर आइपुगेका थिए ।

र, यो यात्राको सम्पूर्ण कमान सम्हालेका थिए, जापानस्थित राजदूतावासका उपप्रमुख एवं कवि दुवसु क्षेत्रीले ।

“लौ अब कविता पढ्नुपर्छ है यहाँ आइसकेपछि त… ।” हामीमध्येका एक कवि हृदयले आफ्नो छटपटीलाई पोखिहाले ।

“होइन होइन, कविताको त आज सागर नै जमाउनुपर्छ ।” कवि दुवसुले उत्साह भर्दै अठोट लिए, “ऐतिहासिक कवि सम्मेलन नै गर्ने हो आज यहाँ ।”

तर, भरत भारद्वाजले संकोच माने, “यति थोरै कविहरू…, ऐतिहासिक भन्न मिल्ला र?”

“ऐतिहासिक भनिनुलाई ठूलो जमघट गरेर कुनै उपद्रो नै गर्नुपर्छ भन्ने छैन, एक्लो कविको सिर्जना मात्रै पनि तहल्का मच्चाउन पर्याप्त हुन्छ । ” कवि दुवसुभित्रको सफल कूटनीतिक व्यक्तित्वले हामीलाई विश्लेषण गर्न लाग्यो, “ऐतिहासिकको अर्थ कहिल्यै नभएको अवस्थामा प्रथमपटक भएको घटना इतिहासमा अंकित हुनु हो, जसलाई भविष्यले अत्यन्त महत्त्वका साथ हेर्छ ।”

हामी सबै सहमत भयौँ, “हो त हिरोसिमामा आजसम्म कति कविता पढिए होलान् ! तर, समुद्रवारि नेपालदेखि इतिहासविद्, भाषाशास्त्री, प्राध्यापक र कविहरू आठ जनाको समूहमा एकसाथ आएर हिरोसिमामा कवि सम्मेलन यसअघि सम्भवतः गरिएको थिएन । यस अर्थमा यो ऐतिहासिक नै हो, त्यो पनि यस्तो ऐतिहासिक दिन सेप्टेम्बर ११ को पूर्वसन्ध्यामा ।”

कवि सम्मेलन गर्न अब हामीलाई कसले रोक्थ्यो? कसले छेक्थ्यो?

हामी सबैको मनले हामीलाई सहर्ष स्वीकृति दिइसकेको थियो ।

हामीसँग कविताका किताबहरू साथमै थिए, कविताका डायरीहरू थिए, कविताका खेस्रा पानाहरू थिए र थियो कविता सुन्ने-सुनाउने रहर र उत्साह ।

कविताका लागि तयार भइसकेपछि अब साँच्चै कसले रोक्ने? कसले छेक्ने हामीलाई?

सबैको सल्लाहले एउटा स्थललाई ‘कविता-भूमि’को रूपमा छान्यौँ । त्यो एउटा यस्तो ऐतिहासिक स्थल थियो, जहाँ सन् १९४५ को एटम-बम आक्रमणमा आंशिक रूपले जोगिएको एउटा मात्र घर थियो ।

च्ाारैतिर फलामे बारद्वारा घेरिएको, राक्षसी-बमले खाएर पनि पूर्ण रूपमा नसिध्याएको, देख्दैमा अत्यासलाग्दो हृदय-विदारक थियो त्यो भग्नावशेषको अवस्था । घरवरिपरि, घर भत्किँदाका सिमेन्ट, ढुंगा, इट्टाका ठूला-साना टुक्राहरू जस्ताका तस्तै छरिएर रहेका थिए । एउटा त्रासद इतिहास बोकेर एक्लै बाँचिरहेको थियो ।

कवि हृदय बोकेका हामी ! शान्तिवाहक बुद्धका उपदेश मस्तिष्कमा राखेर त्यस्तो ठाउँमा उभिएका हामी सबैलाई अत्यन्तै भावुक र द्रवित बनाइरहेको थियो, त्यो स्थलले ।

उफ् ! कति मान्छेहरू किचिएर चिच्याए होलान् त्यहाँ, कतिले गुहार मागे होलान्, कतिले बोल्नै नपाई प्राण त्यागे होलान्?

अझ पूरै हिरोसिमाभरि पूर्णरूपले भत्किएका घरहरूमा कति मान्छेहरू कहालिँदै पुरिए होलान्?

नजिकै नदी बगिरहेको थियो । भन्नेहरूबाट केसम्म सुनियो भने, इतिहासको त्यो कालो दिनमा बमको असरले शरीरभरि बमको तापको असर सहन नसकी कति मान्छेहरू त्यही नदीमा हामफालेका थिए रे! त्यस दिन नदीमा पानी होइन, मान्छे नै मान्छेका शिर मात्रै देखिएका थिए रे!

सुन्दैमा पनि सुनिनसक्नुको त्यो दृश्यवर्णन !

“बसौँ, यहीँ बसेर कवि सम्मेलन गरौँ ।”

हाम्रो निर्णयमुताबिक, त्यही भत्किएको ‘अर्ध-घर’को एक छेउ सडकलाई ‘कविता-आँगन’ बनाएर थ्याच्चथ्याच्च बस्यौँ, हामी सबै जना ।

र, केही समयअघि मात्र हतार-हतार तयार गरिएको एउटा अस्थायी कागजे ब्यानर त्यहीँ फलामे बारमा टाँगिदियौँ, जसमा लेखिएको थियो :

‘हिरोसिमामा
ऐतिहासिक कवि सम्मेलन
१० सेप्टेम्बर २०११, हिरोसिमा, जापान’

त्यसपछि कवि सम्मेलन सुरु भयो :

एक दिन एकान्तमा हनुमानले सोच्यो
मैले जीवनभरि रामलाई काँधमा बोकेर
किन हिँडेँ हुँला !
मैले आफ्नो घर बसाउन छाडेर
रामको घर बसाउन किन लागेँ हुँला…!

दुवसु क्षेत्रीले आफ्नो कविताका यी पंक्ति पढिसकेपछि कविता वाचनको पहिलो चरण समाप्त भयो । अब पालो आयो, पढिसकिएका सबै कविताको छोटो समीक्षा गर्ने । यस भूमिकालाई बडो मिठासपूर्ण तवरले पूरा गरे, प्रा चूडामणि बन्धुले ।

फेरि सुरु भयो कवि सम्मेलनको दोस्रो चरण । र, दोस्रो चरणको समाप्तिसँगै फेरि प्रा बन्धुको समीक्षा ।

अनि, फेरि कविताको तेस्रो चरण । यस क्रममा व्याकुल पाठकले स्थानसापेक्ष आफ्नो कविता सुनाए, ‘हिरोसिमा, तिमी खरानी भएनछौ… ।’ साथै भरत भारद्वाजले सुनाए :

…कापीबिना हुन्न कलमको योग
कलमबिना हुन्न कापीको योग
तथापि, कापी बुझ्दैन कलमको भोक ।

पालो मेरो आयो । मैले तहसनहस भइसकेर पनि आज विकासको चरम विन्दुमा पुग्न सफल हिरोसिमाप्रति शिर झुकाउँदै आफ्नो देशमाथि व्यंग्यात्मक कविता वाचन गरेँ :

…तिमीसँग के छ?…
मसँग कवि भूपी पनि छ
मसँग उसको कविता पनि छ
र कवितामा साँघुरो गल्ली छ
‘साँघुरो गल्लीमा चोक छ
त्यहाँ के छैन? सबथोक छ
असंख्य रोग छ
अनन्त भोक छ
असीम शोक छ ।’
तर, तिमीसँग के छ?
भन, के छ तिमीसँग?

र, आशुकविका रूपमा तत्कालै कविता तयार पारेर आगन्तुक कवि राजनकुमार दाहालले आफ्ना कविता तथा अर्का आगन्तुक नेत्र भण्डारीले दुवसु क्षेत्रीका गजल पढेर सुनाए ।

एकातिर घामको रापिलो ताप, अर्कातिर सिरसिर हावाको मध्यरेखामा तैरिएका हाम्रा कवितात्मक शब्दहरू त्यहाँ हिँडिरहेका बटुवाहरूले के बुझे होलान् र? एउटा अचम्मको दृश्य देखिरहेको महसुस गर्दै तिनीहरू हिँडिरहेकाबाट त्यसको पुष्टि भइरहेको थियो । तैपनि, अरू कसैको वास्तै नगरी डेढ घन्टाभन्दा बढी समयसम्म हामीले कविताको क्रम-उपक्रम चलाइरह्यौँ ।

कवि सम्मेलनको बीचमै दुवसु क्षेत्रीको कोलाज मन (गजलसंग्रह), भरत भारद्वाजको कवितासंग्रह पुंसत्व र पर्खाल तथा यो पंक्तिकारद्वारा सम्पादित नारी स्रष्टा : चिन्तना र सिर्जनाको समेत विमोचन गरिएको थियो ।

अन्ततः उद्घोष भयो, कवि-सम्मेलनको समाप्ति, प्रमुख वक्ताका रूपमा त्रिरत्न मानन्धरले त्यहाँ वाचन भएका सम्पूर्ण कवितामाथि प्रतिक्रिया व्यक्त गरेपश्चात् ।

उक्त उद्घोषसँगै मैले, विगतको त्रासदीपूर्ण बम हमलाको इतिहासतिर फर्किएर मनमनै भनेँ, “तिमीले जितेको विध्वंशको इतिहासलाई हाम्रा सिर्जनात्मक शब्दहरूले पराजित गरेको छ, वर्तमानमा ।”

नेपाल साप्ताहिक ४९०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *