Skip to content


“आहाँ! कस्तो राम्रो कुहिरो! क्यामरा भएको भए अहिल्यै फोटो खिच्थेँ ।”

यी शब्द ‘मिरावेल होटेल’ अगाडि तिम्रा कोमल ओठबाट निस्किएर बसबाट बाहिर निस्कन नपाउदै मेरा कानमा गुन्जिन पुगे । यो गुन्जाइले मेरा नयनलाई यो धुलिखेललाई बेहुलीझैँ सिंगारेको कुहिरोबाट हटाएर तिम्रा आँखामा पुर्याउन पुग्यो ।

तिम्रा आँखा अझै पनि त्यही कुहिरोको मुकुटलाई निहाल्दै थिए । तिम्रा साना साना अनि चुच्चा चुच्चा तर अति नै सुन्दर औँलाले भर्खरै बसको झ्यालको सिसा खोलेर आफूलाई कुहिरोमा नचाउदै थिए । त्यो भन्दा अझ सुन्दर तिम्रा नदिका छाल जसरी सजिएका र गोधुलिमा लाली लगाएको आकाश जस्ता राता कपाल त्यही कुहिरोलाई छोप्न अनि आफूमा कैद गर्न तिमीलाई नटेरी फुत्त झ्यालबाट हाम फालेर खुला आकाशमा फहराइरहेका थिए ।

म तिम्रो शान्त अनि उत्सुकताले भरिपूर्ण अनुहारमा प्रकृतिको सुन्दर उपहार कुहिरोले थपिदिएको शितलता स्पस्ट संग महसुस गरिरहेको थिएँ ।त्यसै बखत तिमीले तिमीतिर हेरिरहेको मलाई एक प्रश्न गर्न पुग्यौ-“हेर त ! कस्तो राम्रो छ है?”

तिमीले निहाली रहेको दृश्य अति नै सुन्दर थियो । बस सँगै दौडिरहेको कुहिरो, त्यो भन्दा अलिकति पर ठूला ठूला रुख जुन कुहिरोमा हराएका जस्ता देखिन्थे, त्यो आकाशमा उडिरहेको चिल जो आफ्नो हराएको जोडीलाई खोज्दै थियो अनि सधै गर्व गरेर म महान् छु भन्ने पहाड जुन आज अलिकति झुकेको थियो; सबै राम्रा देखिन्थे । तिमी पनि कतै कुहिरोमै हरायौ कि झैँ लग्यो मलाई एकै छिन त ! तर तिमी हराएकी रहिनछौ, केवल कुहिरोमा आफूलाई लुकाउन खोजेकी मात्र रहिछौ । यसको भान मैले एकैछिनमा गरिहाले किनकी मेरा आँखा अझ पनि कुहिरोमा टोलाइरहेका तिम्रा आँखाबाट हटेका थिएनन् । तिमी अनि सारा संसार कुहिरोमा हराउदा म भने तिम्रो मुहारमा हराउन पुगेछु, तिम्रो कुहिरो प्रतिको चाहमा हराउन पुगेछु, तिम्रो त्यो कुहिरो संग खेल्ने चाहमा हराउन पुगेछु; अझ राम्ररी भन्नुपर्दा म आफै आफ्नो विचारको कुहिरोमा हराउन पुगेछु । कुहिरोमा हराएको कागझैँ म पनि प्रश्नहरुको जवाफ आफु भित्र पत्ता लगाउन नसकेर आफै भित्र हराउन पुगेछु- हो कुहिरोको कागझैँ म आफै भित्र हराउन पुगेछु ।

प्रश्न सजिला थिए -“सधै सुन्दर लाग्ने कुहिरो भन्दा तिमी किन सुन्दर छौ?मानिस भएरै तिमी किन प्रकृति भन्दा प्राकृतिक छौ ? एक संयोग भएर पनि तिमी कुहिरोमा किन यति स्पस्ट छौ ?कुहिरोले छेक्दा पनि तिम्रो प्रतिबिम्ब किन स्फटिकझैँ झलमल भएर टल्किन्छ?”

यस्ता प्रश्न जुन कुहिरोमा हराएको मेरो विचारबाट उब्जिएका थिए तिनको जवाफ पाउन मैले तिमीलाई एकोहोरो हेरिरहेको थिएँ । तर अह प्रश्नको जवाफ तिम्रा आँखाबाट मेरो मनमा पुग्न नपाउदै कुहिरोमा हराएकाले हो कि म सम्म आइपुग्दै पुगेनन् बरु त्यहिँ कुहिरोमा हराउन पुगे र त्यसले कुहिरोलाई अझै सुन्दर र कोमल बनायो । जब तिम्रा मनबाट निस्किएका जवाफले कुहिरोलाई सुन्दर, कोमल, मायालु अनि अझ प्राकृतिक बनायो त्यस बखत मैले मेरा प्रश्नहरुको जवाफ एक एक गरी पाउन थालेँ।

तिम्रो सोचमा रमाएर, सजिएर अझ सुन्दर भएको प्रकृतिले मलाई सुटुक्क आएर भन्यो कि,” त अबुझ नबन् । जसरी उसले आफ्नो विचार अनि सोचले मलाई सजाई, जसरी चन्चलताले मलाई चन्चल बनाई, जसरी स्वच्छताले स्वच्छ बनाई, जसरी मायाले मोहित बनाई अनि जसरी मुटुको वास्तविकताले मलाई अझ वास्तविक बनाई त्यसरीनै उसले सधै तेरो हृदयलाई सजाउने गरेकी छ, तेरो सोचलाई चन्चल बनाउने गरेकी छ, तेरो कर्मपथलाई स्वच्छ बनाउने गरेकी छ, तेरो मायालाई अझ मायालु बनाउने गरेकी छ र तेरो वास्तविकतालाई अझ वास्तविक बनाउने गरेकी छ, त्यसैले तँ उसलाई सबै भन्दा सुन्दर, प्राकृतिक, स्पस्ट अनि स्फटिकझैँ झलमल देख्छस् अनि अझ कोमल चन्चल र सत्य देख्छस्।”

“सबैजना झरेसी मात्र झरौँ न ल? यस्तो भिडमा कसरी झर्नु ?”

झसक्क झस्किएर मैले भने,”हुन्छ।”

अझै पनि मेरो कानमा प्रकृतिले दिएको जवाफ गुन्जिदै थियो । बस धुलिखेल चोकमा आएर रोकिसकेको थियो तर म भने अझ पनि उनको सुन्दर मुहारमा नै हेर्दै थिएँ । एकोहोरो टोलाउदै थिएँ।

<सन्दिप "विक्लान्त">

२०६९ असार १० गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *