BishalPudasaini


“एक शब्द नबोल । खुरुक्क ट्याक्सी भित्र हिड् । नत्र …!”

मैले देब्रे हातको चोर औंलाले नजिकै रहेको आफ्नो ट्याक्सी देखाउँदै लगभग २२–२४ बर्षकी सुन्दर चेहरा, रातो पोटिलो गाला, गोरो अनुहार, लामो र कालो कपाल, सिलिक्क परेको जिउडाल भएकी एक विक्षिप्त सुन्दरी युवतीलाई भन्दै गर्दा मुखबाट एक शब्द ननिकाली युवती मेरो ट्याक्सी तर्फ लागिरहेकी हुन्छिन् । उनको कञ्चटमा मेरो दाहिने हातको पेस्तोलले चुम्बन गरिरहेको हुन्छ ।

ट्याक्सीमा पस्नासाथ मैले मुखमा टेप र आखाँमा पट्टी लगाएर उनको हात र खुट्टा डोरीले बेसरी कसें । हतार गरेर काठमाण्डौको स्वयम्भू नजिकैको उक्त गल्लीबाट म ट्याक्सी हाँकेर मेरो कोठा तर्फ लागेँ । उनी के सोचिरहेकी थिइन त्यो त म जान्दिनथे तर मेरो मनमा भने कहिले कोठामा पुग्ने भन्ने कुरा मात्र आइरहेको थियो । अचानक मेरो आँखाहरू हातको पिलपिले घडीमा ठोकिन पुग्छन् । रातको १० बजिसकेको घडीले जनाऊ गरिरहेको थियो । कोठा नजिकै लगेर ट्याक्सी रोकेँ । जताततै अध्यारो थियो सोचेँ, “सायद लोडसेडिङको समय होला ।”

ट्याक्सीको बत्तीको साहराले मैले उनलाई बोकेर आफ्नो कोठाको सोफामा लगेर लडाइदिएँ ।

ट्याक्सीको बत्ती निभाई मैले कोठाको चुक्कुल कति बेला लगाएँ थाहै पाइन । ढोकाको छेउमा रहेको टेवलमा राखिएको मैनबत्ती वाल्दा कोठाको अन्धकार विस्तारै मबाट टाढिदै थियो तर ती युवतीलाई त्यो मैनबत्तीको प्रकासको कुनै असर थिएन किनकि उनको आँखामा मेरो हातले कसेको कालो पट्टी अझ उस्तै कसिरहेको थियो ।

उनको मुखको टेप खोल्ने बिचारले म उनको नजिकै पुगें । स्याऊ जस्ता राता पोटिला गाला उनको शरीरको एउटा आर्कषक भाग थियो । जहाँ मेरा नयनहरू अनायास भुल्न पुगे । मनमनै सोच्न थालेँ “किन ईश्वरले मानिसहरूमा यति धेरै विभेद गर्छ ? आखिर सबै मानिसलाई यी युवती जस्तै राम्री बनाइदिएको भए त्यसका बाऊको के जाने थियो र ?”

मेरो रिस त्यतिखेर ईश्वर भनाउदो एउटा विभेदकारी, स्वार्थी, अलिकति पनि दया र मायाँ नभएको, मानिसको रुवाइ र चित्कारमा खुशी हुने, सामन्त शोषक, निच अदृष्य काल्पनिक शक्तिसँग पोखिदै थियो । टेप निकाल्न जब मेरा हात लम्काउँछु, तब मेरा हातहरू उनका गालामा लपक्क टाँसिन्छन् । मेरो जिउमा अचानक कम्पन पैदा हुन्छ । म काम्न थाल्छु । कता कता मलाई २२० भोल्टको करेन्टको झट्का लागेजस्तो हुन्छ ।

“अहँ हुँदैन, हुँदैहुँदैन, कुनैहालतमा हुँदैन । तुरुन्त आफूलाई सम्हाल ।” मेरो मनभित्रको शासकले कडा चेतावनीका साथ निर्देशनात्मक आदेश दिन्छ ।

म आफूलाई सम्हालेर उनको मुखको टेप फुत्तै तान्छु । घण्टौ देखी रोकिएर बसेको उनको रुवाइ एकै पटक कोठाभरी गुन्जियो । उनी डाको छोडेर रुन थालिन् । उनको आँखामा बाँधिदिएको कालो पर्दा भिज्यो ।

“चुप रुने हैन बुझिस् ।” पेस्तोल उनको मुखैमा जोतेर मैले भनेँ ।

पेस्तोल मुखैमा जोतिएकोले होला रुवाइ तुरुन्तै रोकियो ।

“के तँ मानव होस् ?”

एउटा प्रस्न त्यो रुन्चे मुखबाट कुन बेला फुत्कियो अहँ थाहै भएन् जसलाई मेरो हातको पेस्तोलले सम्म रोक्न सकेन, छेक्न सकेन्, अझ भनौ ती शब्दहरूलाई वाक्यहरूलाई हतियारले सम्म दबाउन सकेन, मार्न सकेन् ।

प्रस्न जति छोटो थियो उत्तर थियो त्यो भन्दा पनि छोटो थियो हुँ वा हैन् । तर त्यो प्रस्न मेरो लागि फलामको चिउरा भन्दा पनि साह्रो थियो, उत्तर सूर्यमै घर बनाएर बस्नु भन्दा पनि गाह्रो थियो । मेरो मुखबाट कुनै शब्द जन्मन सकेनन् । बरु उनको मुखबाट पेस्तोल विस्तारै टाढिदै गरेको देख्दै थिएँ । अव त्यो कोठामा किराहरूको आवाजको बाहुल्यता हुन थाल्यो । हामी दुबै निकैवेरसम्म किराहरूको किरकिरे गीत र संगीत लठ्ठ परी ध्यानसँग सुनिरह्यौँ ।

“जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नो हो चिन्नै सकिन ।”

एक्कासी युवतीको झोलामा रहेको मोबाइलमा रिङटोन बज्दा मेरो ध्यान भङ्ग भयो । मैले मोबाइल झिकी हेर्दा बुबा भनी सेभ गरेको देखेँ ।

“तँ बोल्ने हैन, नत्र सिध्याई दिन्छु ।” पेस्तोल फेरि युवती तर्फ नै तेर्सिन्छ ।

“छोरी तिमी कता ?”

“तेरी छोरी मेरो क्बजामा छे । यदि उनलाई सकुसल चाहन्छस् भने भोलि विहान बागमत्तीको पुल मुनि १० लाख लिएर आइज् ।”

“हँ म यो के सुन्दैछु ।”

यतिकैमा शब्दहरू रोकिन्छन् । घत्रक्क कोही लडे जस्तो आवाज मेरो कानमा बज्रन्छ । मोबाइलको कनेक्सन टुट्छ । उनको आँखामा पट्टी अनि हात र खुट्टामा डोरी अझ उस्तै कसिएकै थियो जुनवेला यी सबै कुराहरू हुँदैथियो ।

“तिम्रो नाम ?”

“प्रज्ञा”

“तर मेरो ता नाम पनि गोपाल भनेर साथीहरूले राखेकोरे ।” म मनमनै मेरो प्रस्नको युवतीले दिएको उत्तरसँग फेरि आफ्नै उत्तरहरू मनमनै जुधाउन थाल्छु ।

“घर नि ?”

“सुदुरपश्चिमाञ्चलको डँडेलधुरा ।”

“तर मेरो पनि पहाड नै हो जस्तो लाग्छ तर कता हो चै अड्कल आउँदैन ।”

“अनि के गर्छौ नि ?”

“सरकारी कार्यालयको सुब्बा ।”

“मेरो ता भाग्य नै यस्तो, स्कुल भनेको ता अरुले कुरा गरेको सुनेको र बाटो हिड्दा देखेको मात्र हो । अनि मैलेके जागिर पाउनु ।”

“अनि यहाँ नि ?”

“ममीको उपचारको लागि । उहाँलाई ICUमा राखेको छ । आज हो कि भोलि थाहा छैन । गरीव भएपछि के गर्ने पैसा नभएर पहिला उपचार गरिएन । अहिले बेथाले धेरै चापिसकेको रहेछ । उहाँको अन्त्य प्राय निश्चित जस्तै छ । तर बाँच्नु हुन्छकी भन्ने अलिकति झिनो आशा छ । उहाँलाई नै भेट्न जानलागेको ।”

यवतिको मुखबाट सुक्क सुक्क आवाज वड्दै थियो ।

“मेरो ता बुबा आमा कहाँ छन् कस्ता छन केही थाहा छैन । बुबाको चैँ भने अलि अलि अनुहार याद आइहाल्छ कि जस्तो लाग्छ । त्यो बाहेक केही थाहा छैन । के गर्नु म पनि गरीब भएर नै सानै छँदा बाबुले नै होटलमा काम गर्न राखिदिनु भएको रे । त्यसपछि उहाँ कहिलै फर्कनु भएन । कस्ता निस्ठुरी सन्तानको अलिकति पनि मायाँ नभएको । त्यसपछि मैले बषौसम्म भाँडामाझेरै बिताएँ र आज यो हालतमा छु ।”

“बिन्तीछ दाइ मेरो बुबासँग पैसा मागेर उहालाई दुख नदिनु । बरु मलाइनै मारिदिनुहोस् म मर्न तयार छु । बाबुसँग भएको पैसाले त मेरो ममीलाई बचाउनु पर्छ । बिन्ती छ दाइ मेरो कुरा बुझिदिनुहोस् ।”

“मभित्र के दया र मायाँ भन्ने कुरा पटक्कै नभएको हो त ? मेरो पनि यसको जस्तै हालत भएको भए के हुन्थ्यो होला ?” मैले आफैले आफैँलाई प्रश्न गरे ।

फेरि मोबाइल बज्न थाल्यो । युवतीकै वुबाको फोन थियो ।

“उनो भए कति बजे भट्ने त ?”

“बिहान सबेरै ५ बजे ।”

“पक्का ५ बजे बागमत्ती पुलमुनि आउने होत ?” मैले फेरि प्रश्न गरे ।

“हुन्छ, छोरी सकुसल आउँछे भने म जे पनि मान्छु, जति पनि दिन्छु ।” मोबाइलको कनेक्सन फेरि टुट्छ ।

मेरो मन अब दुई भाग भएर बिभाजित हुन्छ ।

मन १ भन्छ, “तँ कुनै हालतमा जानु हुँदैन्, गए पनि पैसा लिनु हुन्न । उसँग तैले मफी माग्नु पर्छ । बरु तँ मर्नु पर्छ तैले अन्याय गरेर अरुलाई मार्न हुन्न । तँ मानव नै होस् । मानवीय ब्यबहार गर । अहिले उनको घरको हालत के छ तँलाई थाहा छ ? ईश्वरले उनीहरूलाई नि त तँलाई जस्तै दया गरेका छैनन् नि । तँ मर्नु परे पनि अरुलाई मार्नु हुन्न बुझिस् ।”

फेरि मन २ पनि के कम ऊ पनि भन्न थाल्छ ।

“तँ जसरी पनि जानै पर्छ । पैसा लिनै पर्छ । तँलाई बाच्नु छ कि छैन् ? अस्ती भर्खर तँलाई डाक्टरले १ हप्ता भित्र मुटुको भल्भ फेर्नु पर्ने बतायको हैन् ? आखिर तैले यो सब पैसाको लागि गरिस पैसा । पैसा छैन भने तेरो यो संसारमा सासफेर्ने अधिकार पनि छैन । लाखौं लाख पैसा नभए तँ अब यो संसारका लागि केहीदिनको मात्र पात्र होस् । त्यती पैसा भयो भने तँ बाच्न सक्छस । अरु वाच्नु र नबाच्नुसँग तलाई के सरोकार ? पहिला आफू बाँच अनि अरुलाई बचाउँने कुरा सोच । अरु मरे पनि तँ बाच्नु पर्छ बुझिस ।”

टेबलमा राखीएको जगको चिसो पानी घुटुक्क निल्छु । एक छिन आँखा चिम्लन्छु । केही समय पछि दुबै मन एकै भएर भन्छन्, “हे ईश्वर यदि तँ यस पृथ्वी लोकमा कुनै न कुनै रुप लिएर जन्मन्थीस भने म यस्ता युवतीलाई हैन तँलाई यसै गरी अपहरण गरी फिरौतिका रुपमा सम्पुर्ण मानव जातिको सुख र शान्ति माग्ने थिएँ । तैंले गरेको अन्याए, अत्याचार, विभेद अनि दिएको दुःखको अन्त्य नहुन्जेल तँलाई पनि म यही युवती जस्तै हात खुट्टा बानेर आँखामा पट्टी अनि मुखमा टेप लगाएर कञ्चटमा पेस्तोल तेर्साउँदै यसै गरी चिसो सोफामा लडाइदिन्छु ।”

सुक्क सुक्क युवतीको रुवाइ उस्तै थियो । उनी सोफामा नै मुडा झैं लडिरहेकी थिइन् । समयसँग परिचित हुने कोसीस गर्छु । बिहानको ४ः३० भैसकेथ्यो ।

मन मनै आफूले गरेको गल्ती प्रति पश्चाताप हुन्छ । युवतीलाई उनको बुबाको जिम्मा लगाई उहाँसँग माफी माग्ने बिचारलाई शसक्त बनाउँछु । यस्तो युवतीलाई होइन् मलाई यस्तो कुकार्य गर्न बाध्य बनाउने, मानिस र मानिस बिचमा बिभिन्न बिभेदको सृजना गर्ने त्यो अत्याचारी अरुको रुहाइमा हाँस्ने क्रुर निर्दयी ईश्वर भनाउँदोलाई अपहरण गरी फिरौती स्वरुप सम्पूर्ण मानव जातिको सुख र शान्ति माग्ने विचार लिई कता कता अन्तरिक्षमा सदाका लागि बिलय हुने प्रण गर्छु ।

ठिक ५ बजे म बागमत्तीको पुलमा युवतीलाई लिएर पुगेँ ।

“बाबु प्रज्ञान, मेरो छोरा । तिमी यति दिनसम्म कता थियौ ?” नजिकैबाट उही युवतीका बुबा मलाई नै कराउँदैथिए ।

त्यसबेला मुखबाट कुनै शब्द निकाल्न भन्दा परेलीको डिलबाट कयौँ बर्षदेखि जमेर पत्थर भएको आँशुका ढिक्काहरू ओकल्न सहज भएको जस्तो लाग्छ । जति बेला पशु झैं बाँधिएर म सादा पोशाकका प्रहरीसँग बन्दुकका नालहरूको बिचमा रहेर उनीहरूबाट टाढा हुँदै गएको पाउँछु । सदा-सदाका लागि, सदा-सदाका लागि …।

समाप्त ।

आमभन्ज्याङ्ग -३, मकवानपुर, नेपाल ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

3 thoughts on “अपहरण”

  1. dherai ramro lagyo bishal
    dherai ramro lagyo bishal sir
    ani u ta sahityakaar po bani saknu bhayechha ta ….

    1. teso haina sir ma bharkhar
      teso haina sir ma bharkhar bharkhar lekhne kosis gardai 6u . tapaile ramro bhanidinu bho tesai ma khusi 6u yar

Leave a Reply

Your email address will not be published. Required fields are marked *