Skip to content

मसित प्रेम नगरे हुन्छ

  • by


तिम्रो मनको संकुचित आकाशभित्र
-मेरो प्रेमको बिशालता अटाउनै सकेन
तिम्रो अहंकारको क्षितिजभित्र
-मेरो प्रेमको लहरा फैलनै सकेन

खिया लागेका तिम्रा सोचाइहरु
-प्रदुषित भएर जताततै
-ह्वास्स ह्वास्स गनाइरहन्छ

सुगा रटाइका तिम्रा पुनरास्वरहरु
-काँडे झार भएर जताततै
-च्वास्स च्वास्स बिझाइरहन्छ

प्रेम खेल जस्तो लागे पनि
यो कुनै खेल होइन
प्रेम बन्धन जस्तो लागे पनि
यो कुनै बन्धन होइन
काँचो मासु कोपर्नेहरुले प्रेमको मर्म जानेका हुँदैनन्‌
सिनो माथि झुम्मिनेहरुले प्रेमको अर्थ बुझेका हुँदैनन्‌

प्रेम पूजा हो प्रेम आराधना हो
प्रेम आस्था हो प्रेम विश्वाश हो
प्रेम तपस्या हो प्रेम बलिदान हो
र समग्रमा प्रेम समर्पण‌ हो

प्रेममा नि:स्वार्थका अबिरल धाराहरु बगिरहनु पर्छ
प्रेममा निश्चलताका अबिराम खोलाहरु बगिरहनु पर्छ
प्रेममा सुन्दरताका अनुपाम ताजहरु उठिरहनु पर्छ
प्रेममा समर्पनका अखण्‍ड ज्योतिहरु बलिरहनु पर्छ

प्रेम आकाश जस्‍तै बिशाल हुन्छ
प्रेम क्षितिज जस्‍तै फैलिएको हुन्छ
प्रेम धरती जस्‍तै महान्‌ हुन्छ

प्रेममा किनबेचको सवालै हुँदैन
प्रेममा नाफा र घाटा पनि सोचिदैन
प्रेममा मौकाको फाईदा कदापि उठाइदैन

सही अर्थमा प्रेम अमृत हुन सक्छ
गलत अर्थमा प्रेम बिष पनि हुन सक्छ

मेरो प्रेमलाई तिमीले
-गलत अर्थमा परिभाषित गर्न खोज्दैछौ भने
मेरो प्रेमलाई तिमीले
-मात्र सम्झौताको नाम दिन चाहन्छौ भने

भो अब तिमीले मसित प्रेम नगरे हुन्छ
भो अब तिमीले मसित प्रेम नमागे हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *