Skip to content

खलपिता, खलपुत्र र खलपात्रहरू

  • by


खलपुत्रद्वारा पिता नजरबन्द गरिएपछि
ताजमहलको संगीत लाटो भएको
थियो
खलपुत्रद्वारा पितृहत्या र मातृविवाहपछि
टाइरेसियसको
भविष्यवाणी
महाविनाशको शढ्खघोष भएको थियो

यायातिद्वारा पुत्रको यौवन अपहरणपछि
पुस्ता पुस्तामाजको नाता बिटुलिएको
थियो
धृतराष्ट्रको आँखालाई पुज्न थालेपछि
एउटा सिंगै यूग अन्धा भएको थियो

यस्तै पिताहरूको जगजगी
हिजो पनि आज पनि
यस्तै पुत्रहरूको जगजगी
हिजो
पनि आज पनि

शायद यसैले समकालीन बौलाहा यथार्थहरू
घण्टाघरको आरोहन गर्दैछन्
जिब्रा
काटिएका अर्धसत्यहरू झैँ
रुन्चे एम्बुलेन्सहरू सहरैभरी चिच्याउँदैछन्
हरेक
सेता परेवा उड्दा-उड्दै
जटायुझैँ घाइते भएको छ
अशोवाटीका खोज्न हिंडेको
वर्तमान
हस्तिनापुरको बाटो गएको छ
किनभने हरेक युगमा
यो देशको
इतिहान
सतिको सरापमा परेको छ
शायद यसैले आज त
यो देश नै धरापमा परेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *