कान्तिपुर दैनिकका समाचार डेस्क प्रमुख अखण्ड भण्डारीले पत्रपत्रिकामा प्रकाशित सामग्रीहरूका त्रुटिमाथि टेकेर पुस्तक तयार गरेका छन्, समाचारको भाषा । २१ वटा मूल शीर्षकमा संरचित पुस्तकलाई विभिन्न उपशीर्षकमा विभाजन गरिएको छ । उपशीर्षकका नाम पनि रोचक र सटीक राखिएका छन् । समकालीन छापा माध्यममा प्रचलित भाषाका समस्या खुट्याउनु र समाधान दिनु यस पुस्तकको प्रमुख उद्देश्य हो । सुरुमा समाचारका अंगबारे जानकारी दिइएको छ । ती अंगका प्रकृति अनुसार कस्तो भाषा हुनुपर्छ भन्ने यसमा उल्लेख छ ।
त्यसपछि सुरु हुन्छ, समकालीन छापा माध्यमको भाषिक शल्यक्रिया । भाषाविज्ञान र व्याकरणका सिद्धान्तलाई पृष्ठभूमिमा राखेर भण्डारीले आफ्नो प्रयोगशालामा चल्तीका शब्द, वाक्यगठन, पदसंगति, हिज्जे र संकथनको परीक्षण गरेका छन् । त्यसमा देखिएका समस्यालाई औँल्याउँदै समाधान दिएका छन् । यो पुस्तक सिद्धान्तमा आधारति नभई व्यवहारपरक विश्लेषणमा केन्द्रित भएकाले पढ्दा पनि उत्तिकै रोचक लाग्छ । पुस्तक पढ्दा कुनै व्याकरण वा भाषाविज्ञान होइन, चुट्किला पढेजस्तो लाग्छ । भाषालाई कसरी सरल र सम्पे्रष्य बनाउने भनेर दिइएका टिप्सहरू पत्रकार मात्रै होइन, विद्यालय तहका छात्रछात्रादेखि विश्वविद्यालयका प्राज्ञसम्मलाई उत्तिकै उपयोगी देखिन्छन् ।
भाषाको एउटा विशेषता नै हो, यसले जटिलबाट सरल बाटो खोज्छ । जनजिब्रोमा नअड्ने ध्वनि र शब्द त्यागिदिन्छ । अब त जिब्रो मात्र कुनै ध्वनि र शब्दको निरन्तरताको आधार रहेन । कम्प्युटर, मोबाइलजस्ता प्रविधिले लिन नमान्दा पनि भाषाले वैकल्पिक मार्ग खोज्छ । त्यतिखेर व्याकरणका शास्त्रीय नियम पछि पर्छन् । भाषाका यी व्यावहारिक पक्षको एउटै कृतिमा सटीक विश्लेषण कमै भएको छ । पुस्तकको अर्को सक्षमता यसले भाषाको जीवन्तता, स्तरीकरण र मानकीकरणका लागि पत्रकारिता नै सर्वाधिक सामर्थ्यवान् माध्यम हो भन्ने पुनःस्थापित गरेको छ । भाषिक एकरूपतामा छापा माध्यमको भूमिकालाई यसले बिस्कुन फिँजाएजसरी देखाइदिएको छ । भाषामा भाँडभैलो मच्चाउने गतिविधि भइरहँदा भण्डारीले त्यसमाथि रचनात्मक प्रहार गरेका छन् ।
व्याकरण र भाषाविज्ञानका सैद्धान्तिक/प्राज्ञिक पक्ष खोज्ने पाठक भने यो पुस्तक पढेर निराश हुनेछन् । समग्रमा, त्रुटिविश्लेषणमा मात्र आधारति यो पुस्तक परम्परागत व्याकरण र भाषाचर्चाका निबन्धात्मक कृतिहरूको भीडमा अलग प्रयोग हो ।
समाचारको भाषा
लेखक : अखण्ड भण्डारी
प्रकाशक : आफैँ
पृष्ठ : २८७
मूल्य : ३०० रुपियाँ
रामबहादुर रावल
नेपाल साप्ताहिक अंक – ५२०
२०६९ कार्तिक २६
