हाबिबी जेद्दा !
जीवनमा
कल्पना समेत गरेको थिइन
म तिमीकहाँ आइपुग्छु भन्ने
तिमीकहाँ आएर
पसिना बगाउछु भन्ने,
तर
म आए,
कसरी आए, किन आए ?
त्यो त म भित्र लुकेको होला,
कि त माथिकोलाई नै थाहा होला,
जे होस्
म तिमी कहाँ आए ।
नढाटेर भन्ने हो भने
मैले जीवनमा
पहिलो पटक पसिना बगाउन सिके,
र
पसिनाको मुल्य टिप्न सिके,
जब म तिमीसम्म आइपुगे
यो तिम्रो शहरभित्र ।
हो हाबीबी जेद्दा !
तिमी कहाँ आएपछि
परदेशी जीवन बाँच्न सिके,
देशको माया कति हो कति सिके,
पराधीन जिन्दगी
यही तिम्रोभूमिमा जाने,
आफ्नो ढुकढुकीहरूको यादमा
छिनमै मर्दै बाँच्न सिके,
तड्पिनु के हो त्यो पनि सिके ।
हाबिबी जेद्दा !
आधा दशकभन्दा ज्यादा
तिमीसँग बिताइसकेको म,
अलिकति तिम्रो बयान गरिन भने
मैले तिमिमाथि गरेको अन्याय ठहर्छ
त्यसैले म बोल्दैछु
तिम्रो बारेमा….
अरब सागर
र
लाल सागर चुमेको तिमी
मरुभूमि माथि खुल्नु
र फुल्नु
म तिम्रो खुबी ठान्छु ।
मज्जित नै मज्जितले भरिएको
तिम्रो बस्ती या शहरभरि
तिम्रो धार्मिक एकता देख्दा
साचै खुशी लाग्छ
धर्मले नै सबै सबैलाई
ब्यावस्थित बाधेको छौ
तिम्रो समाजलाई
यो अर्को एउटा
सुन्दरता हो तिम्रो ।
संसारभरिका मान्छेहरू
तिलाई काम दिएर
दाम लिन आउने तिम्रो आगनमा
चोरी, डकैती, लुटपात, झैझगडा
कहिलै देखिन मैले
यो तिम्रो सबैभन्दा ठुलो
खुबी र ताकत ठान्छु म ।
अठार औ शताब्दीका मान्छे जस्ता लाग्ने
तिम्रो सन्तानहरू
बाइस औ शताब्दीमा पनि
मेरो देशको मान्छेले
प्राप्त गर्न नसक्ने प्रबिधी र सुबिधासँग
खेलेको हेर्न खुब रमाइलो लाग्छ मलाई ।
तर,
हाबिबी जेद्दा !
तिमीसँग एउटा गुनासो छ,
तिमीले मान्छे मान्छेमा
एउटा कुरामा बिभेद गर्छौ
त्यो तिमी आँफै बुझ
म योभन्दा धेरै बोल्दिन ।
किन भने यहाँ बोल्न मम्नु छ ।
हाबिबी जेद्दा !
मैले कालो बुर्काले छोपेको
तिम्रो यौवन
लुकी लुकी मज्जाले हेरेको छु ।
जो मम्नु छ हेर्नलाई
तर,
सुन्दरता त्यसैमा छ
लुकाउ तिम्रो यौवन ।
म भन्दिन
तिमी पनि अब
एकाइसौँ शताव्दीमा छौ भनेर
किन कि
त्यो तिम्रो
युगौ पुरानो संस्कृति हो भन्ने
मैले पढेको छु ।
तर नि
हाबिबी जेद्दा !
दिल नदुखाउने हो भने
एउटा कुरा भन्न मन लाग्यो
यती बिग्न तिमीसित भएर पनि
मेरो देशको
कुनै एउटा ठाउसँग
तुलना गर्न सुहाएन तिमीलाई ।
सक्छौ भने मेरो देशमा
सप्तकोशी, कर्णाली, महाकालीहरू
बगेको हेर्न आउ
लाली गुरास, चाप फुलेको हेर्न आउ
हिमाल पहाड र तराइको
एकता हेर्न आउ
कन्चनजङ्गा, धवलागिरी,
माछापुछ्रे र सगरमाथाहरू
सगर्ब उभिएको हेर्न आउ
तिमीलाई एक पटक
घुमाउन मन छ मेरो देश
शायद तिमीले पनि
धेरै धेरै सिकेर फर्कने थियौ ।
२६ नोभेम्बर २०१२
बिरानो देशबाट
भाषिक अर्थहरू
जेद्दा – साउदी अरबको एउटा प्रसिद्द शहर
हाबिबी-प्रिय
मम्नु-मनाइ
यी अरबिक भाषा हुन
