Skip to content


भदौरे झरी उकाल्छ तह पानीको
भरिन्छ मुटु यो दह बन्छ आँसुको
च्यातिएका पालभित्र चुहिएका पानी
खेल्छन अगेनामा भस्मासुर बनी

मक्किएका भित्ताहरू परि अझ बलमा
के रहुन नढली लड्छन् पल पलमा
भित्ता भित्र निरासामा सुत्केरीको मनमा
निभ्छ इच्छा जगतको पौरखको तनमा

बेहाल पारी घर टहरा जो रम्छन् महलमा
ताक्छन् झुट जिब्रोमाथि भन्दै पहलमा
तिनकै कन्चटमा ताकी बन्दुक पड्काएर हेर
धेरै भयो आशा अब केही पल बौलाएर हेर

दुखमाथि दुख बोकी आशामाथि हिड्ने उनी
ठेला पारी हातै भरि भरिया भै गुड्ने उनी
महलमा बसी दानव गरिबीको छाला काड्ने?
भाइ भाइ छोरा छोरा लडाउदै देशै भाड्ने?

पीडालाई समातेर खसाइदेउ तिमी डर
लडाइदेउ सामन्तका देखावटी पापी भर
जबसम्म उर्लिएर बाढी बनी तम्सिदैनौ
पाउदैनौ आफ्नो भाग अघिल्तिर लम्किदैनौ

सन्दिप < विक्लान्त >
रचेको मिति : २०६९ साल श्रावण ८ गते |

Leave a Reply

Your email address will not be published. Required fields are marked *