भदौरे झरी उकाल्छ तह पानीको
भरिन्छ मुटु यो दह बन्छ आँसुको
च्यातिएका पालभित्र चुहिएका पानी
खेल्छन अगेनामा भस्मासुर बनी
मक्किएका भित्ताहरू परि अझ बलमा
के रहुन नढली लड्छन् पल पलमा
भित्ता भित्र निरासामा सुत्केरीको मनमा
निभ्छ इच्छा जगतको पौरखको तनमा
बेहाल पारी घर टहरा जो रम्छन् महलमा
ताक्छन् झुट जिब्रोमाथि भन्दै पहलमा
तिनकै कन्चटमा ताकी बन्दुक पड्काएर हेर
धेरै भयो आशा अब केही पल बौलाएर हेर
दुखमाथि दुख बोकी आशामाथि हिड्ने उनी
ठेला पारी हातै भरि भरिया भै गुड्ने उनी
महलमा बसी दानव गरिबीको छाला काड्ने?
भाइ भाइ छोरा छोरा लडाउदै देशै भाड्ने?
पीडालाई समातेर खसाइदेउ तिमी डर
लडाइदेउ सामन्तका देखावटी पापी भर
जबसम्म उर्लिएर बाढी बनी तम्सिदैनौ
पाउदैनौ आफ्नो भाग अघिल्तिर लम्किदैनौ
सन्दिप < विक्लान्त >
रचेको मिति : २०६९ साल श्रावण ८ गते |
