Skip to content


के लेखु चिठी तिमीलाई आज बेदना पोखेर
गुमाए सबै यो जीवन मेरो बिदेशनै रोजेर
कल कल बग्ने मेरा ती खोली म कहाँ भेटौला
सोचेकै थिईन तिमी र म यसरी छुटौला

पिसेर ज्यान दुई चार दाम अरुकै खटन
तस्बिर तिम्रो छातीमा राखी गर्दछु जतन
हजारौं लाखौं नेपाली सन्तान कौडीमा बिकेका
के पाउनु यहाँ हेपाइ सधै फलेका थुकेका

हरा र भरा स्वदेश मेरो मनभरि खेल्दछ
दुखी यो सधै हण्डर सास्ती बेस्सरी झेल्दछ
चलन यस्तो चलायो कसले सोधु पो कसोरी
हुने र खाने स्वदेशमै बसी कमाउछ बेसरी

श्रम र शिप नसिकाई सधै पराया बनाउने
देशमा कामै नलाग्ने ज्ञान हामीलाई पढाउने
के मात्र लेखु यो छातीभित्र बेदना भारी छ
यो मुटु सधै सम्झना घरको समुद्र पारि छ

हे मेरी प्यारी दुखको भारी कहाँ म बिसाऊँ ?
नसकी थाम्न पीडा यो मेरो खोला झैँ सुसाऊँ ?
लेख्नलाई मन कतै छैन मन त्यसै मर्दछ
नेपाली छोरो स्वदेशमा हैन बिदेशमै सड्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *