भित्र-भित्रै जलिकन, भित्र-भित्रै रमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।
निभ्न लाग्या’ दियो झैँ, धपक्क एकछिन बल्छन्-बल्छन्
कसैको आडमा उभिनेहरू, अवश्य एकदिन ढल्छन्-ढल्छन् ।।
वास्ता नगरी अर्काको, आफ्नै खाल जमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।
बेहोसीमा बाचा कस्नेहरू, होस पछि बाचा फेर्छन्
जीवनलाई जुवा सम्झनेहरू, मौकै पिच्छे दाउ हेर्छन् ।।
च्याँखे थापी आफ्नै प्रियको, हात अन्तै थमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।
भित्र-भित्रै जलिकन, भित्र-भित्रै रमाउनेहरू
आँट नगरी एकचोटी, लुग्लुग खुट्टा कमाउनेहरू ।।
धिक्कार छ तिमीहरूलाई…………………………
पुस्कल पौडेल (—प्रतिक)