Skip to content


नेपाली बन्न हामीले नेपाल राख्नपर्छ है,
नयाँ विवेक पालेर उपद्रो मास्नपर्छ है ।

अठोट नव सोच्दामा पर्दैन फस्न कष्टमा,
सुन्दर कर्म गर्दामा पर्दैन पर्न भ्रष्टमा ।
बोली आदर्श भैदेमा मतिच्यूत हुँदैन र,
व्यवहार नभै राम्रो खराबी ल्याउँदैन र !

मेची पूर्व परेकोमा दर्द छ र कहाँ यहाँ,
काली पश्च रहेकोमा दुःख लुक्छ कहाँ त्यहाँ !
घैला पानी सबैक्षेत्र तनमन सबैतिर,
खुशी नाच्छ सबै ठाउँ पीडा भाग्छ नभैतिर ।

कहलिन्छ त नेपाल नयाँ भनी संसारमा,
मेलमिलापले राम्रो एकै ठा्रउँ जंघारमा ।
नेपाल नाम रह्यो र नेपाली बन्न पाइयो,
दर्द भयो कसैलाई जनता नै नचाइयो ।

खाए नेपाल नेताले जनमन भन्दछन्,
त्यसैले पो त नेपाल परेको पछि ठान्दछन् ।
गुमेको मान फर्काऊ केही हुँदैन नामले,
पाएमा काम नेपाली भोको हुँदैन मामले ।

नयाँ विचार मौलायो समृद्धिको प्रकाशले,
थोत्रा विचार भत्कन्छन्, बन्छ नेपाल मेलले ।
बेमेल छैन नौलो छ नव सूर्य उदाउँछ,
नयाँ नेपालमा नौलो चालचलन आउँछ ।

समानता र भातृत्व, सौम्य सर्वत्र जाग्दछ,
जाग्छ समझदारीको भाव जे पनि पुग्दछ ।
काममा नामको आश श्रममा ज्यानको भर,
भाव जाग्दछ मान्छेमा नकाममा परै सर ।

मनमा होस मस्तिष्क भर्ता जोश उमङ्गले,
वनमा चर्छ मज्जाले, चरो रहन्छ ढुक्कले ।
मान्छे पनि नयाँ नौलो गरे हुन्थ्यो त सिर्जना,
बन्थ्यो अनि सुखी, शान्त नयाँ नेपाल सम्झना ।

नन्दलाल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *