अलिकति आक्रोश
अलिकति उत्तेजना
अनि, अलिकति पीडाको बिस्कुन
मनभरि बोकेर
रेगिस्थान छिरेको नि बर्षौं भएछ
समयको सम्भोगसँगै
स्खलित मेरो मन
आज निक्कै गलेको छ
सायद हलचल गर्नै नसक्ने गरी
साँच्चै बिस्कुन त
मरुभूमिको तातो घामले
भसक्कै डढेछ नि !
कस्तरी अंगार बनेछ नि !
हैन भने,
खै त त्यो आक्रोश?
बेरोजगारीसँगको
खै त त्यो उत्तेजना?
उमेरसँगको
खै त त्यो पीडा?
आफन्तसँग छुट्टिदाको
उफ्फ्फ़ !
सब नष्ट भएछन
यो मरुस्थलामा
पचास डिग्रीको तातो घामसँगै
ध्वस्त भएछन सब का सब
अरे!
मैले त एउटा सपना बोकेकोथें
ल्याएर यतै रोपेकोथें
हो,रोपेकोथें
खजुरमा
अलखोरमा
वालुवामा
टपफर्म रेस्टुराँमा
तर,
खै त त्यसले पालुवा हालेको?
पालुवा हँ?
यो मरुभूमिमा?
दिवास्वप्न …..
नत्र, खै त म देख्दिन त !
त्यस्को अवशेष पनि
सायद समाधि लिएछ
चौध घण्टाको लगातार जागिरमुनि
एकमुठ्ठी रियाल मुनि
फगत भ्रमित दुनियाँ पो रहेछ
एकमुठ्ठी रियाल मुनि
यहिंनेर एउटा परिकल्पनाको अन्त्य भएकोछ
अन्त्यसँगै शुरुवात पनि भएकोछ
एउटा आयामिक जीन्दगीको
लम्बेतान बडेमानको
नोस्टालिजिया चढेर वेगसित
अवतरित हुदैंछु म
त्यो क्षितिजपारीको
हिमालहरूको देशमा
जहाँ हिमनदीहरू
आफ्नो वैंश छचल्काउँदै
सुकुमारी घामसँग आफ्नो यौवन साट्छन्
र गर्वभती हुन्छे तराई
हो,
त्यही म आफ्ना सपनाहरूलाई रोप्नेछु
पौरखी हातहरूले गोड्नेछु
सिंचित गर्नेछु पसिनाको भेलले
मलाई विश्वास छ पक्कै पनि
फुल्नेछन मेरा सपनाहरू
सुगन्धित सपनाहरू
जस्को बास्नाले लठ्ठ पार्नेछ
मेरा रेगिस्थानी दाजुभाइलाई
र त्यही सुगन्धमा सम्मोहित भएर
फिर्नेछन स्वदेश
मुस्कुराएका सपनाहरू हेर्न
सुगन्धित सपनालाई भेट्न
मलाई विश्वास छ
पक्कै पनि फिर्नेछन्
पक्कै पनि फिर्ने छन ।
-राजेश रुम्बा लामा ‘अतृप्त’
