देवकोटाको निबन्धकारिता
पारसमणि शम
थालनीः
शारदारको पहिलो अंकमा बालकृष्ण समले बर्दाहामा शिकार प्रकाशन गराएपछि नेपाली निबन्धले आधुनिकताको कॉंचुली फेर्न पाउँदछ| समले यसपछि यसविधालाई धनी र व्यापक बनाउन त्यो, पानी, आत्मविश्वास आदि जस्ता निबन्ध लेखेर बौद्धिकताको प्रयोग गरे| तर नाटककार भएका हुनाले समको झुकाउ नाटकतर्फ बढी भएको देखिन्छ| फलतः उनी निबन्ध तर्फबाट पलायन बन्दछन्| समले देखाएको बाटोलाई समातेर पाश्चात्य शैली लिएर लक्ष्मीप्रसाद देवकोटाको प्रवेश निबन्धमा हुँदछ वि.सं. १९९३ मा| यिनको आषाढको पन्ध्र नामक निबन्ध यही साल शारदा मा छापिन्छ| फलतः देवकोटाले नेपाली निबन्धलाई विश्वस्तरीय बनाउन कुनै कसर छोड्दैनन्| अझ भन्नु हो भने नेपाली निबन्धलाई धनी बनाइदिन्छन्| अन्य साहित्यको हाराहारीमा खडा पारिदिन्छन्| यिनले अंग्रेजी साहित्यका आत्मपरक निबन्धकारहरू कलरिज, चार्ल्सल्याम्ब, रवर्टलिण्ड आदिलाई नेपाली माझ चिनाउने काम गरेका छन्| यिनले धेरै निबन्ध नलेखे तापनि जति लेखे ति गुणात्मक र श्रेष्ठ छन्| निबन्धका क्षेत्रमा यिनका प्रकाशित कृतिहरू हुन्- (१) प्रसिद्ध प्रबन्ध संग्रह (अनुवाद) (२) लक्ष्मी निबन्ध संग्रह र (३) दाडिमको रूखनेर|
वर्गीकरण
देवकोटाका निबन्धलाई प्रवृत्तिगत वर्गीकरण गरेर हेर्दा निम्न प्रकारका देखिन्छन्|
१) अनुदित
२) प्रकृतिपरक निबन्ध
३) आलोचनात्मक निबन्ध
माथिको वर्गीकरणका आधारमा अनुदित निबन्धहरूमा देवकोटाका प्रसिद्द प्रबन्ध संग्रह का निबन्धहरू पर्दछन्| यहॉं देवकोटाका मौलिक सिर्जनामाथि छोटो चर्चा गरिने हुँदा अनुदित निबन्धको चर्चा नगरेकै उचित देखिएला|
१. प्रकृति/सौन्दर्यपरक निबन्धः
लक्ष्मी निबन्ध संग्रह र दाडिमको रूखनेर का निबन्धहरूलाई अध्ययन गरेर हेर्दा प्रकृति/सौन्दर्यपरक वर्गीकरणलाई अझ तीन भागमा बॉंडेर अध्ययन गरे राम्रो हुन्छ| यस अन्तर्गत उनका निबन्धहरू (१) रहस्यमूलक (२) औपचारिकतामूलक र (३) स्वप्रस्फुटनमूलक दृष्टिकोणबाट हेर्न सकिन्छ|
१. रहस्यमूलकः
देवकोटाका निबन्धहरूलाई हेर्दा लक्ष्मी निबन्ध संग्रह भित्रका ६ वटा रहस्यमूलक प्रवृत्ति अंगालेका छन्| मान्छे जादू, मेरी शिशु, वैराग्य, पॉंचवटा चाहिने कुरा, आकार र अभिप्राय र सत्य सोझो हुन्छ जस्ता निबन्धमा जीवनका यथार्थ वस्तुलाई बिहिरी पक्ष र स्वभावलाई प्राकृतिक शक्तिले आन्तरिक प्रेरणा र प्रभाव दिइने कुरा बताइएको छ| मान्छे जादू- निबन्धमा उनले चेतना, अन्तरदृष्टि, मानव क्रिया, अन्तः शक्ति, प्रकृति प्रेरणा आदि तत्त्वलाई अद्वितीय शक्तिका रूपमा स्वीकारेका छन्| यी निबन्धहरूमा देवकोटाले एउटी शिशुको निर्दोष हॉंसोमा ईश्वरीय छवि प्राप्त हुने कुरा स्वीकारेका छन्| आकार र अभिप्राय निबन्ध रगस्यात्मकताका दृष्टिकोणमा सर्वश्रेष्ठ छ| यसमा उनले अन्धो प्रकृतिमा निर्भर नरहने कुरा उठाएका छन्| पॉंचौटा चाहिने कुराहरू- को उल्लेख गर्दै ईश्वर, आत्म स्वर्ग, नरक र धर्मका पक्षमा वकालती गरेका छन्| सत्य र वैराग्यले मानवलाई शान्त बनाउँछ भन्ने कुराको उल्लेख गर्दै देवकोटा वैराग्यमा भन्छन्- तर भित्र मर्मस्थानमा विषयको वेदना यस्तो हुन्छ भन्ने सजीव अनुभव नभई मानिसलाई संसारमा सच्चा तवरले वैराग्य उत्पन्न हुनसक्दो रहेनछ|
२) औपचारिकता मूलकः देवकोटाका नौवटा निबन्धलाई यस वर्गीकरण अन्तर्गत राखिएको छ| कल्पना, कला, कला र जीवन, हॉंस्यरस, छन्द र लय, छोटो किस्सा, साहित्यमा शिवत्व, श्रीगणेशाय नमः कवि ुहने धुनमा, र मेरो पाल्पा तानसेन तर्फको यात्रा जस्ता निबन्ध औपचारिकता मूलक छन्| कलाको औपचारिक मूल्यलाई सैद्धान्तिकहरूपमा हेरेका छन् यी निबन्धहरूमा| कल्पनाको उडान भर्दै स्वच्छन्दतावादी बनी देवकोटा यी निबन्धहरूमा रूमलिएका छन्| समालोचक राजेन्द्र सुवेदीले देवकोटालाई नेपाली साहित्यको कलरिज भनी स्वीकारेका पनि छन्| कल्पनाका सन्दर्भमा उनको यस्तो मत छ जसले तिनैकाल जोड्ने काम गर्दछ| उनी भन्छन्- वास्तवमा मानव कल्पनाले तीनै काल जोड्दछ र दूरतालाई विजय गर्दछ र सपना र सुनसानमा विलिन भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ|३ यस वर्गका निबन्धहरूमा देवकोटाले कल्पना, भावना, सौन्दर्य, कला, जीवन, साहित्य, आदि विषयलाई गम्भीर चिन्तन गरेर सैद्धान्तिक रूपमा स्थापना गर्ने जमर्को गरेको देखिन्छ|
३. स्वप्रस्फूटनमूलकः
समाज, राष्ट्र, संस्कृति, जीवन प्रकृति आदि तत्त्वलाई स्वच्छन्द भावप्रवाहमा उडाएर स्वच्छन्दता र सौन्दर्यचेतनाद्वारा सिंगारिएका तेह्रवटा निबन्धहरूलाई स्वप्रस्फूटनमूलक वर्गमा राखेर हेरिन्छ| यी निबन्धहरू हुन्- सरिताको कलकल, आषाढको पन्ध्र, एउटी चरीको चिरीबिरी, फूल, निद्रा, आमाको दिल, बेलामा, गौरी-शंकरको यात्रा, के नेपाल सानो छ? श्री पञ्चमीको दिन २०१०, जुवा, भ्रमणको महत्त्व, म सुवासिनी मानिस भएको भए के गर्ने थिएँ आदि| स्वतः प्रस्फुटन भएका विशुद्ध सौन्दर्य तत्त्व बोकेका यी निबन्धहरूमा प्रकृति र नेपाली जनमानसको सरल र स्वाभाविक, निष्कलङ्क जीवनलाई बोकेको पाइन्छ| भावनात्मक, प्रकृतिप्रेमी, स्वच्छन्दतावादी, प्रकृतिवादीका रूपमा देवकोटालाई यी निबन्धले स्थापित गरेको पाइन्छ|
२. आलोचनात्मक निबन्धः
साहित्य जीवनको आलोचना हो| देवकोटाले जीवन र जगतका विविध पक्षको टिप्पणी र आलोचना आफ्ना निबन्धहरूमा गरेका छन्| उनी भन्छन् – म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन न हुँ पाण्डित्य दर्शन| अझ उनी- यहॉं म जीवनको टीकाकार बनेको छु| समेत भन्छन्| प्राकृतिक सभ्यताका सरलताभित्र आधुनिकताको नाममा पसिरहेको विकृतितिर औंला देखाउने काम गर्दछन्| परम्पराका रूपमा मानवमनभित्र बसेका रुढी, विकृति, अन्धविश्वास, अन्धसंस्कार तथा अन्धपरम्पराप्रति आलोचना र व्याङ्ग्य गर्ने काम देवकोटाका यो वर्गका निबन्धहरूले गरेका छन्| यस वर्गमा यिनका लगभग सताइसवटा निबन्धहरू पर्दछन्| ती हुन् पहाडी जीवन, कुम्भकर्ण, जुँघा, लेख्ने, बानी, वीरहरू, भलाद्मी, नेपाली गुण्डो, मातृभाषाको लागि, नरनारी, दाडिमको रूखनेर, दान, शिक्षा, सुस्तरी सार फेर, हाइहाइ अंग्रेजी, कविराजको च्याङ्ग्रे खच्चर, गधा बुद्धिमान कि गुरू?, मान्छेलाई घडीबाट हानी, फर्सीको झोल, ईश्वरवाद र अनिश्वरवाद, साधुको महात्मय, सॉंढे, सिशुभक्षकका लागि क्षमा प्रार्थना आदि|
देवकोटाको भाषा शैलीः-
लक्ष्मी निबन्ध संग्रह को भाषा शैलीका विषयमा देवकोटा आफैंले भनेका छन्- यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना प्राचुर्य र कविताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान्| मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहॉं शायद पोथी गुण होला….. सायद यसैले होला समालोचक इन्द्रबहादुर राईले उनको गद्यलाई पोथी गद्य को संज्ञा दिँदछन्|४ देवकोटाको गद्य ककोमल कलात्मक तथा काव्यात्मक छ| कल्पनामा कुँदिएको, रंगीचंगी सजीव, सरिताको कलकल झैं उनको शैलीमा सौन्दर्यचेत र कल्पनाको प्रखरता पाइन्छ| उनको वाक्य कुँदिइएको छ, कतै कतै कृत्रिमताको आभास पाइन्छ| केही छोटा वाक्य छन् भने कतै कतै सय शब्दभन्दा धेर शब्द प्रयोग एउटै वाक्यमा पाइन्छ| अनुच्छेदहरू लामा किसिमका छन् उनका निबन्धहरूमा| कल्पनाको उडानमा उड्ने देवकोटाका भाषा शैलीको सन्दर्भमा भैरव अर्याल यसो भन्छन्- देवकोटाको विशेषता शैली होइन, उडान हो, त्यसै उनी आफ्नो उडानमा शब्दलाई उफार्छन्, तन्काउँछन्, वाक्यलाई मुन्ट्याएर हुन्छ कि व्याकरणलाई नाघेर हुन्छ देवकोटाभित्रको निबन्धकार उडान रोक्न चाहँदैन|
निथार-पिथार
कल्पना मानिसको तेस्रो आँखा हो| यसैको सहयोगमा देवकोटाले नेपाली निबन्धलाई विश्वस्तरीय बनाइदिएका छन्| डा. घनश्याम नेपाल लेख्दछन्- उनका निबन्धहरू पश्चिमका माइकल दि मोते, जोसेफ एडिसन्, रिचर्डस्टील तथा चालर्स ल्याम्ब जस्ता विरलाकोटि निबन्धकारहरूका निबन्धका हारमा उभिन्छन्| रागात्मक, भावनात्मक, कल्पनात्मक, सौन्दर्यमय, प्राकृतिक, बिम्बयुक्त, सरल, आलोचनात्मक, स्वच्छन्दतावादी, व्याङ्ग्यत्मक, रसिक आदि विविध प्रवृत्ति अँगालिएका देवकोटाका निबन्धहरू उत्कृष्ट छन्| कतै गफ जस्तो लाग्ने, कतै जीवन जगत्को आलोचना जस्तो भान हुने यिनका निबन्धले नेपाली निबन्ध साहित्यलाई धनी र गुणात्मक तथा धनात्मक बनाएको छ भन्न म पछि सर्दिन|
अन्त्यमा देवकोटाको यस भनाइलाई प्रस्तुत गर्दै यो छोटो लेखमा उनको निबन्धकारिता चिनाउने प्रयास समाप्त गर्दछु| चट्ट एक विषय टिप्तछु लहडी तवरसँग र त्यससँग खेल्दछु म त्यसमा कन्सिरीका रौं तताउन्नँ, म त्यसको सीङ पक्रेर पुच्छरको टुप्पोसम्म जॉंच्तिनँ| म गहिरो छैन….| म भनेको जीवनको गफाडी टिप्पणी हुँ, म व्याख्यान होइन, न हुँ पाण्डित्य दर्शन|
सन्दर्भ स्रोतः
१. लक्ष्मीप्रसाद देवकोटाः- लक्ष्मी निबन्ध संग्रह- साझा प्रकाशन २०५३
२. लक्ष्मीप्रसाद देवकोटा- दाडिमको रूखनेर, साझा प्रकाशन २०३९
३. राजनारायण प्रधान- केही कृति केही स्मृति- साझा प्रकाशन २०४२
४. इन्द्रबहादुर राई- टिपेका टिप्पणीहरू- ने.सा. परिषद्- सन् १९६६
५. राजनेद्र सुवेदी- स्रष्टा सृष्टिः द्रष्टा दृष्टि- साझा प्रकाशन- २०४३
६. डा. घनश्याम नेपाल- ने. सा. को परिचयात्मक इतिहास- जनपक्ष प्र.- सन् १९९४|
