यो देश रुनेहरुकै मात्र रहेछ किनकि यहाँ रुनेहरुको मात्र भाउ छ । जव देश राम्ररी हाँक्न असफल हुन्छन् अनि नेताहरु रुन्छन् । गोहीका आँसु झरेको देख्दा क्षमाशील नेपाली जनताले उनीहरुलाई क्षमा दिन्छन् । त्यहि नेता जब क्यामेराबाट ओझेलमा पर्छ , अट्टहास गर्दै हाँस्छ । ऊ दङ्ग पर्छ सोझा साझा नेपाली जनतालाई छक्याउन पाएकोमा । जनताहरु पनि यसरि रुने नेता पाएकोमा मक्ख पर्छन् , नेता रोएको समाचार बन्छ ऊ रातारात प्रख्यात हुन्छ । उसको रुवाइको भित्रि अर्थ केवल उसलाई मात्र थाहा हुन्छ । कमाइ खाने भाँडो प्वालपरेकोमा ऊ रोएको कसैलाई पत्तै हुन्न ।
कसैलाई एउटा प्रान्त चाहिन्छ अनि गोलि चल्छ । घरमा भोकै पेटहरु छोडेर चारोको खोजीमा हिडेको निर्दोष जनता मारिन्छ । समबेदनाको नाउमा फेरी नेता गोहीको आँसु झार्छ । आफ्नो स्वार्थको कारणले हजारौं परिवारको बिल्लीबाठ बनाउने सरकारले त्यो ज्यानको मूल्य तोक्छ दश लाख । बस् ! फेरी अर्को अर्को सिकारको खोजीमा लोकतन्त्र आफ्नो बाटो लाग्छ ।
यहाँ सबै रुनेहरू मात्रै भएको कारण यो देश रुनेहरुको देश हो !
आफ्नो परिवारको गर्जो टार्नको लागि रातदिन पसिना बगाउने खेत बग्दा रुने किसानको समाचार बन्दैन । घरको खाबो मक्किएर घर ढलेको , पहिरोले पुरै गाउँ लगेको, बाढीले घरखेत बगाएको आदि इत्यादी कारणले रुनेहरुको त लेखाजोखा नै छैन । सरकारलाई आफ्नै आसु पुस्दैमा फुर्सद छैन, उल्टै पिडामा पिल्सिएका जनताका घर र टहरा बाटो बिस्तारको नाउमा भत्काई दिन्छ अनि बिल्लीबाठ बनाएपछि फेरी गोहीको आँसु बगाउँछ । बिचरा ! नेपाली जनता आफ्ना नेताको आँसु पुस्न आतुरिन्छ । नेता कहिले देशलाई सिंगापुर बनाउन नपाएकोमा रुन्छ, कहिले स्विजरल्याण्ड बनाउन नपाएकोमा रुन्छ । नेपाललाई अरु देश जस्तो बनाउन खोज्दा खोज्दै नेपाल हाइटी र सोमालिया बन्न पुग्छ ।
