को हो? मैले चिनेको मान्छे त होइन जस्तो छ । कि कतै परिचय भएर मैले बिर्सेको पो हो कि ? होइन होइन नयाँ अनुहार नै हो । म उसलाई नियाल्छु तलदेखि माथिसम्म सार्है भद्दा देखिएको थियो उसको लुगा , प्रचन्ड गर्मीमा पनि बाक्लो कालो ज्याकेट। त्यो पनि महिनौ नधोएको जस्तो तरकारी पोखाएको जस्तो पहेँला पहेँला दागहरु। कपाल जिङरिङ्ग लट्टा परेका, मुखमा पनि कालो लत्पतिएको । तर यी सबैभन्दा आँखा लाग्ने कुरा उसको लुगा-जुत्ताहरुको मुल्य, पक्कै पनि महँगो हुनुपर्छ ।

म सधैं जस्तै ९ बजे अफिस पुग्ने हतारमा बस कुरिरहेको थिएँ । अकस्मात पछाडिबाट कसैले मेरो काँधमा हात राख्यो ।

मलाई कता कता अप्ठ्यारो लागिरहेको थियो @म सम्झन धेरै जोड गर्छु तर सक्दिन। मैले यहाँलाई चिन्न सकिन कसरी भन्नु? कतै चिनापर्ची भएर मैले बिर्सिएको हो कि? होइन आज-भोलि १० थरीका मान्छेहरु बाटोमा भेटिन्छन बिभिन्न थरीका समुह र बिभिन्न उद्देष्य बोकेका मान्छेहरु । शायद कोही होला ।

उसले एकटक लगाएर मेरो अनुहार हेर्यो। उसको अनुहारमा केही केही थिएन, शान्त थियो। एकदम शान्त न ग्लानि, न रिस न माया ।

उसले मेरो सर्टको खल्तीमा हात हाल्यो, मैले अनुमान गरें यो पक्कै पनि पाकेटमार हुनुपर्छ, तर पाकेटमारले यसरी सबैले देख्ने गरी खल्तीमा हात हाल्न सक्छ त? म केही बोल्न सकिन। उसले मेरो खल्तीबाट चुरोट निकाल्यो। एक खिल्ली चुरोट निकालेर बट्टा खल्तीमैं राखिदियो । म उसलाई हेरिरहेको छु, हेरिरहेको छु ।

“भाइ सलाइ छ? ” आवाजमा वजन थियो । मलाई अलिअलि डर लगेर आउछ। म खल्तीबाट लाइटर निकालेर दिन्छु ।

ऊ लाइटर लिन्छ र केही नबोली फटाफट अगाडि बढ्छ।

मलाई उसको यो व्यबहार अनौठो लाग्छ एकदम अनौठो, कस्तो खालको मान्छे होला यो? पहिला चुरोट निकाल्यो केही नभनी, फेरि सलाइ चाँही किन माग्नु परेको हो? त्यो पनि त त्यस्तै गरी निकाल्नु सक्थ्यो नि ।

उसको व्यबहार म हेरी राखेको छु । ऊ त्यहाँ पर गएर चुरोट सल्काउछ । उसले म पट्टि एकचोटि पनि फर्केर हेरेको छैन ।

मैले सुनेको छु। मान्छेहरु यस्तै हुन्छन, दिमागले काम नगरेपछि। शायद यो पनि त्यही बर्गको मान्छे हुनुपर्छ । मलाई यिनीहरुसँग डर लाग्छ, यिनीहरुको कुनै भरोसा हुँदैन, यिनीहरु जे पनि गर्न सक्छन । यिनीहरुको मनमा डर भन्ने हुदैन, कि यिनीहरु एकदम डरपोक हुन्छन्, मागेमा नदेला भन्ने डरले उसले मसंग नमागेको पनि त हुन सक्छ! यो पनि त एउटा डर नै त हो, भनेपछि त्यो मान्छे डरपोक थियो कि निडर थियो? मैले हिसाब गर्न सकिन ।

उसको व्यबहार एकदम अनौठो हुँदैजान्छ म हेरिरहेको छु । ऊ बाटो छेउको खम्बालाई तलदेखि माथिसम्म नियाल्छ अनि गफ सुरु गर्छ, म टाढा भएकोले उसको कुरा सुन्न सक्दिन तर मलाई थाहा छ ऊ पक्कै पनि गफ गर्दैछ हात हल्लाई हल्लाई । ऊ हाँस्न थाल्छ एकोहोरो खम्बासँग बिदावारी हुन्छ अनि म भएकै बाटो पट्टिबाट फर्किएर टाढा जन्छ , हाँस्दै हाँस्दै। भर्खरै बस बिसौनीमा आइपुगेका हरिदाइ उसको व्यबहार देखेर हाँस्न थाले, मलाई पनि हाँसो लाग्यो हाँस्दै भने “पागल” ।

आजभोलि अफिसको काम अलि चाप छ । एउटै फाँट्को सुब्बा बिदामा बसेका छन्। अफिस गएदेखि कहिले त चियासम्म खाने टाइम हुँदैन। यता जाऊ उता जाऊ खाली दौड मात्रै ।

आज तलब बुझ्ने दिन पनि हो क्यारे कमसेकम आज त अलि बिशेष दौडिनै पर्यो। तलब थापेको भोलिपल्टको दिनदेखि यही दिनको लागि दौडिएको छ। ” ए खर्दारसाब, त्यो हाम्रो उहाँको फाइल ठीक भयो? यसो हेरिदिनुहोला है।”

हाकिमसाबको आँखा छलेर चिया खान पुगेको त बुढा अगिनै आइपुगिसकेछन। खर्च पानीको ब्यबस्था गरिदिने भेट्टाएछन ।

“त्यो भएको छैन, म अहिले गर्छु सर, बिहानदेखि दौडिएको दौड्यै छु यसो चिया खान पर्यो भनेर ।”

“हुन्छ हुन्छ, ए साउनी खोइ हाम्रो खर्दारसाबलाई चिया ।”

हाकिमसाब कहिलेकाही साह्रै नम्र हुन्छन किन हो कुन्नि महिनामा एक दुई चोटि ती हाकिमको दर्शन पाइन्छ अघिपछि चाहिं उही हो व्यबहार ।

साउनी चिया लिएर आउँछे ,”ल चिया अरु के खानुहुन्छ? ” “खोइ के छ लेऊ न। समोसा छ?” “छ ।” “ल त्यही देऊ त “”के हो सर पनि आज तलब आउने दिन त अलि बेग्लै खाजा खानुपर्छ नि! आज झन घरमा नै काटेर खसीको मासु बनाएको थियो, ताजा खसीको मासु चिउरा पो खानु पर्छ नि, हाकिमसाबहरुले त त्यही खानु भो ।”

साउनीको सुझाब पनि ठिकै हो। कति चिया र समोसामा मात्रै चित्त बुझाउनु? कहिले काहीं त खानै पर्ने हो। तर आफ्ना खल्तीले फेरी आधा महिना पनि भ्याउन्न ।”हाकिमसाबले खाने र हामीले खाने कहाँ एउटै हुन्छ त हो? हामीलाई यही ठीक छ कि कसो हाकिमसाब?” हाकिमसाबले मेरो आसय बुझिहाले हाकिम न परे “खर्दार साहेब त्यसरी नभनौ न हो, लौ साहुनी देऊ देऊ एक ठाउँमा मासु चिउरा, अनि खाजा भएपछि उहाँको काम सकिदिइहाल्नुहोला है ।” “काम सुरु त अघिनै गरेको छु अब फर्केर सकिदिइहाल्छु ।” आज हाकिमको फुर्ती त्यही कामले आएको हो भन्ने कुरा पनि थाहा छ, अनि मेरो नाममा आज मासु चिउरा पनि त्यतैबाट आएको हो भन्ने पनि थाहा छ । यतिसम्म भैसकेपछि नाइँ कसरी भन्नु?

“अनि खर्दारसाब तपाईंले लाईफ इन्सुरेन्स गराउनुभयो? उहाँ एजेन्ट हुनुहुन्छ, गराउने विचारमा हुनुहुन्छ भने।”

हाकिमसाबसँगै भएको मान्छे एउटा फाइलवाला, अर्को चाँहि एजेन्ट रहेछ ।

“होइन हाकिमसाब, त्यो मरेपछि पाउने पैसाको लागि जिउँदैको पेट किन काट्नु?”

आफुले बुझेको कुरा त्यति हो। एजेन्टले मौका पाइहाले “कुरा त्यस्तो होइन। यो एक प्रकार को बचत हो। पैसा नमरिकन पाउनु पनि सकिन्छ ।”

यी त पछी नै पो लाग्ने भए त त्यसैले एकै चोटि कुरा सिध्याउनु राम्रो जस्तो बिचार गरेर भनिदिएँ।

“कुरो त्यस्तो पनि होइन, हेर्नुस् खर्दारको तलब, ५ जनाको परिवार महिनाको २०-२२ मा पुगेपछि खल्ती टक्टक्याउन सुरु हुन्छ । खल्तीमा केही नभएपछि खल्तीको सोभा पनि नआउने रहेछ हकिमसाब् धेरै खल्ती भएको पाइन्ट भएको हुनाले यता पट्टि छ कि उता पट्टि छ कि भनेर धेरै चोटि झुक्किएको हुनाले यस पाला दशैमा एउटा मात्रै खल्ती भएको पाइन्ट सिलाउने बिचार गरिराखेको छु।” मेरो कुराले हाकिमसाबको चित्त बुझाएछ क्यारे बुढा हाँस्न थाले, होटेलनी पनि हाँस्न थाली । हाकिमसाबको गफ कहिले नसकिने, आपद् त अहिले पो पर्यो। पहिला नै उठेर जाउँ भने पैसा नतिरी कसरी हिंड्नु? पैसा तिरेर हिडौं भोलिदेखि यो पसल १ महिनालाई नछिरे पनि हुन्छ सार्है अप्ठ्यारो पो पर्यो त। बरु अरु दिनकै जसरी चिया र समोसा बजाएर हिंड्नुपर्ने रहेछ पहिला नै। लोभी मन, मिठो भनेपछि पेट, जिब्रो पनि रसाएर आउने त्यतिकै। मलाई उठेर जान सार्है गाह्रो पर्यो। मैले त चिया र समोसा नै भनेको त हुँ के गर्नु बुढाले अर्डर दिइहाले । खल्तीबाट एउटा चुरोट निकालेँ र सल्काएँ। उता काम टन्न जम्मा भयो होला । फेरि हाकिमले भनेको काम पनि त्यतिकै छ। होटेलबाट बाहिर निस्किएर हेरेको २ जना अघि काम लिएर आउने बसिरहेका रहेछन। उनीहरुसँगै केही छिन गफ गरेर लगें अफिसतिर, पैसा उनीहरुले तिरेछन भने राम्रै भो, होइन भने भोलि खाजा खान जाँदा तिर्नेपर्ला। यहाँ पुगेपछि जहिले पनि मेरा पाइला अड्किन्छन्, पहिला भित्रको रमाइलो मात्रै भए पनि हेरौं भन्ने लाग्छ। भित्र गएपछि त्यही हो, लागेको बानी। घर नजिकैको पसल, गाउँका साथीहरु पनि जम्मै जम्मा भएका हुन्छन आफुभन्दा धनी साथीहरु पनि आउने भएकाले प्राय निशुल्क नै पिउन पाइन्छ तिर्ने बेला मा यसो छ्ड्के लागेपछि।

“ल आउनुस् आउनुस् खर्दार साहेब, हामी पर्खिराखेको, ए साहुजी ल ल एक गिलास ।”

आफु ढोकाबाट छिर्न पाएको छैन, गिलास तैयार।

हामी ५ जना साथीहरु थियौं केटाकेटी बेलादेखि क्याम्पससम्म संगै पढेका, म ती साथीहरुभन्दा पढाइमा साह्रै तेज थिएँ। जाँच आउने बेलामा सधैं मैले सिकाउनु पर्थ्यो। म पढाइ सकेपछि लोकसेवाको तयारीमा लागें, नाम निस्किएको दिन दुनियाँले बधाई दिन आए। तिनै साथीका बाउआमाहरुले पनि छोरो हुनु त यस्तो पो पनि भने।

म जागिरे भएर गएपछि दुई जनाले ब्यापार सुरु गरेछन्। एउटा कता हो NGO मा काम गर्न गएको थियो रे अहिले एउटा NGO गाउँमा नै चलाएर बसेको छ। बेला बेलामा बिदेशी आउँछन रे अनि के के गर्न भनेर पैसा दिएर जान्छन रे । बाँकी एउटा चाहिँ जग्गा जमिन टन्न भएको पर्यो, उसलाई कसैको काम गर्ने जरुरत नै छैन।

कहिले काहीं मलाई मैले यो जागिर किन खाएको होला भन्ने कुराले साह्रै दिक्क बनाउछ, महिनाभरि कुर्र्यो, १ को २ मा जम्मै पैसा सकिन्छ। फेरि कुर्यो, फेरि कुर्यो लाग्छ तलब भन्दै म काल कुरी राखेको छु। जुङ्गा फुल्न थालिसके। अब कतिनै हो र? १-२ गिलास रित्याएपछि कुरा रमाइला हुँदै जान्छन, हामी आर्थिक, राजनीतिक, सामाजिक सबै कुरा गर्छौ। हाम्रो कुराकानीको बिषय हुँदैन। जे मनमा लागे पनि बोल्न पाईन्छ, कहिलेकाहीं हामी गफै गफमा देशका मन्त्रीहरु फेरिदिन्छौ, देशको आर्थिक स्थिति फेरिदिन्छौं तर हामीले कहिले तलब फेर्न सकेनौ। आज म त्यही छु जुन दिनहरुमा मैले जागिर खाएको थिएँ। घर त्यही छ, झ्यालको खापा उप्किएको थियो त्यो जस्ताको तस्तै छ। बाउले हालेको टायलको छानो चुहिएको एक युग भयो। माथिबाट प्लास्टिकले छोपेको छ। बर्षामा ठुलो पानी पर्दा पानी थाप्ने भाँडा राख्ने गरेको छ चुहिएको पानी ले माटोको बुइगल नबगाओस भनेर ।

साथीहरु यसरी रात दिन भट्टीमा पैसा उडाउछन तर उनीहरुको छानो कहिल्यै चुहिंदैन। उनीहरु मोटरसाइकल चढ्छन् पेट्रोलमा खर्च गर्छन्। तरुनी घुमाउँछन् तर उनीहरुको झ्यालको खापा फेर्नै पर्दैन । म तलब थापेको दिन मिठो खाजा खान सक्दिन, उनीहरु महिनाको अन्तिम दिन अघिल्लो महिनाको बचेको पैसा खर्च गर्न रेस्टुरेन्ट जान्छन्। तैपनि मलाई याद छ मैले उनीहरुलेभन्दा धेरै अगडि जागिर खाएको निजामती कर्मचारी, सरकारको नून खाएको। मलाई रक्सीले घुमाउन थाल्यो । अब धेरै बेर बस्यो भने मैले जे पनि गर्न सक्छु म यहाँ बाट निस्कनु ठीक हुन्छ । म निस्कन्छु कसैलाई केही नभनी लुसुक्क ।

म बस बिसौनीमा छु। भट्टीबाट निस्केर मलाई त्यो खम्बा देखेपछि बिहानको कुरो याद आउँछ, मेरो खल्तीबाट त्यसले चुरोट निकाल्यो, म डराएको थिएँ । त्यो हाँस्दै गयो त्यसपछि मात्र म हाँस्न सकेको थिएँ। मलाई रमाइलो लाग्छ । म बिचार गर्छु, हो बिहानको त्यो मान्छेसँग मेरा धेरै कुरा मिल्छन। उसले मेरो चुरोट खल्तीबाट निकालेर खाइदियो, मैले आज हाकिमसँग आउनेको खाइदिएँ, अहिले साथीहरुको खाइदिएँ आफ्नै खर्चमा साथीहरुलाई खुवाउने रहर त नभएको होइन। ……तर खान नजाऊँ, छोडिदिन मनले मान्दैन। त्यसले यही खम्बासँग हो क्यारे कुरा गरेको मलाई पनि यसो कुरा गरिहेर्न मन लाग्छ। तर मैले त्यसको केही कुरा नै सुनिन, के कुरा गर्यो होला? धत् मैले यो के सोचेको खम्बासँग कुरा गर्ने? होइन मेरो दिमाग त ठीक छ नि अहिलेसम्म । मलाई हाँसो लाग्छ, मैले के सोचेको होला, मलाई झन हाँसो लाग्छ। म हाँस्न थाल्छु , मनमनै हाँस्न थाल्छु। तर कति बेर पत्तै नपाई म जोड ले हाँस्न पुगेछु ।

बस बिसौनीतिरबाट आवाज आउँछ “ए बिहानको पागल त अँझै यतै घुम्दै रहेछ।”

अनेसास जापानको प्रकाशोन्मुख “छहारी” कथा संग्रहबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *