घर घरमा सजाउने बस्तु होइनन् नारी
बिज्ञापनमा बजाउने बस्तु होइनन् नारी
बेचिंदैछन् चेलीहरू भारतका शहरतिर
पैसासँग भजाउने बस्तु होइनन् नारी
चुलो चौको मेलापात धन्दामा नै बित्छ जीवन
काममा मात्र कजाउने बस्तु होइनन् नारी
नचलाउ सुन्दरीको होडबाजी कतै पनि
रुपको लागि दँजाउने बस्तु होइनन् नारी
छोरो जन्मे भोज चल्छ छोरी जन्मे घृणा
घरको आँगन बिझाउने बस्तु होइनन् नारी
