वहिदा आज असाध्यै खुशी छिन्, खुशी पनि किन नहुन, चार बर्ष पछि उनको छोरा अब्दुलाह गाँउ आउँदैछ । वहिदा पक्षिम नेपालको कुनै सानो गाँउमा बस्छिन । परिवारमा उनक लोग्ने हमिद, उनकी सासु खालीदा बेगम र उनको छोरा अब्दुल्लाह छन्, जम्मा चार जना मात्र । यो गाँउमा ४० परिवार छन्, ३२ परिवार हिन्दू र ८ परिवार मुस्लिम । धार्मिक रुपमा फरक मान्यता भए पनि गाउँलेहरु मिलेर बसेका छन, यो गाँउमा । दसैं, तिहार, होली अनि बकर इद, इद उल फितरमा उस्तै रौनक हुन्छ । यो गाँउलाइ धार्मिक सहिस्णुताको नमुना गाँउ भन्दा अतियुक्ती हुँदैन ।
केही बर्ष पहिलासम्म यो गाँउ यस्तो थिएन । गाँउलेहरुबिच एक आपसमा धार्मिक आस्थासँग सम्बन्धित मनमुटाव ब्याप्त नै थियो । दुई बर्ष पहिला इराकमा अतिबादी मुस्लिम समुहद्वारा निरपराध नेपाली कामदारहरुको हत्या हुँदा यो गाँउको धार्मिक सन्तुलन अलिकति खल्बलिएको जस्तो भएको थियो तर मुस्लिम धर्मावलम्बी गाँउलेहरुले अतुलनिय संयम अपनाएको हुनाले कुनै अप्रिय घटना भने घट्न पाएन । त्यतिबेला वहिदाको नेतृतवमा मुस्लिम समुदायले अतिबादी इराकी समुह अन्सार-अल-सुन्नाहको अमानविय कार्यको घोर भर्त्सना गरेको थियो । त्यो समुहले एकदमै निच तथा पासविक कार्य गरेको भन्ने निस्कर्ष निकालेक थिए, उनिहरुले । जुन धार्मिक कारण देखाएर नेपालीहरुको हत्या गरिएको थियो त्यो मुस्लिम धार्मिक मान्यता र पवित्र ग्रन्थ कुरानको बिरुद्द थियो भनेर गाँउमा बिरोध र्याली पनि निकालिएको थियो त्यतिबेला, जतिबेला राजधानीको मुटुमा जामे मस्जिद जलाइदै थियो । कुरानले त हिंसालाइ होइन शान्ति र मेलमिलापलाइ नै प्रार्थमिकता दिएको छ र त्यस्तो पासविक कार्यको अनुमती कुरानले कुनै पनि हालतमा दिंदैन । केही अतिबादी समुहले कुरानको मर्मको गलत व्याख्या गरेर अमानविय काम गरिरहेका हुनाले पुरै मुस्लिम समुदायले नै पीडित भइरहनु परेको छ भन्ने ठहर छ वहिदा लगायत अरु सबै गाँउलेहरुको ।
मुस्लिम समुदायको ईतिहास नेपालको ईतिहास जत्ति कै पुरानो छ भनेर वहिदाका अब्बुले वहिदालाइ सानो छँदा बताउनु भएको थियो । वहिदाका अब्बु आफ्नो समुदायमा असाध्यै प्रतिस्ठित हुनुहुन्थ्यो, स्थानिय मस्जिदका मौलबि तथा स्थानिय मदरसाका संरक्षक भएका हुनाले। अब्बुले नै वहिदालाइ बताउनु भएको थियो, अङ्रेजहरुले ब्यापारीको भेषमा आएर भारत माथि आक्रमण गरेपछि त्यतिबेलाको अवध राज्य अर्थात लखनउका नवाबका पारिवारीक सदस्यहरुलाइ कान्तिपुरका तत्कालीन सासकले शरण दिएका थिए रे । नवाबका तिनै पारिवारीक सदस्यहरुसँगै अरु केही परिवार पनि नेपाल आएका थिए त्यतिबेला, अङ्रेजहरुको थिचोमिचो सहन नसकेर । कान्तिपुर जाँदा बाटोमा पर्ने बिभिन्न गाँउहरुमा ति परिवारहरु स्थापित भएका थिए रे । त्यसरि नै यो गाँउमा पनि एउटा परिवार बस्न पुगेको थियो, समयसँगै एक परिवारबाट बढेर आठ परिवार पुगेका रे । नेपालको एकिकरणमा पनि मुस्लिम समुदायको ठुलो योगदान छ रे । पृथ्वी नारायण शाहको सेनामा हतियार बनाउने र हतियार मर्मत गर्ने जिम्मेवारीमा मुसलमानहरु पनि थिए रे । उनिहरुले गरेको सेवाको पारीतोसिक स्वरूप कान्तिपुर बिजयपछि कान्तिपुरको मध्य भाग मै मस्जिद निर्माण गर्न अनुमती दियिएको हो रे ।
वहिदाका अब्बु शिक्षित भएका हुनाले उनले वहिदा लाइ मदरसाको शिक्षा पछि स्थानिय स्कुलमा पठाउनु भएको थियो । त्यतिबेला अहिलेको जस्तो बातावरण थिएन, हिन्दूहरु मुसलमानहरुले छोएको पानी पनि खाँदैन थिए र आफ्नो घर भित्र छिर्न पनि दिंदैन थिए । त्यस्तै मुसलमानहरु पनि हिन्दूहरुले छोएको पानी पनि खाँदैन थिए । गाँउमा दुई वटा छुट्टा छुट्टै कुवाहरु थिए, एउटा हिन्दूहरुका लागि र अर्को मुस्लिमहरुका लागि । स्कुलमा वहिदा एक जना मात्रै थियिन मुस्लिम समुदायकि छात्रा, छात्रहरु त दस बार्ह जना थिए । त्यस्तै प्रतिकुल बातावरण मा पनि वहिदाले एस एल सि पास गरिन।
यसैबिच बिस्तारै बिस्तारै शैक्षिक जागरणसँगै गाँउलेहरुको चेतना बिकसित हुँदै गयो । वहिदाका अब्बु तथा स्थानिय बिद्यालयका प्रधानअध्यापक रामहरि सरले संयुक्त रुपमा यो जागरण अभियानको नेतृतव गरेका थिए । धर्म र आस्थाका आधारमा मानिस मानिसबिच भेदभाव गर्नु हुँदैन, कुनै पनि धर्मले आपसी बैमनस्यता होइन कि मित्रता, भाइचरा र आपसी सद्भावको सन्देश दिन्छ भनेर घर घरमा गएर सम्झाउनु भएको थियो वहिदाका अब्बु र रामहरि सरले । यो अभियानलाइ वहिदा लगायत गाँउका अन्य शिक्षित युवाहरुले पनि पुर्ण सहयोग गरेका थिए । मर्दा पर्दा छिमेकीहरु नै काम लाग्छन र जुटेर बसे कसैले पनि हेप्न सक्दैन भन्ने अबधारणा थियो. यो अभियानअको ।
एक सुन्दर बिहानि सबै गाँउलेहरु नजिकैको ठुलो चौरमा जम्मा भएका थिए । हिन्दू र मुस्लिम समुदाय मिलेर सहभोजको आयोजना गरेका थिए । सबैले एक अर्कासँग हात मिलाएर, अन्कमाल गरेर जातिय र धार्मिक बन्धनलाइ सँधैको लागि तोडेका थिए । त्यसपछि दुबै कुवा आफ्नो अनुकुलताको आधारमा सबै गाँउलेहरुले सामुदायिक रुपमा प्रयोग गरेका थिए ।
एस एल सि पछि अरु पढ्ने रहर हुँदा हुँदै पनि वहिदाले पढ्न सकिनन, परिवारिक कारणले गर्दा । वहिदाका अब्बुको उनि नौ कक्षामा हुँदा निधन भएको थियो र उनकी अम्मीले चाहेर पनि उनलाइ क्याम्पस पठाउन सकिनन । उनकै मामाको छोरा हमीदसँग अर्को बर्ष उनको निकाह भयो । हमीद काठमाडौंमा एउटा स्कुलमा शिक्षक थिए । दुबैले एक अर्कालाइ सानै देखि नै चिनेको हुनाले वहिदा र हमीदलाइ आफ्ना अबिभाबकहरुको निर्णयप्रति कुनै आपत्ति भएन । निकाह पछि वहिदाले हमिदलाइ पनि गाँउमै बस्ने आग्रह गरिन । दुबै जना मिलेर एउटा सानो प्रार्थमिक बिद्यालय खोले गाँउ मै । अहिले उनिहरुको बिद्यालय माद्यामिक तह सम्म पुगिसकेको छ र जिल्ला कै अग्रणी बिद्यालयहरु मध्यै पर्छ ।
वहिदा र हमीदको बैबाहिक जीवन सुखमय रुपमै चलिरहेको थियो तर बेला बेलामा एउटा कुराले दुबैलाइ सताउँथ्यो, निकाहको चार बर्ष सम्म पनि उनिहरुले सन्तान सुख प्राप्त गर्न सकेका थिएनन । उनिहरुले धेरै ठाँउमा गएर उपचार गराए तर कुनै सफलता हासिल भएन । हमीदकि अम्मी र अन्य नातेदारहरुले हमीदलाइ अर्को बिहे गर्ने सल्लाह नदिएका होइनन तर हमीदले कसैको कुरा सुनेनन । आफ्नो भाग्यमा सन्तान सुख नै लेखेको रहेनछ भनेर दुबैले चित्त बुझाएका थिए । मानसिक तनावालाइ कम गर्न दुबै जना बिद्यालयको काममा बढी समय दिन थाले ।
एकदिन गाँउमा हल्ला फैलियो, पर नहरसँगैको खेतमा कसैले नवजात शिशुको लास छोडेर गएको छ भन्ने । वहिदा संयोगबस त्यहिबेला घरबाट बिद्यालय जाँदैथियिन, त्यही बाटोबाट । माटोमा आधा पुरिएको र आधा जिउ स्याउलाले छोपिएको त्यस शिशुको जिउमा हल्का हलचल भएको जस्तो देखिन । हत्तपत्त त्यो निर्दोस जीवलाइ काखमा लिइन। साँच्चिकै त्यो शिशुको मुटुको धड्कन बिस्तार बिस्तारै चलिराखेको रहेछ । आफुले ओडेको सलमा त्यो शिशुलाइ बेरेर नजिकैको हेल्थ पोस्टमा लगिन ।
हमीदको अम्मी र अन्य नातेदारहरुको बिरोधका बाबजुद हमीद र वहिदाले त्यो बच्चालाइ अपनाए । जात, धर्म थाहा नभएको बच्चालाइ अपनाउनु हुँदैन भन्ने रुढिबादी सोचाई थियो हमीदकि अम्मी र अरु केही नातेदारहरुको । हुन त वहिदाले गाँउमा मै हु भन्ने परिवर्तनकारी भनाउँदाहरुले पनि आँट्न नसकेको काम गर्न लागेकी थियिन । खेतमा फालिइरहँदा कसैले छुन सम्म नछोएको, त्यत्तिकै मर्नको लागि छोडिएको प्राणीलाइ अपनाउनु पक्कै पनि अतुलनिय र प्रसंसनीय काम हो । अल्लाहको उपहार ठानेर हामीद र वहिदाले आफ्नो छोराको नाम अब्दुलाह राखे । वहिदाले आफ्नी सासुलाइ पनि केही समय पछि सम्झाउन सफल भई हालिन, आखिर सबै प्राणी अल्ल्लाह कै सन्तान त हुन नि, फेरी यो निर्दोश को के नै दोश थियो र !
धेरै बर्ष बिते, समयको गतीसँगै गाउँको हेल्थ पोस्ट पनि अस्पताल भइसकेको छ । गाँउमा भरखरै निर्मित नयाँ अस्पातल परिसरमा आज निकै चहलपहल छ । हेल्थ पोस्टबाट दस सैयाको अस्पातल बनेको यस संस्थामा आज भर्खरै छात्रबृतीमा जापानबाट अध्ययन पुरा गरेर फर्केका डाक्टर इनचार्ज भएर आँउदैछन । काठमाडौंमा काम गर्ने अबसर हुँदा हुँदै पनि यिनले यही गाँउको अस्पातललाइ प्रार्थमिकता दिएका हुन रे । अस्पातलको अगाडिको चौरमा मान्छेहरु भेला भईराखेका छन। प्रबेशद्वार फुलको माला र झिलिमिली कागजले सजाइएको छ, प्रबेशद्वारको माथि रंगिन तुल झुन्ड्याइएको छ, टाढैबाट पनि पढ्न सकिने ठुलो अक्षरमा लेखिएको छ, स्वागतम डा. अब्दुलाह अन्सारी !
12/26/06
( कर्मना गाँउ, नेपालगन्जकि सकिरा सेखप्रती समर्पित )

एकदम सुन्दर सामजिक कथा
एकदम सुन्दर सामजिक कथा लेख्नुभयो। हुन त पहिले पनि पढेको कथा हो, तैपनि फेरि पनि पढियो। नयाँ नेपाल बनाउने भनेको कोहि हो भने ती वहिदा र अब्दुल्लाह जस्ता साधारण तर मनका धनीहरु हुन्।
कुमार