आँखा लोभ्यैन्जेल देखिने सागरमा सयर गर्दा,
कहिले उजाड मरुभूमिमा पसिना पुछ्दै गर्दा,
पहाड, चट्टानमा भौतारिएर हिड्दै,
मुसलधारे बर्षामा चुटिएर
हिलोमा पौड्दै गर्दा,
शरदको चिसोले मुटु कठन्ग्रिएर बस्दा,
सम्झन्छु आमा तिमीलाई ।
जब म गृष्ममा पसिना चुहाएर
काम गरिरहन्छु,
पेटले खाना मागिरहेको हुन्छ कहिले
तिर्खाले ओठ सुकिरहेको हुन्छ,
बेफुर्सदिलो हुन्छु म त्यति बेला
सम्झन्छु आमा तिमीलाई ।
यात्रामा देखिने घाँसे मैदान,
अस्ट्रिज खेल्ने त्यो आँगन,
कंगारु दौडने त्यो फाँट देखेर
कहिले मन सम्हाल्न खोज्छु,
रातको बास त्यहीँ चउरमा पाल टाँगेर
बस्दा, आकासको झिलमिल शहरलाई
नियाल्दै गर्दा, मन आनन्दित हुन्छ
एउटा कोठामा बिताएका ति कैयन रातहरू
फिक्का लाग्छ, त्यतिबेला
सम्झन्छु आमा तिमीलाई ।
यहाँ नयाँबर्षको जमघट अनि
क्रिसमस-डेको झिलिमिली देखेर
तुलना गर्छु, ति ठुला पर्ब दशैँ र तिहार
निधारमा रातो टिका, पिंगमा झुलेको,
देउसी र भैलो ति सबै साथीसंगी,
कमेरो र गेरुले पोतेको त्यो हाम्रो घर,
सेल, झिनिया र फिनी रोटि पाकेको सम्झदै,
रमाउन खोज्छु विदेश, सबै ति रमाइला
क्षण छोडी आए स्वदेश त्यतिबेला
सम्झन्छु आमा तिमीलाई ।
कामले थाकेको शरीर बिस्तारामा
पसार्दा, केहि गर्न नसक्ने भएको बेला
केहि पनि नगरी आउदा पनि त्यो घरको
मिठो खाना खान पाउथे,
मिजासिलो बोलीमा त्यतिबेला
सम्झन्छु आमा तिमीलाई ।
एक गल्तिको सयौ गाली खाँदा
आफु घडीको गुलाम भै हिंड्नु पर्दा
रेस्टुरेन्टका एक खात भाडा
त कहिले अरुको महल चम्काउदै गर्दा
रातलाई पनि दिन सम्झी हिड्दा
भोक र निद्रालाई बिर्सिएर कामको पछी दौड्दै गर्दा,
झल्को आउछ घरको
खाएको आफ्नो थाल छोडी हिड्थे,
अस्त व्यस्त हुन्थ्यो कोठा छोड्दा ।
आउदा पाउथे सबै मिलेको|
दिन दुइ गुना, रात चौगुना रमाइलो हुन्थ्यो
साथीहरुसँग,
गालीमा पनि मायालु स्वर सुन्थे,
गल्तीमा अर्को चोटीको सफलताको कामना ।
सब भयो अब यहाँ भिन्न कुरा
त्यतिबेला सम्झन्छु आमा तिमीलाई ।
(पैसाले खुम्चेको नेपाली सुखलाई फर्काउने आशमा बिदेशी भूमिको मेरो यथार्थ नेपाली आमाको लागि)
