मुग्लान भासिएको पनि छ बर्ष भईसकेको रहेछ। दु:खका दिनहरु बिस्तारै जान्छन्, सुखका दिनहरु चाँडो चाँडो जान्छन भन्ने सुनेको थिए तर मेरा त दु: खका दिनहरु नै पनि कति छिट्टै बितेछन। घरबार, परिवार, गाँउ, देश छोडेर यो परदेशमा आउने मन त कहाँ थियो र, समय र परिस्थितीले लाचार बनायो।
भोली सखारै म यो बिरानो शहर, बिरानो देश, बिराना मान्छेहरु छोडेर सँधैको लागि मेरै देश फर्किंदैछु। छ बर्ष बस्दा समेत यो शहर, यो देश मेरो आफ्नो हुन सकेन, यहाँका मान्छे मेरा आफ्ना हुन सकेनन।

हाम्रो परिवार पहाडबाट मधेश बसाइ सर्दा म सात बर्षको थिए, दाई दस बर्षको। बुवा आमाले दिन रात एक गरेर, आधा छाक खाएर, एक सरो लुगाको भरमा, अलि अलि गरेर खेती गर्न जग्गा र बास बस्ने झोपडिको ब्यबस्था गर्नु भयो। जसो तसो गरेर स्कूल पनि पठाउनु नै भएको थियो हामी दुई भाईलाई।

राजमार्गमा एकदिन एउटा ट्रकले बुवालाई किचे पछि हाम्रो परिवारमा ठुलो बज्रपात पर्‍यो। अलिकती ठक्कर मात्रै दिएको थियो रे पहिला त, तर पछि ब्याक गरेर किचेको भन्थे मान्छेहरुले। अनेक गल्फत्ती गरेर बुवाको जीवनको बदलामा आमाको हातमा १५ – १६ हजार रुपैयाँ राखेर सबै सामसुम गरियो। त्यतिबेला म आठमा पढ्थे, दाईको एस एल सि आउन लागेको थियो। बुवाको मृत्‍युसँगै हाम्रो सुखद जीवन जिउने सपनाको पनि अन्त्य भयो। दाई र मैले पढाई छोडेर आमासँगै खेतमा, बारीमा, बस्तु भाउसँग काम गर्नुपर्‍यो। दुई छाक मिठो मसिनो खान सक्ने र एक धरो कपडा लाउन सक्ने बन्न धेरै समय लाग्यो। त्यो स्थितिमा पुग्न आमा, दाई र मेरो जीवनका धेरै बर्षहरु अभाव र दु:ख मै बिते। स्कुल जाने, साथीभाईहरुसँग हास्ने खेल्ने उमेर मै दाइ र मैले पारिवारिक दायित्वको बोझमा अल्झेर असामयिक परिपक्व बन्नु पर्‍यो।
सोचे जति, चाहे जति पढ्न, लेख्न नपाए पनि, सानो तिनै भए पनि आफ्नै कारोबार सुरु गरियो। तरकारी खेती र कुखुरा पालनबाट ठिकै आम्दानी गर्न सकिने अवस्थामा पुगियो।
पहिले दाईको अनि केहि बर्षपछि मेरो बिहे गरिदिएर आमाले आफ्नो दायित्व पुरा गराइदिइन। दु:ख पछि सुखका दिन आउँछन भनेको सुनिएको मात्र थियो तर यो भनाइ हाम्रै जीवनमा लागु भयो। समयको अन्तरालसँगै नयाँ सदस्यहरु थपिए हाम्रो परिवारमा, पहिले केसब अनि त्यसको दुई बर्ष पछि रमेश। साँच्चै सानो, सुखी, सम्रिद्य परिवारको जुन सपना थियो, त्यो पुरा भए जस्तो लाग्यो।

‘त्यो’ दिन रातिको खाना खाने बेला हुन लागेको थियो, दाई भरखरै पोल्ट्री फार्मबाट घर फर्केका थिए, म करेसाबारी मै थिए, एक हुल मान्छेहरु हाम्रो आगनमा आए। एउटा महत्वपूर्ण कामको लागि पल्लो गाउँ जानु पर्ने हुनाले आज राति यतै बास बस्नु पर्ने कुरा बताए। साँझको बेला आएका पाहुनालाई बास दिन्न कसरी भन्नु। को हुन, कता जान लागेका हुन, किन जान लागेका हुन भनेर सोधेर आथित्वको अपमान किन गर्नु भनेर केहि सोधिएन। मिठो मसिनो जे थियो सँगै खायियो। बिहानै उनिहरु धन्यवाद दिएर आफ्नो बाटो लागे।
एकछिन पछि अर्को हुल आयो, छ सात जना थिए। दाई पोल्ट्री फार्म जानै लागेका थिए, घरमुलीसँग कुरा गर्ने भनेर दाइलाई अलि पर आँगनमा बोलाए।

‘हिजो तपाईंले ‘दुस्मन’ लाई बास बस्न दिनु भएको रहेछ, तपाईंसँग त्यहि सम्बन्धमा केही कुरा बुझ्नु छ हामीसँग जानु पर्‍यो’ भन्दै तिनिहरुको नेता जस्तो देखिने मोटेले दाइको हात च्याप्प समातेर बाटोतिर तान्यो।
‘कहाँ, किन जानु पर्‍यो?’ भनेर हामीले सोध्दा, ‘केहि पिर मान्नु पर्दैन, केहि कुरा मात्रै बुझ्नु पर्ने हो, एकैछिनमा हामी घर मै पुर्‍याइ दिन्छौ’ भन्दै दाइलाई लिएर गए।
हिजो राती बास बसेका मान्छे को हुन, आज आएका मान्छे को हुन, केहि थाहा भएन। आर्मी र माउबादीको बारेमा रेडियोमा सुनेको त हो तर हाम्रो गाँउतिर त त्यस्तो केहि पनि थिएन।

एकैछिनमा घर मै पुर्‍याइ दिन्छौ भनेर लिएर गएका दाइलाई एक घण्टा, दुई घण्टा, दिन, हफ्ता महिनासम्म पनि कसले कहाँ लिएर गए थाहा पाउन सकिएन। पुलिस चौकी, आर्मी ब्यारेक, माउबादिका कार्यकर्ताहरु सके जति, भेटे जति सबैसँग बुझ्ने कोशीस गरियो तर केहि थाहा भएन।

बिस्तार बिस्तारै हाम्रो गाँउमा पनि माउबादिक कृयाकलापहरु बढ्न थाले। अब त एक घरबाट एउटा मान्छे पार्टिमा लाग्नै पर्ने नभए मासिक पैसा बुझाउनु पर्ने भन्ने उर्दी जारी गरे। रमेश त सानै छ, केशबको स्कुलबाट सात कक्ष्या भन्दा माथिका सबै विद्यार्थीहरु लाई तीन चार दिनसम्म प्रशिक्षण भन्दै कता कता लिएर गए। बच्चाहरु घर नफर्किउन्जेल सम्म गाँउभरि रुवाबासी भएको थियो।

दाई नहुँदा पोल्ट्री फार्म पनि बन्द गर्नु पर्‍यो, एक्लै केही गर्ने क्ष्यमता थिएन मेरो। सँधै दाई कै अबिभाबकत्व बस्ने बानी परेको, आज आँफैले सबै कुरा सम्हाल्नु पर्ने स्थिती आयो, जसको लागि म तयार थिइन। पार्टिमा लागौं भने के हो, कसो हो ,किन लडाईं गरेका, केही थाहा छैन, फेरि लडाईंमा गएर आज हो कि भोलि के ठेगाना? महिना महिनामा पैसा बुझाउँ भने आफ्नै परिवारको हात मुख जोर्ने समस्यामा परि सकिएको थियो।

केही उपाय नभए पछि मुग्लान भासिने अप्रिय निर्णय लिनै पर्‍यो। पहाडमा जन्मे पनि, यही हुर्केको, बढेको, सुख दु:ख बाँडेको हुनाले घर, गांउ छोडेर जान असाध्यै नरमाइलो लाग्यो, तर यो गाँउ त छोड्नै पर्ने भयो।
आँखाभरि आँसु र सुनौला सपना लिएर यो परदेशको बिरानो शहरमा पुगियो। इटा र सिमेन्टको शहरमा बस्ने मान्छेहरुको मुटु पनि ढुङ्गाको हुँदो रहेछ, काम खोज्न खुब गार्हो भयो। बल्ल बल्ल नेपाल कै एकजना दाइले होटेलमा काम मिलाइदिनु भयो, भाँडा माझ्ने।

‘यत्रो लाठे मान्छे के होटलमा भाँडा माझिराखेको, हाम्रो कोलनिको चौकिदार घर फर्किंदैछ, चौकिदारको काम गर्ने भए हिंड’ भन्दै एकदिन एउटा देशिले आफुसँग लिएर गयो।

अनि सुरु भयो दिउँसो सुतेर रात भरि जागै रहेर एउटा कट्बाँसको लठ्ठिको भरमा बिदेशीहरुको घर सम्पत्तिको रक्षा गर्ने काम। महिनाको अन्त्यमा हरेक घरमा गएर दस बिस रुपयाँ उठाएर महिनाको दुई हजार जति कमाइन्थ्यो तर मेहनत भने कता हो कता धेरै बढि गर्नु पर्ने। पाँच बर्ष यहि एउटै ठाँउमा बित्यो।
नेपालबाट पढ्न आएका भाई बहिनिहरुले आफ्नै देशको दाई भनेर माया गर्थे। ‘बहादुर’, ‘गोर्खे’, ‘कान्छा’, ‘दरवान’, ‘चौकिदार’, ‘पहाडी’ भनेर बिदेशीहरुले बोलाएको बेला, आफ्नै नेपाली भाई बहिनीहरुले ‘रत्न दाई’ भनेर बोलाँउदा अलग्गै रमाइलो हुन्छ। कहिले काहि भेट्दा पनि भाईहरुले चिया, नास्ता गराउनु हुन्छ, नेपालको खबरहरु सुनाउनु हुन्छ। नेपालमा चुनाप हुन लागेको छ, माउबादी पनि मन्त्री भए रे, अब त गाउ गाउमा माउबादी र सेनाको लडाईं बन्द भयो रे। सबै खबरहरु नेपाली भाईहरुले नै सुनाएका हुन।
नेपालमा शान्ती भयो, बातावरण राम्रो भयो भन्ने थाहा पाएर नै भोलि फिर्ता जाँदैछु। गच्छेले भ्याएसम्म सबैको लागि केही न केही सामान किनेको छु, आमाको लागि, भाउजुको लागि, सुनिताको लागि अनि केसब र रमेशको लागि। बेलाबेलामा चिट्ठीपत्रबाट मात्र हालखबर थाहा हुन्थ्यो तर पर्सि सबैसँग प्रत्यक्ष भेट्घाट हुने कुरा सम्झेर नै आज रातभरि निदैं परेन। पर्सि कहिले होला जस्तो भइसक्यो। मैले नेपाल छोड्दा केसब सातमा पढ्थ्यो, अहिले गाउँ कै स्कुलबाट बार्‍ह पास गरिसकेछ, रमेशले पनि यसपालि एस एल सि दिने रे!
परदेशबाट घर पुग्दासम्म बाटाभरि युद्दले छोडेका चिनाहरु देखिए, भत्काइएका, जलाईएका सरकारी भवनहरु, काटिएका पुलहरु, खाल्डा खुल्डी पारिएका सडकहरु अनि राताम्मे नारा लेखिएका भित्ताहरु। जे होस् अब त युद्द सिद्दियो, अब ति पुराना दिनहरु कहिल्यै फर्किने छैनन भन्ने कुराले मन अली हलुङो बनायो।

युद्द्ले मेरो दाइलाई गायब गरायो, मलाई परदेसिन वाध्य गरायो, हाम्रो सुखी घरवार एकैछिनमा भताभुङ बनायो तर मेरो र मेरो जस्तै ब्यथा भोग्नु परेका मेरा असन्ख्य नेपाली दाजु भाईको जस्तो ब्यथा कसैले भोग्नु नपरोस, यो निर्दयी युद्द फेरी कहिल्यै नदोहोरियोस।

परिवारसँग छ बर्षपछि मिलन हुँदा आँसु रोकिएनन। आमा बुढी भईसकिछिन, भाउजु र सुनिता पनि दुब्लाएर चिन्नै नसकिने भएछन। केसब र रमेश हलक्क बढेर म भन्दा पनि अग्ला भईसकेछन। केसबलाई देख्दा दाइको याद आयो, ठ्याक्कै उस्तै मुहार, उस्तै जिउडाल, किसोराबस्थाको दाई जस्तै। आँसुको भेल रोकिंदै रोकिएन, दु ख र सुख मिस्रित आँसु।

भोलीदेखि आफ्नै घर, आफ्नै गाँउ, आफ्नै देशमा आफ्नै काम गर्न पाइने कुरा सम्झिंदा खुशी लाग्यो। अब फेरि पहिला जस्तै खेती गर्नुपर्छ, कुखुरा पालन गर्नुपर्छ। दाई नभए पनि अब त केशब र रमेश पनि मलाई साथ दिने भईसकेकाछन। आमा छिन, भाउजु छिन, सुनिता छिन, सबै जना मिलेर पसिना बगाएर एक बर्षसम्म त जीवनस्तर उकास्न कसो नसकिएला। यस्तै कल्पनामा डुबेर रात बितेको पत्तै भएन।
बिहानै ढोका ढक्ढक्याएको आवाज आयो, छ सात जना मान्छेहरु जमा भएका रहेछन ढोकामा। मैले ढोका खोल्ने बित्तिकै उनिहरुले आफ्नो परिचय दिंदै मधेसको लवजमा भने, ‘हामीहरु तराइ मधेसको हितको लागि आन्दोलनरत छौ र त्यसै सिलसिलामा पहाडी मुलका मान्छेहरुसँग केही सल्लाह गर्ने निती अनुसार तपाईंले हामीहरुसँग जानु पर्‍यो।’
मेरो हात तानेर आँगनको डिलसम्म पुर्‍याइसकेका थिए, त्यतिबेलासम्म आमा, भाउजु र सुनिता पनि बाहिर आइसकेछन। आमा र मेरा आँखा जुधे, पिडा, शंका र डर प्रस्टै देखिन्थ्यो आमाका आँखामा।

मलाई डोर्‍याउँदै गरेको देखेर आमाले ससंकित हुँदै उनिहरुलाई सोधिन ‘हैन बाबु हिजो मात्रै त परदेशबाट आएको छ, कता लाँदै हुनुहुन्छ मेरो छोरालाइ?’

मलाई तानेर लानेहरु मध्यै एउटाले पछाडि नफर्कि उही रुखो लवजमा जवाफ दियो, ”केहि पिर मान्नु पर्दैन, केहि कुरा मात्रै बुझ्नु पर्ने हो, एकैछिनमा हामी घर मै पुर्‍याइ दिन्छौ”

16.02.08

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “बिजोग”

Leave a Reply

Your email address will not be published. Required fields are marked *