खै?
कहाँबाट आउछन
र एउटा सुनामी उर्लाएर
जान्छन यी छालहरू सधैं
यो कोठा मै जमेको
आसुको समुन्द्रमाथि
बढी सुसेल्दै हाम फल्छन
नदीहरू पनि र एक भङ्गालो
पोखिएर सुकिजान्छन यतै कतै
फेरि धुवा उडाउदै ताता आगोहरू
पनि त छिर्छन
कमजोरहरू यही तलाउमा
चोबिन्छन र सिध्धिन्छन
खै? कहाँबाट आउछन ।
कहिल्यै घाम नउदाउने
यो बगैचामा केबल
मेरै फुलहरू मात्र
फुल्छन र चुडिन्छन
रहरहरू पनि नखेदी नै
लखेटिन्छन र भाग्दा
भाग्दै झ्यालबाट हाम
फाल्छन र आत्महत्या
गर्छन् त्यही परिचित
अपरिचित सडक तलतिर
यो चट्याङ बर्सिरहने
आकाशबाट पनि केबल
मेरै ताराहरू मात्र खस्छन
हुनलाई त सपनाहरू पनि छन
कहिले मनको बाटो भएर
निस्कान्छन र बादल चडेर
क्षितिज पारीसम्म पुग्छन
त्यतै कतैबाट भाची ल्याउछन
केही इन्द्रेणीहरू र
रोपिदिन्छन
कल्पनाको पखाभरि
जहाँ सजिन्छ एउटा
सप्तरङ्गी झुल्ने बगैचा
एकै छिन नै त हो
फेरि पहिरोलाई पनि त मेरै
पाखाको बाटो हिंड्न मनपर्छ
खै? कहाँबाट आउछन
र सिध्धिन्छन ।
