Skip to content

मलाई खुल्ला आकाश देऊ (जातले देश नाभांड )


मलाई जात होइन भात देऊ
मलाई नारा होइन काम देऊ
पहाड चढ्न गारो छ
मलाई बाटो देऊ
मधेश बग्न सजिलो छ
मलाई बाँध देऊ
मलाई मेरो देश देऊ
मलाई मेरो झन्डा देऊ
मलाई जात होइन
मलाई रगत मिसिएको
जातीय संघियता हैन
मलाई मेरो गाउँ देऊ
मलाई मेरै देश चाहिन्छ

सद्भावको सिकुवामा फुर्सदको बेला
माथ्लाघरे बज्यु संग मलाई
भाला कुसारी गर्न देऊ
तल्लाघरे कामीलाई काका भन्न देऊ
माथ्ला घरे सार्कोलाई बा भन्न देऊ

तिहारमा पल्ला घरे सुब्बेनी दिदीको
हातको टिका अनि उनले बुनेको
सयपत्री लाउन देऊ
आफ्नै तानको ढाका टोपी ओढन देऊ

पन्चे बाजाको साइतमा
फूलमाला गर्न देऊ

बजारको साहु रामलाल लाई
राम लाल चाचा भन्न देऊ

मलाई साकेवा नाच्न देऊ
मलाई देऊडा अनि थारु नाच
धान नाच अनि मारुनी नाच
एउटै आँगनमा नाच्न देऊ

कामि दमै बाहुन क्षेत्रि होइन
नेवार थारु मधिशे होइन
राउटे थकाली गुरुङ होइन
राइ लिम्बू मगर होइन

मलाई बा आमा काका
नेपाल र नेपाली देऊ
मस्जिद देऊ गिर्जाघर देऊ
देऊ मन्दिर अनि बुद्ध देऊ
बुद्ध का आँखा भएर शान्ति देऊ

तिर्खा लाग्दा पानि देऊ
भोक लाग्दा भात देऊ
सन्तानलाई शिक्षा देऊ
जात होइन भात देऊ
मेरो पहिचान नेपाल देऊ
मेरो पहिचान नेपाली देऊ

जात्राहरुमा सामेल हुन देऊ
मलाई सिंगो नेपाल हुन देऊ
कतै उध्रियो कतै च्यातियो भने
मलाई नेपाल उन्ने सियो धागो देऊ

तिम्रो बिचारको बोझ नबाढ
स्वतन्त्रता का परेवा हरु आकाशभरि उड्न देऊ
त्यो बन्दुकले शान्ति नबाड
जातले देश नभाड
मलाइ जात होइन
मेरो देश देऊ
मलाई सिमाना होइन
मलाई सिंगो नेपाल देऊ

=========

Leave a Reply

Your email address will not be published. Required fields are marked *