अपेक्षा (लघुकथा)


कपासझैं सेतो उनको कपालले बुढ्यौलीको सङ्केत दिन्थ्यो । उमेरले सात दशक पार गरिसकेको भएपनि अनुहारमा भने चाउरीले अलिकति पनि डेरा जमाउन सकेको थिएन । अमरमान प्रतीक साहित्यमा राम्रो नाम र दाम कमाइसकेका प्रखर व्यक्तित्व थिए । प्रायः उनको मुद्रा विचारपूर्ण र गम्भीर देखिन्थ्यो । कसैको दुःखलाई देखेर दुःखको गहिरो तलाउमा डुबुल्की मार्न पुग्थे । अनि दुःखहरू एकएक गरेर प्रतिध्वनीत हुँदै तरङ्गित हुनगई बेजोडको साहित्य सृजना हुनपुग्थ्यो ।

मलाई उनका हरेक रचनाहरू असाध्यै मनपर्थ्यो । उनका हरेक रचनाहरू साहसीक कदमको लागि सराहनीयनै थिए । मैले उनका रचना मार्फतनै जीवनलाई वास्तवीक अर्थमा चित्रे मौका पाएको थिएँ । उनका रचनाहरू म दोहोर्याइ तेहर्याइ पढ्ने गर्थें । मेरो जीवनलाई थप उर्जा दिएको थियो उनका रचनाहरूले । त्यसैले उनी मेरो जीवनमा आदर्श व्यक्तित्व भएर आएका थिए । उनको रचना पढेर मलाई पनि साहित्यमा कलम चलाउने उत्प्रेरणा मिल्यो त्यसैले म पनि कलम चलाउन थालेँ । म प्रायः जसो उनको घरमा उनका कृतिहरू किन्नलाई भनेर गइरहन्थेँ । उनी पनि खूब मिजासिलो पाराले मसँग कुराकानी गर्थे । यत्ति धेरै नाम कमाइसकेको व्यक्तित्वसँगको भेटघाट अनि मिजासिलो व्यवहारले ममा पनि उनीप्रति झन्–झन् आस्था बढ्दै गयो । उनको घर र मेरो घर जोडिएको थियो । त्यसैले पनि मलाई उनीसँग भेटघाट गर्न सजिलो भएको थियो ।

शहरको कोलाहलपूर्ण दुर्गन्धले निस्सासिएर सिथिल बनेको मेरो शरीरमा बिहानीको चिसो सिरेटो खुल्ला झ्यालबाट मन्द गतिमा भित्रिँदा म तन्द्राबाट झल्याँस्स भएँ । जुरुक्क उठेर बसेँ । झ्यालबाट घाम भित्ताभरी छरपस्ट छरिएको थियो । उठेर झ्यालमा गएर तल हेरेँ । टुकुचाको पानी फोहोर ढल मिसिएर लेदो बनेर मुस्किलले घिस्रिँदै अगाडि बढिरहेको थियो । मेरो आँखा त्यहाँबाट उठेर उनै अमरमान प्रतीकजीको घरको वार्दलीमा गएर अडिन्छ । उनी कापी र कलम लिएर चीयाको सुर्पोसँग टेबुलमा घोत्लिरहेका थिए । उनको अनुहारमा शान्त मुस्कान लेपिएको थियो । उनका भावनाहरू रचनाका माध्यमबाट पोखिँदै थिए । बादलुको घुम्टो भित्रको चाँदनीझैं मेरो मुखमा पुलुक्क हेरेर उनले मुस्कुराहट छरे मैले पनि औपचारिकता पूरा गरी खिसिक्क हाँसिदिएँ तर मेरो हाँसोमा घृणा लुकेको थियो किनकी उनले मेरो पहिलो प्रयास स्वरुपको मेरो नवजात रचनालाई एकपटक पढ्ने पनि चेष्टा नगरी मलाई फुर्सद छैन भनेर अरु कसैलाई पढ्न दिएर प्रतिक्रीया लिनुहोस् भनेर मलाइै निःशब्द बनाई फर्काइदिएका थिऐ ।

२०६९—०५—०५ (लघुकथा दिवसको अवसरमा)
टीका खरेल सुवेदी
कुलेश्वर , काठमाण्डौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *