Skip to content


युगौं देखि
दोहोरिइरहेछन् : यी दृश्यहरु
र यिनको पटाक्षेप हुन बाँकि छ /

दृश्य एक –
उष्णताको घेरोभित्र
शीतल शान्त हावाको
मधुर स्तुती

दृश्य दुई
पानीको व्यग्र प्रतीक्षामा
धाँजा फाटेको खेतको जस्तै
शुष्क सपना

दृश्य तीन-
हरेक साँझ
वेपत्ता छोरो सम्झेर रोएको
आमाको हृदय

दृश्य चार-
ख्वाजाको दरवारमा पुगेर
रित्तै फर्केका हातहरु

दृश्य पाँच –
ढुंगा बनेर हाँसिरहेका
देउताहरुको प्रतिच्छाया

दृश्य छ –
खित्काहरुको माझमा
रोइरहेको मेरो हाँसो

दृश्य सात –
कुवलयापिडले कुल्चेको
राष्ट्रिय धरोहर

दृश्य आठ-
भलभली बग्ने टिस्टा खोला
सुगौलीको आँसु

दृश्य नौ –
सुर्यास्तमा पंहेलो हिमालतिर
देखाइएको कालो झन्डा

दृश्य दस –
जोखिमपूर्ण अवस्थाका
कवि र कविता

दृश्य एघार –
फुलेर पनि फूल झैं
नभएका लालुपाते

दृश्य बाह्र –
थौना गौना सिध्याएर
घर आएकी सानी केटी

दृश्य तेह्र –
अँध्यारो तिर धकेलिएका
स्वाभिमानी आवाजहरु !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *