Skip to content

उठेर अब जुट्नु पर्छ


एक सय चार सालको कालो औंशी रात
सुतिराख्या, सबै मौन, जंगे भुतको त्रास
जनता नास्ने भुत रे’छ, कुरा गाँइगुई चल्यो
एक कान, दुई कान, हुदैं मैदान, मुलुकभरि फैल्यो

हुन्न क्यारे सुती यसै, सबको खुल्यो आँखा
कोही जुटे घरैबाट, कोही कुदे पाखा
बिगुल बज्यो संघर्षको, घन्के जुलूस नारा
रातो खूनले लतपत, भिज्यो मुलूक सारा

गोलिबारी, काट मार, चाल्नु सम्मै चाल्यो
डगाउन संघर्षलाई, जनता मार्न थाल्यो
क्रान्ति, खुन र संघर्षले, ल्यायो आँधी बेरी
उडाईलग्यो भुतको त्रास, छायो शान्ति फेरि

नयाँ युगको शुरुवात भो धेरै थियो आश
फेर्न पाउँला भन्ने थियो शान्तिको सास
सत्ता हात परे पछि, राजा भए साढे
जनतालाई मारी-मारी, आफै अघि बढे

साह्रै भयो थिचोमिचो बाँच्नै भयो गाह्रो
एक दिन, दुई दिन हुँदा-हुँदै वित्यास नै पार्यो
संघर्ष भो, रगत बग्यो, राजा पनि हार्यो
घुँडा टेकि प्रजा सामु, पछि सर्नुपर्यो

चुनाव भयो, नेता चुने, हातमा दिए सत्ता
शासन गर्ने लाईसेन्स भयो साथमा तलब-भत्ता
शक्ति पाउँदा कुर्सी लाई सिंहासन झैं माने
देशको ढुकुटी लाई लुट्न आफ्नो शान ठाने

भ्रष्टाचार र कू-शासनले देश फेरि छायो
शान्ति, उन्नति केवल आश मात्रै रह्यो
नेताहरू जनताका झारा टार्न थाले
ढाँटी-छलि उनिहरू जनता मार्न थाले

चालिस बुँदे माग राखि एउटा झुण्ड कुर्ल्यो
शान्ति चाहियो, अर्को क्रान्ति गर्ने भन्दै उर्ल्यो
नयाँ युगको नयैं बिचार, गर्छौं क्रान्ति भन्थे
खुन, पसिना बगाएरै, ल्याउछौं शान्ती भन्थे

कठ्याङ्ग्रीदो हिउँदपछि, फागुनको दिन
एक हुल मानिस जंगल पसे, परिवर्तन लिन
तमासा हो दुई-तिन दिनको नेता थाले भन्न
सानो झुण्ड केहि हुन्न, यसले छुदै छुन्न

सलाईको काँटी जस्तै सानै झिल्किएथ्यो
निभाउन नभ्याएर कतै मिल्किएथ्यो
आगो सल्क्यो क्रान्ति चम्क्यो उहि रगत धारा
काट-मार, लडाईले निल्यो देश सारा

गोली सँगै गोली हाने, बमै परे बम
मर्न-मार्नै अघि सरे, ठुलै भो नोक्सान
सिप सिके बिनाशको मार्न आफ्नै भाई
प्रयोग गरे निमुखालाई गोली छेक्न लाई

गन्ती आयो मर्नेहरू, हजारौं हजार
बालक, बृद्ध, शोषक, सामन्त, थिए सराबर
भिज्यो मुलुक, बिधुवाका अश्रु धारा द्वारा
टुहुराका क्रन्दन संगै, रोयो मुलुक सारा

राजा गए, नेता आए, परिवर्तन आयो
शान्ति होला, खुशी आउला, आशा फेरि छायो
नसोंचेको अचम्म भो कुर्सी पो खोस्न थाले
कुर्सी संगै लुछा-चुडी देश टुक्र्याउन थाले

यसैगरी चल्दै गए हामी हुन्नौं गुनी
पराईको बास हुन्छौं आफ्नै छानो मुनि
डुब्ला देश उठाउन छिट्टै नगएमा
हुन्न आफ्नो पहिचान देशै नभएमा

दर्शक मात्रै थियौं सधैं, अब उठ्नु पर्छ
क्रान्ति-लडाई होईन हामी, अब जुट्नु पर्छ
को पहाडे-को मधेशी, मिलाई काँधमा काँध
देश बचाउन आबश्यक छ एकताको बाँध
त्यसैले अब उठ्नु पर्छ
त्यसैले अब जुट्नु पर्छ

-समाप्त-

Leave a Reply

Your email address will not be published. Required fields are marked *