शान्ति शान्ति भनी चिच्याउछौँ, क्रान्ति भन्न हामी छोड्दैनौँ
बुझ पचाई दिन कति काट्ने सहमति नै रोज्दैनौँ
सत्यमा असत्य, न्यायमा अन्याय दिन नै रात पार्दा
दुई जिब्रे भै देश कति बाँच्ने छिया छिया हुन जाँदा
देश बुद्धको गर्व छ शान्तिको प्रतीक सगरमाथा
मिल्छ शान्ति कसरी जब हलो अड्किन छोड्दैन यहाँ
गर्दछौँ असहमति सहमतिको रटान किन हो ?
बन्धक बनाई देशलाई गुमराहमा कति पार्ने हो ?
क्रान्ति क्रान्ति भनी कति हिँड्ने शान्ति कसरी मिल्न सक्छ ?
देश विदेश है अल्मलिए मुक्ति मिल्न कसरी सक्छ ?
शान्ति–भूमि भनिएको असफल देश बनाउँदैछौँ
मागी खाने भाँडो बनाई देश दिनदिन रित्याउँछौँ
ल्यायौँ भन्दछौ लोकतन्त्र चेतना आउन बाँकी नै छ
राजनीति हो भन्दैमा सच्च राजनीति गर्न जान्नु छ
नशा नशामा भिजेको देश मर्नु–बाँच्नु दोसाँधमा छ
फगत्मा किन ललकार्छौ ? यो देश हाम्रो जिन्दावाद
डा चेतबहादुर कुँवर
मधुपर्क २०६९ बैशाख
