Skip to content


तिमी र तिम्रो
कुटिल आश्वासनलाई सम्झेर
अचेल कविताहरू
भक्कानिएर हिक्का छोड्दै
पुस्तकमा रोइरहेका छन्
तिमी……..
कविताको मर्म नबुझेर
अवाक् हुन्छ्यौ र
लामो सास फेछ्र्यौ,
किन उपस्थित हुन्छ !
यो मेरो सामु !!
आँधी–तुफान चल्छ
मन र मस्तिष्कमा
अविरल तुषारापात हुन्छ
आश्वासनको पोकोमा
तिमी……..
कविताबाट
टाढा–टाढा हुन खोज्छ्यौ
कविता मूर्छा पर्छ र
तिम्रा भाकाहरू लम्बिदैजाँदा
झस्किएर
तर्सन्छ कविता
सायद–
तिमीलाई थाहा छैन सानु !
कविताले कस्तो सन्देश दिन खोजेको हो !!
उसको जीवन कुन–कुन मरूभूमि पार गरेर
तिमीसम्म आइपुगेको हो

उसका छातीभरि
के–कस्ता घाउहरू छन् ?
तिमीलाई के थाहा ??
तिमी केवल–
वाचा गर्नमात्र जान्दछ्यौ
आखिर तिमीले
कवितालाई भुलाएर
कवितालाई झुलाएर
कस्तो सपना देख्न थालेकीछ्यौ कुन्नि ??
म, कुहिरोको काग भएको छु !
म, तार टुटेको राग भएको छु !!
सुन प्रिया…!
तिम्रा आश्वासनका
अस्पष्ट पोकाहरूले गर्दा
कवितालाई ठेस लाग्छ र पछारिन्छ
उल्टै तिमी–
कवितालाई गोली हानिदिन्छ्यौ
कविताको छाती रक्तमुछेल बन्छ
अव्यक्त भावनाहरूसँगै
वेदनाका स्वरहरू घाँटीमै अड्कन्छन्
र, त म भन्छु–
मेरो लाशमाथि डढाइदिनु
तिम्रा वाचा र बन्धनहरू
बिसाइदिनु सबै–सबै
चिताको ज्वालामा
तिम्रा असजिला खुसीहरू
तिम्रा असजिला खुसीहरू

श्रीहरि फुयाँल
मधुपर्क २०६९ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *