Skip to content

बिचरा बबुरो!


“साथ र सहयोग दिनु पर्ने बेला सँगै बाँच्ने, सँगै मर्ने बाचा गरेर प्रेम विवाह गरेकी उसकी श्रीमतीले त छाडेर पोईल गइ-गई; हौसला एवं सान्त्वना दिनु पर्ने समाजले धरि केही हजार ऋण बापत उसको अलिकति भएको जाय-जेथा पनि कब्जा गरे।”

“छन् गेडी सबै मेरी; छैनन् गेडी सबै टेढी” भने झैं, उसको यस्तो दयनीय अवस्थामा साथ दिन अघि सर्ने कोही भएनन्। आफ्नै नातेदारहरू पनि उसँग कुनै बिरानो पराई झै व्यवहार गर्थे। हरे, साँच्चै भन्नु पर्दा उसको अमूल्य सहयोग बाट आज सम्पन्न भएका आफन्तहरू पनि उसलाई आँखा तरेर हेर्थे। उसको त्यो गुणलाई औंशीको अंध्यारो रातले धर्तीलाई ग्वामल्याङ्ग छोपे झैं तिनीहरूका सम्पन्नताले भुलाएको थियो।

नियतिले उसलाई यति धेरै समस्याहरूको भुमरीमा फालेको थियो कि उसले आजित भएर आफैलाई समाप्त पार्न नखोजेको होईन! तर, उसका दुई नाबालक छोरीहरूको “बाऽबाऽऽ” भन्ने आवाजले उसको मुर्झाएको आत्मालाई झक्-झकाएको थियो। आखिर जे भएपनि, ती नाबालक छोरीहरूको लागि मात्रै पनि उसले बाँच्नु पर्ने भयो।

एकपटक, दुईपटक दोहोर्याई-तेहेर्याई उसले सोच्यों, “साँच्चै नै म पनि मरिहालें भने यिनीहरूको के हाल होला, कठै बरा?” त्यसपछि उसले आफैलाई सम्हाल्यो। आफ्नो लागि न-सहि, छोरीहरूकै लागि बाँच्ने, आईपरेका जटिलताहरूसँग सामना गर्दै अघि बढ्ने प्रण गर्यो। आज पनि ऊ बाँचिरहेकै छ; केवल ती कलिला मुनाहरूका निम्ति, बिचरा बबुरो!

– समाप्त –

Leave a Reply

Your email address will not be published. Required fields are marked *