Skip to content

अनौठो बलिदान


आभाको आँखा रातो भएको थियो । शायद, गर्मी मौसममा आँखा पाक्ने समस्या भएको हुन सक्छ । सामान्य समस्या हो आफै ठिक भै हाल्छ भन्ने सोचाईले उपचार गर्न ढिलाई भएछ । दुर्भाग्यवश उसको आँखाको नानि मा समेत ईन्फेक्सन हुन पुगेकोले ऊ जीवनभर आँखा देख्न नसक्ने गरि अन्धो भई ।

खोई किन हो कुन्नि, आभाले श्रीमानलाई खुबै घृणा गर्न थाली । एक समय यस्तो आयो, ऊ श्रीमानको आवाज सम्म सुन्न नहुने अवस्थामा पुगी ।

विचरा प्रभास, आभाको निम्ति कम्ता रोएको होईन । तर, के गर्नु? उसको प्रेम र भावनालाई आभाको घृणाले ओझेलमा पारिदियो । ऊ आभालाई यति धेरै माया दिन चाहन्थ्यो कि, उसले आफ्नो चाहना र आवश्यकताहरूलाई वेवास्ता गर्दै हरपल हर-क्षण आभाकै खातिर व्यस्त रहन्थ्यो । यति विघ्न माया गर्ने श्रीमानप्रति कृतज्ञता र आभार प्रकट गर्नुको साटो आभाको व्यवहार र बोलिबचन यति सम्म रूखो हुन्थ्यो कि, देख्ने-सुन्ने छिमेकीहरू आभालाई भन्नु सम्म भन्थे ।

एकदिन घरमा कोहि नभएको मौका पारेर घर छोडेर हिडिन् आभा । संसार देख्ने आँखानै नभएपछि, बाटो को पहिचान कसरि गर्न सकिन्छ त? धेरै कष्ट गरेर, ठाऊ-ठाऊ मा सहारा माग्दै आभा बस पार्क सम्म आईन् । त्यसपछि रात्री बसमा चढेर काठमान्डौंतिर लागिन् ।

गाउँका छिमेकिहरूले आभा गाडि चढेर हिडेको नदेखेका त होईनन् तर प्रभास प्रतिको उसको घृणा र बोझ सम्झेर हुनसक्छ उनीहरूले आभालाई रोक्ने जमर्को गरेनन् वा चाहेनन् । शायद, आभाले छोडेर गएपछि मात्रै प्रभासले सुख पाउँनेछ भन्ने उनीहरूको बुझाई थियो ।

तर बिडम्बना, गाउँलेहरूले प्रभासको मायालाई सतहि रुपमा नै लिएका रहेछन् । उसको हृदय त आफैमा एउटा महासागर थियो । आभाको यादमा तड्पिएर उसको दुर्गति भएको थियो । गाउँको एक भलाद्मिले उसको दु:ख देख्न सकेन । एक दिन ती भलाद्मीले प्रभासको हातमा केहि रुपैया थमाएर आभाको खोजीमा काठमान्डौं जान सुझाए । के खोज्छस् आँखो भनेझैं प्रभासको लागी त्यो ठुलो सहयोग थियो। ती भलाद्मी बाट सहयोग प्राप्त गरेको भोलिपल्ट नै आफ्नो झुपडी छिमेकीको जिम्मा लगाएर आभाको खोजीमा निस्किहाल्यो प्रभास।

बिरानो, भिड-भाड ठाउँ । पैसा साथमा भईञ्जेल त दु:ख-सुख उसले हात मुख जोर्यो । त्यसपछि त बिचराको कन्तबिजोग नै भयो । अर्को कुरो, काठमान्डौंको ठण्डीलाई उसको एकसरो लुगाले के छेक्थ्यो र? भोको पेट त्यसमाथी ठण्डीले प्रभास बिरामी पर्यो । जस्तै गाह्रो भएपनि उसले आभाको खोजीमा सहरको गल्ली-गल्ली चाहार्न छोडेन । उसको दिनचर्या भनेको नै गल्ली-गल्ली, बजार-बजार आभाको खोजी गर्नु र जसोतसो बाटो हिड्ने बटुवाहरूले दिएको २-४ रुपियाँ र फोहरको डङ्गुरमा भेटिने, फोहोरबाट निकालेका खाद्यबस्तु बाट प्राण अल्झाउनु रहेको थियो । एकदिन बाटो काट्दा-काट्दै बिरामी र खानाको अभावले लखतरान भएको शरिरलाई सम्हाल्न नसक्दा गुडिरहेको गाडिले ठक्कर दिँदा बिचरा ठाऊ-को-ठाऊ ठहरै भयो ।

यता, आभाको कुरा कसले बुझ्ने? वास्तवमा आभा प्रभासलाई धेरै नै माया गर्थीन् । प्रभासको सहयात्री भएर उसलाई साथ दिन नसक्ने भैसके पछि, ऊ प्रभासको लागि बोझ बन्न चाहँदैन थिई । प्रभासले आफुलाई घृणा गरोस् र उसको जीवनबाट निकालि देओस भन्ने चाहन्थिन् । त्यसैले त उसले आफ्नो छातिमाथी ढुङ्गा राखेर, दुनियाँको बचन आत्मसात् गरेरै भएपनि प्रभासलाई आफ्नो जिन्दगि बाट बिदा दिन चाहन्थिन् ताकि उसले आफ्नो जिन्दगि अगाडि बढाओस् र सफलता को सिढी चढोस् ।

“एक्लो जीवन न हो, मागेरै भएपनि म त आफ्नो गुजारा गरिहाल्छु । म अन्धीलाई कसले पो दु:ख दिन्छ र?” भन्ने सोचेर घर छोडेकि आभाले काठमान्डौंमा आएपछि बल्ल थाहा पाई उसलाई आफ्नो अस्तित्व बचाएर जिउन कति गाह्रो रहेछ भनेर । यदि एक जना सज्जनले बदमाशहरूको चंगुलबाट उद्दार गरेर अपाङ्गहरूको आश्रममा नबुझाएकोभए शायद आभाको नाङ्गो लाश महानगरपालिकाको फोहर फाल्ने कन्टेनर वा कुनै गल्लिमा लडिरहेको हुन्थ्यो ।

आखिर, जिन्दगी जिउनु त छँदैछ । आज पनि आभा हरेक पल, हरेक दिन प्रभासको यादमा डुबिरहेकी छे । अब त प्रभासले अर्को बिबाह गरेर घरजम गर्यो होला! छोरा-छोरी पनि जन्मे होलान्! मेरो त्यागले गर्दा आज ऊ पुन: खुशहाल जीवन बाँच्दैहोला! आदी-ईत्यादी!! तर अफसोस, आभाको यादमा तड्पीएर, उसैलाई खोज्न भौतारींदा-भौतारींदै सडक दुर्घटनामा परि प्रभास मरेको बर्षौं भैसक्यो! यो कुरा आभालाई कसले भनिदिने?

-समाप्त –

2 thoughts on “अनौठो बलिदान”

  1. वियोगान्त कथा
    मित्र, वियोगान्त यो कथा सामान्य भाषागत त्रुटीलाई थाती राख्दा राम्रै बनेको छ । कथालाई लघुकथाको दर्जामा राख्नुभएको रहेछ त्यसको लागि लम्बाई अलि लामो भयो कि ? सामान्यतया लघुकथाको लम्बाई २०० – ३०० शब्दबीचमा टुङ्ग्याउने गरीन्छ तर तपाईँको कथा त ५०० शब्दभन्दा माथि भएकोले कथाको श्रेणीमा राख्न नै श्रेयष्कर ठानेँ मैले त ।

    1. धन्यवाद मित्र!
      एकदेव जी,

      तपाईलाई मुरी-मुरी धन्यवाद!

      वास्तवमा साहित्य बिधाहरु सम्बन्धी मलाई केहि ज्ञान छैन। मनमा फुरेका, भित्र-भित्रै गुम्सीएका भावनालाई प्रस्तुत गर्न तम्सेको हुँ। मेरो गल्ती औंल्याई दिनु भयो। तपाईको सल्लाहलाई शिरोपर गरी विधा परिवर्तन गरेको छु। यसरी नै भविष्यमा पनि मार्ग दर्शन गर्दै रहनुहोला। तपाईको अमु्ल्य सल्लाह र समयको लागी पुनश्च: कृतज्ञता जाहेर गर्दछु।
      धन्यवाद!

      गौरभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *