Skip to content

नफूलेका फूलहरू

फूलका परेलीहरू
कोपिलाका तरेलीहरू
उजाडीयो !
हिउँ र तुसारोहरूमा
असिना र वतासहरूमा

कोही कोपिला मैं
कोही मूना र हाँगामा नै

पलाएका पालुवाहरू
झर्न थाले
फूलहरू फूल्न नपाई
खस्न थाले

नमज्जाले लाछिन थाल्यो
कस्तो निर्दयी रहेछ
न त वैंस देख्न पायो
न त संसार हेर्न नै

दया पलाएन कसैलाई
न त मान्छेहरूमा
न त वतासको झोकमा

कसैमा मन भएन
सबै निष्ठूरी भए
सबै बैगुनी भए

के दोष थियो र ? मूनाहरूमा !
के खोट थियो र ? फूलहरूमा !
के पाप थियो र ? अभिषाप भो !

फूल छ त जगत छ
सुन्दरता छ त मन छ

फूल भएन त के जगत ?
सुन्दरता भएन त के मन ?
मन भएन त के जीवन ?

बेचैन छ उस्को जिन्दगी
बेहाल छ उस्को जिन्दगी

कसैको नजरमा लुक्न नसक्ने
कसैको भावनामा डुब्न नसक्ने

लौ उठ्यो फूलको वस्ती ।।

घर घरमा फूल्न सकेन
जंगल जंगलमा फूल्न सकेन
पहाड र हिमालमा फूल्न सकेन

फूलको संसार रहेन अब
फूलको घर भएन अब

मात्र काँडाहरूको संसार भो
केवल डाँडाहरूको संसार भो

स्वार्थी रै-छन् !
प्राणी
रृतु
र समय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *