कठोर परिश्रम, लगन र आत्मविश्वासको परिणाम थियो त्यो जसले दिनेशलाई यो उचाईमा पुऱ्याएको थियो । स्नातकको परीक्षामा अव्वल नतिजा ल्याएर उच्च आकाङ्क्षा बोकेर विश्वविद्यालयको केन्द्रीय विभागमा नै स्नातकोत्तर अध्ययनको लागि आएको थियो । पहिलो दुई महिनामै धेरै विद्यार्थी तथा प्राध्यापकहरू माझ लोकप्रिय हुन सफल भएको थियो ऊ ।
प्राध्यापक अमर पनि उनको क्षमतासँग परिचित थिए । त्यसैले त सायद उसको अध्ययनशीलतालाई अझ निख्खर बनाउन चाहन्थे, यस्तै सोच्थ्यो दिनेश । हुन पनि बजारमा कुनै नयाँ साहित्यिक पुस्तक प्रकाशित हुँदा एक प्रति अमर सरले पनि पाउँथे र त्यो पुस्तक तात्तातै आइपुग्थ्यो दिनेश सामु । उसले अमर सरको लोकप्रियताको बारेमा पनि धेरै सुनेको थियो । पुस्तकहरूमा सटीक टिप्पणी र समीक्षा गर्नु उनको विशिष्टता थियो । दुई महिनाको अन्तरालमा उसले अमर सरको सान्निध्यताबाट थुप्रै पुस्तकहरू अध्ययन गर्न पाएको थियो । अमर सरको अनुरोध रहन्थ्यो पुस्तकको आवरणपृष्ठ भित्रको सादा पृष्ठ, ‘फ्लाइलिफ’मा पुस्तकको बारेमा आफूलाई लागेका कुरा लेखी पुस्तक फिर्ता गर्नु । यसलाई उसले सहज रूपमा स्वीकारेको पनि थियो ।
आज पनि एउटा नयाँ पुस्तक काखी च्यापेर दिनेश अमर सरको निवास तिर लाग्दै थियो ।
“पुस्तक कस्तो लाग्यो त, दिनेश ?”
“यो पल्टको पुस्तक त मलाई अलि हल्का लाग्यो सर । पात्रको चित्रण अलि अस्पष्ट भएजस्तो मानेँ । कथानकको प्रस्तुती पनि अलि जटील तरिकाले राखीएको र कथानकहरूबीचको अन्तरसम्बन्ध पनि चित्तबुझ्दो लागेन मलाई । मैले ‘फ्लाइलिफ’मा व्यक्त गरेको छु ।”
“ल ठीक छ म पढ्छु । अर्को हप्ता एक असाध्यै चर्चित साहित्यकारको उपन्यास विमोचन हुँदैछ । त्यसको बारेमा पनि विस्तृत रूपमा हेर्नुपर्छ है ।”
“हुन्छ सर । म अहिलेलाई गएँ ।”
जाँदाजाँदै उसको आँखा टेबुलमा खोलीएको पत्रिकाको विज्ञापनमा पर्छ जसमा एक साहित्यिक कार्यक्रममा उसले भर्खरै पढेको पुस्तकको कृति समीक्षा हुँदैछ ।
०००००
अमर सरको कृतिसमीक्षा सकिनासाथ पररर तालिको फोहरा छुटे । “वाह! सटीक प्रतिकृया,” भीडबाट आवाज आउँदै थियो । अमर सरका आँखा सरर भीडलाई नियाल्दा नियाल्दै अचानक रोकियो । पर कुनाबाट दिनेशका एकजोडी आँखाहरू विस्मयका भावहरूसहित उनलाई भित्र कतै घोचिरहे ।
२०६९ भाद्र १५
राष्ट्रिय पुस्तकालय दिवस
First published on : 2012-09-01 12:19:41 +0545

हजुरकेा कथा साँच्चै नै
हजुरकेा कथा साँच्चै नै मार्मिक रहेछ,सर
धन्यवाद बिराज भाइ।
धन्यवाद बिराज भाइ।